काठमाडौं ।
जिल्ला प्रहरी परिसर काठमाडौंले चन्द्रागिरि नगरपालिका–२ नागढुंगाबाट करिब ५३ लाख रुपैयाँ बराबरको भन्सार छलीका सामानसहित एक जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार बिहीबार दिउँसो करिब ४ः४५ बजे नागढुंगा चेकप्वाइन्टमा खटिएको प्रहरी टोलीले दिल्लीबाट काठमाडौं आउँदै गरेको बा ३ ख ३५३६ नम्बरको बस चेकजाँच गर्ने क्रममा बिलबिजकबिनाका विभिन्न कम्पनीका मोबाइल, ल्यापटप, टेम्पर्ड ग्लास, कपडा र जुत्तालगायतका सामान फेला पारेको हो।
बसमा लुकाइछिपाइ ल्याइएको अवस्थामा सामान बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद सामानको अनुमानित मूल्य ५३ लाख रुपैयाँ रहेको छ।
प्रहरीले सामान ओसारपसारमा संलग्न उदयपुरको साविक सोरुङ छविसे–७ तथा हाल कटारी नगरपालिका–११ घर भएका ३४ वर्षीय पविन्दर राना मगरलाई नियन्त्रणमा लिएको छ। उनलाई आवश्यक कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचर पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
बरामद सामान
प्रहरीका अनुसार बरामद सामानमा विभिन्न ब्रान्डका मोबाइल फोनको संख्या ठूलो रहेको छ। जसमा आईफोन २१, सामसङ ८४, भिभो ७५, मोटोरोलो १९, रेडमी ३९, वनप्लस १३ र ओप्पो ३४ थान रहेका छन्।
त्यस्तै पोको ७, इन्फिनिक्स ३, आईगू ३, पोवा २, टेक्नो ३, लाभा १, नार्जो १, नोकिया १, नाम नखुलेका मोबाइल २, पावर २, ह्वावे १ र गुगल १ थान बरामद भएको प्रहरीले जनाएको छ।
मोबाइलबाहेक ६ थान ल्यापटप, ५ थान ल्यापटप चार्जर, १ थान प्रोटिनको बट्टा, ५१३ थान टेम्पर्ड ग्लास, १७ थान साडी, २१ थान जिन्स पाइन्ट, ३७ थान कुर्था सुरुवाल तथा १५ जोर जुत्ता समेत बरामद गरिएको छ।
प्रहरीले बरामद सबै सामान आवश्यक अनुसन्धान तथा कारबाहीका लागि भन्सार कार्यालयमा बुझाएको जनाएको छ।
प्रकाशित: ५ भाद्र २०८३, शुक्रबार