सञ्चार मन्त्रालयमा नयाँ सहसचिव आएपनि सचिव पद अझै रिक्त, सूचना विभाग र मुद्रण विभागको नेतृत्व हेरफेर

  • Technology Khabar | ४ भाद्र २०८३, बिहीबार
सञ्चार मन्त्रालयमा नयाँ सहसचिव आएपनि सचिव पद अझै रिक्त, सूचना विभाग र मुद्रण विभागको नेतृत्व हेरफेर

काठमाडौं ।

सरकारले सूचना तथा सञ्चार मन्त्रालयमा नयाँ सहसचिवलाई पठाएको छ। केहि समयदेखि रिक्त रहेको सहसचिवको पदमा नयाँ सहसचिवलाई सरुवा गरिएको छ।

यसका साथै सूचना तथा प्रसारण विभाग, मुद्रण विभागको नेतृत्व पनि परिवर्तन भएको छ।

सञ्चार मन्त्रालयको सहसचिवमा रविलाल शर्मालाई सरुवा गरिएको छ। उनलाई प्रशासन तथा योजना महाशाखाको जिम्मेबारी दिईएको छ।

यसअघि उक्त पदमा रहेका सहसचिव सुवास चन्द्र शिवाकोटीलाई दाङस्थित तुलसीपुर उपमहानगरपालिकाको प्रशासकिय अधिकृतको रुपमा पठाईएसँगै सो स्थान खाली रहेको थियो। शिवाकोटीलाई साउन १४ गते सरकारले प्रशासकिय अधिकृत बनाएर पठाएको थियो।

यसैगरी मन्त्रालयमा सूचना प्रविधि महाशाखाको प्रमुखको रुपमा सरकारले सौरभ लम्साललाई ल्याएको छ। उक्त महाशाखालाई सरकारले संरचनागत हेरफेर गरेसँगै कम्प्युटर इन्जिनियर लम्साललाई महाशाखाको नेतृत्व दिएको हो। यसअघि उक्त विभागको नेतृत्व सहसचिवले गर्दै आएका थिए भने पछिल्लो समयसम्म अनिल दत्तको नेतृत्वमा थियो।

सरकारले सूचना प्रविधि क्षेत्रलाई नै प्रधानमन्त्री कार्यालय मातहत लगेसँगै र सूचना प्रविधि विभागलाई रुपान्तरण गरेसँगै सो सञ्चार मन्त्रालयमा रहेको सूचना प्रविधि महाशाखाका सहसचिव दत्तलाई फाजिलमा राखेको छ भने सूचना प्रविधि विभागका प्रमुख रहेका सहचिव सुभाष ढकालको स्थानमा अबदेखि सचिवले सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालयको नेतृत्व गर्नेछन्, जुन अहिलेसम्म रिक्त रहेको छ।

यस्तै सूचना तथा प्रसारण विभागका वरिष्ठ सहसचिव छविन्द्र पराजुलीलाई मुद्रण विभागमा सरुवा गरिएको छ। पराजुली यसअघि सूचना तथा प्रसारण विभागका महानिर्देशक थिए।

पराजुलीलाई मुद्रण विभागमा सरुवा गरिएसँगै सूचना तथा प्रसारण विभागको नेतृत्व उपसचिव अनुप नेपाललाई दिइएको छ। उपसचिव नेपाल यसअघि सञ्चार मन्त्रालयमै फ्रिक्वेन्सी शाखामा उपसचिवका रूपमा कार्यरत थिए।

सहसचिव प्रमुख रहने व्यवस्था रहेको उक्त विभागमा तत्कालका लागि उपसचिव नेपाललाई जिम्मेवारी दिइएको हो।

सरकारले मन्त्रालयमा सहसचिवलाई पठाएपनि अझै सञ्चारमन्त्रालयले सचिव पाउन सकेको छैन्।

सहसचिव र सचिव रिक्त हुँदा कतिपय नीतिगत निर्णयहरु तथा केहि नियुक्ति प्रकृयाहरुनै अवरुद्ध भएका छन्।

यसअघि सूचना तथा सञ्चार मन्त्रालयको सचिवमा डा. कमल प्रसाद पोखरेल (शर्मा) लाई सरुवा गरेकोमा उनले राजीनामा दिएसँगै सो पद रिक्त छ।

प्रकाशित: ४ भाद्र २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार