युनिट्रीको सेयरमा ६२९ प्रतिशतको उछाल

  • Technology Khabar | ४ भाद्र २०८३, बिहीबार
युनिट्रीको सेयरमा ६२९ प्रतिशतको उछाल

काठमाडौं ।

चिनियाँ ह्युमनोइड रोबोट निर्माता युनिट्रीको सेयर साङ्घाई स्टक एक्सचेन्जमा बुधबार कारोबार सुरु भएको केही समयमै ६२९ प्रतिशतसम्म बढेको छ।

कम्पनीले प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) मार्फत ९० करोड अमेरिकी डलरभन्दा बढी रकम जुटाएपछि भएको यो उछालले चीनमा तीव्र गतिमा विस्तार भइरहेको रोबोटिक्स उद्योगप्रतिको लगानीकर्ताको उच्च उत्साह देखाएको छ।

हाङ्झाउमा मुख्यालय रहेको युनिट्री चीनको ह्युमनोइड रोबोट विकासको प्रमुख कम्पनीमध्ये एक हो। सरकारी प्रोत्साहन, बलियो घरेलु आपूर्ति शृङ्खला र प्रविधि क्षेत्रमा बढ्दो लगानीका कारण चीनले रोबोटिक्सलाई रणनीतिक उद्योगका रूपमा अघि बढाइरहेको छ।

कम्पनीको सेयर बुधबार १५०.८० युआनको निष्कासन मूल्यबाट बढेर कारोबारको सुरुआती चरणमै एक हजार १०० युआन पुगेको थियो। त्यसपछि मूल्य केही घटेर करिब ९०० युआनमा सीमित भएको थियो। युनिट्रीले अमेरिकी नास्डाकसँग तुलना गरिने साङ्घाई स्टक एक्सचेन्जको प्रविधि केन्द्रित स्टार बजारमा सूचीकरण गरेको हो।

युनिट्रीले सोमबार ‘सुपरम्यान’ नामक नयाँ ह्युमनोइड रोबोट सार्वजनिक गरेको थियो। कम्पनीका अनुसार उक्त रोबोट दुई मिटर उचाइसम्म उफ्रिन र प्रतिघन्टा १२.६६ मिटर प्रतिसेकेन्डसम्मको गतिमा दौडिन सक्छ। यो गति १०० मिटर दौडमा निरन्तर कायम राख्न सकेमा विश्व कीर्तिमानधारी धावक उसेन बोल्टभन्दा पनि तीव्र हुने कम्पनीको दाबी छ।

युनिट्रीका रोबोटले गत वर्ष चीनको वार्षिक वसन्त उत्सव गालामा विशेष ध्यान खिचेका थिए । परम्परागत चिनियाँ पोसाक लगाएका रोबोटले ब्याकफ्लिप, कुङफु र टेबलमाथि उफ्रिने जस्ता गतिविधि प्रदर्शन गरेका थिए।

रोबोटिक्स इन्जिनियरिङ कम्पनी जेरोथका संस्थापक तथा प्रमुख कार्यकारी रेन्जी गुओका अनुसार युनिट्रीका उत्पादन चिनियाँ अनुसन्धानकर्ता तथा संस्थाले मात्र नभई एनभिडिया, गुगल र अमेजनजस्ता अमेरिकी प्रविधि कम्पनीले पनि प्रयोग गरिरहेका छन् । उनका अनुसार युनिट्री वरिपरि विकसित भएको प्रविधि र आपूर्तिको पारिस्थितिक प्रणालीले अन्य कम्पनी तथा अनुसन्धानकर्तालाई पनि आफ्ना उत्पादन विकास गर्न सहज बनाएको छ।

चीनमा युनिट्रीबाहेक युबिटेकलगायतका कम्पनीले पनि ह्युमनोइड रोबोट विकास गरिरहेका छन्। युबिटेकले यसै वर्ष आँखा क्यामरा, छातीमा सेन्सर र आवाज सुन्ने माइक्रोफोनसहितको ‘यु–१’ रोबोट सार्वजनिक गरेको थियो।

चिनियाँ सरकारले रोबोटिक्सलाई रणनीतिक उद्योगका रूपमा प्राथमिकता दिएको छ । गत वर्षसम्म चीनका १४० भन्दा बढी कम्पनीले ३३० भन्दा बढी ह्युमनोइड रोबोटका मोडेल विकास गरिसकेको बताइएको छ । ती कम्पनीले रोबोटलाई मानिसजस्तै स्वतन्त्र रूपमा वातावरण बुझ्न, हिँड्न र वस्तुसँग अन्तरक्रिया गर्न सक्षम बनाउने ‘फिजिकल एआई’ प्रविधिमा ठूलो लगानी गरिरहेका छन् ।

ह्युमनोइड रोबोटिक्सको तीव्र विकासले यो क्षेत्रलाई अमेरिका–चीन प्रविधि प्रतिस्पर्धाको नयाँ मोर्चासमेत बनाएको छ । अमेरिकाले युनिट्रीलाई गत जुनमा चिनियाँ सेनालाई सहयोग गरेको आरोप लागेका कम्पनीको सूचीमा राखेको थियो । जुलाईमा ट्रम्प प्रशासनले राष्ट्रिय सुरक्षाको कारण देखाउँदै अमेरिकामा आयातमा प्रतिबन्ध लगाइएका उत्पादन तथा कम्पनीको सूचीमा चीनमा निर्मित ह्युमनोइड र चार खुट्टामा हिँड्ने रोबोटसमेत समावेश गरेको थियो ।

बेइजिङस्थित भेन्चर क्यापिटल कम्पनी जिन्किउ क्यापिटलका साझेदार तियान्यु जाङले युनिट्रीको आइपिओलाई चीनको ह्युमनोइड रोबोट उद्योगका लागि महत्त्वपूर्ण मोडका रूपमा व्याख्या गरेका छन्। गत वर्ष युनिट्रीको लगानी चरणमा सहभागी भएका उनका अनुसार अब कम्पनी र समग्र उद्योगले वास्तविक संसारमा रोबोटको प्रयोग कति छिटो र प्रभावकारी रूपमा विस्तार गर्न सक्छ भन्ने कठोर परीक्षाको सामना गर्नुपर्नेछ।

उनले उद्योगले आगामी दिनमा आफ्ना प्रविधिको व्यावहारिक उपलब्धिबारे नियमित रूपमा सार्वजनिक रूपमा मूल्याङ्कन प्रस्तुत गर्नुपर्ने बताए। रासस/एएफपी

प्रकाशित: ४ भाद्र २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...