काठमाडौं ।
भेरी अस्पताल, नेपालगञ्जमा उपचारसँगै अध्ययन र अनुसन्धानका लागि नयाँ चिकित्सकीय अभिलेखीकरण प्रणाली सुरु गरिएको छ।
जनावरको टोकाइ, सर्पदंश तथा अन्य विषालु वा हानिकारक जीवजन्तुसँग सम्बन्धित घटना र चोटपटकका बिरामीको उपचारसम्बन्धी विवरण सङ्कलन तथा अभिलेखीकरण गर्न प्रणाली सुरु गरिएको हो।
अस्पतालका अनुसार हालसम्म बाँके र बर्दियाका २०५ महिला र १९३ पुरुष गरी ३९८ जनाले यस प्रणालीमार्फत उपचार सेवा पाएका छन्। सङ्कलित विवरणलाई व्यवस्थित रूपमा अध्ययन र विश्लेषण गरी उपचार तथा स्वास्थ्य सेवा सुधारमा प्रयोग गरिने अस्पतालले जनाएको छ।
अस्पतालका प्रमुख कन्सल्टेन्ट डर्मेटोलोजिस्ट डा बद्री चापागाईंका अनुसार विषालु सर्प वा अन्य जीवजन्तुको टोकाइबाट उपचारमा आएका बिरामीको अवस्था, जोखिम, घाउ व्यवस्थापन, रेबिज रोकथाम, औषधि तथा शल्यक्रियासम्बन्धी विवरण अभिलेखमा राखिनेछ।
उनका अनुसार यस प्रणालीबाट अनुसन्धान, स्वास्थ्य सेवा सुधार, उपचार निर्देशिका तथा स्वास्थ्य नीति निर्माणका लागि आवश्यक तथ्याङ्क उपलब्ध हुनेछ। साथै, कृत्रिम बुद्धिमत्तामा आधारित अध्ययन तथा अन्तरराष्ट्रिय सहकार्यमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।
अस्पतालका अनुसार पछिल्लो करिब १५ दिनमा जनावरले टोकेका ३३४ र सर्पले टोकेका ५४ जनाको उपचार गरिएको छ। गत वर्ष मात्रै सर्प वा अन्य जनावरको टोकाइबाट घाइते भएका ८० जनाले भेरी अस्पतालमा उपचार गराएका थिए।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा नवीन दर्नालले जनावरको टोकाइबाट उपचारका लागि आउने बिरामीको विवरणलाई ‘बाइट रजिस्ट्र्री’ मा राखेर अध्ययन सुरु गरिएको बताए। उनका अनुसार यो विद्युतीय स्वास्थ्य अभिलेखमा आधारित अनुसन्धानको पहिलो संस्थागत परियोजना हो।
डा दर्नालले अभिलेखीकरणबाट अध्ययन, अनुसन्धान र प्रमाणमा आधारित चिकित्सकीय सेवा विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले यसले बिरामीलाई छिटो उपचार दिनुका साथै औषधिको अभावलगायत समस्या पहिचान गर्नसमेत सहयोग पुग्ने बताए। अनुसन्धान टोलीमा डा बद्री चापागाईंको नेतृत्वमा विभिन्न विभागका चिकित्सक तथा स्वास्थ्यकर्मी सहभागी छन्।
अस्पतालका अनुसार गत साउन १६ गतेदेखि सुरु गरिएको यो अध्ययन निरन्तर सञ्चालन हुनेछ। अध्ययनमा कुकुरलगायत अन्य जनावरको टोकाइ, सर्पदंश, कीराफट्याङ्ग्रा तथा अन्य विषालु वा हानिकारक जीवजन्तुसँग सम्बन्धित घटनाको एकीकृत अभिलेख राखिनेछ। रासस
प्रकाशित: ३ भाद्र २०८३, बुधबार