कन्टेन्ट क्रियटरलाई राहत: अब यूट्युबको लाइभ भिडियो चल्नासाथै ‘भ्यू’ गणना हुने

  • Technology Khabar | ३ भाद्र २०८३, बुधबार
कन्टेन्ट क्रियटरलाई राहत: अब यूट्युबको लाइभ भिडियो चल्नासाथै ‘भ्यू’ गणना हुने
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

यूट्युबले सोमबार आफ्नो प्लेटफर्ममा भ्यू गणना गर्ने तरिका परिवर्तन गर्ने घोषणा गरेको छ। अब भिडियो चल्न सुरु हुनेबित्तिकै वा कोही लाइभ स्ट्रिममा जोडिनेबित्तिकै एक भ्यू गणना हुनेछ।

गुगलको स्वामित्वमा रहेको प्लेटफर्मले यसअघि भ्यू कसरी गणना गर्थ्यो भन्ने खुलाएको थिएन। तर ‘द टेलिग्राफ’का अनुसार सामान्यतया प्रयोगकर्ताले भिडियो कम्तीमा ३० सेकेन्ड हेरेपछि मात्रै भ्यू गणना हुने बुझाइ थियो।

यूट्युबले एक वर्षअघि सर्ट्स भिडियोको भ्यू गणनामा पनि यही तरिका लागू गरेको थियो। प्रतिस्पर्धी प्लेटफर्म टिकटक र इन्स्टाग्रामले पनि भिडियो चल्न सुरु हुनेबित्तिकै भ्यू गणना गर्छन्।

“ऐतिहासिक रूपमा हामीले विभिन्न फर्म्याटमा भ्यू गणना गर्ने फरक–फरक प्रणाली प्रयोग गर्दै आएका छौं,” कम्पनीले यूट्युब कम्युनिटीमा गरेको पोस्टमा लेखेको छ।

कम्पनीका अनुसार क्रिएटरहरूले यो मापनसम्बन्धी भ्रम हटाउन र आफ्ना सामग्री कति मानिससम्म पुगे भन्ने सही रूपमा बुझ्न चाहेको बताएका छन्। त्यसैले यो परिवर्तन गरिएको हो।

यो परिवर्तनपछि यूट्युबमा भ्युको संख्या उल्लेख्य रूपमा बढ्न सक्छ। विशेषगरी दर्शकको ध्यान छोटो समयका लागि मात्र खिच्ने भिडियोमा यसको प्रभाव बढी देखिन सक्छ।

यसको अर्थ सार्वजनिक रूपमा देखाइने भ्यूको संख्या अब क्रिएटर र विज्ञापनदाताका लागि कुनै भिडियो कति लोकप्रिय छ भन्ने निर्धारण गर्ने उपयोगी मापदण्ड नहुन सक्छ।

यूट्युबले भने पुरानो भ्यू मेट्रिकलाई अब ‘इन्गेज्ड भ्यू’ नाम दिएर क्रिएटरका लागि आफ्नो एनालिटिक्स टुलमार्फत उपलब्ध गराउने जनाएको छ। यसबाट क्रिएटरले कति दर्शकले भिडियो हेर्न निरन्तरता दिए भन्ने थाहा पाउन सक्नेछन्।

कम्पनीका अनुसार यो परिवर्तनले क्रिएटरको आम्दानी वा यूट्युब पार्टनर प्रोग्राममार्फत आम्दानीका लागि योग्य हुने प्रक्रियामा कुनै असर पार्ने छैन।

टेलिग्राफका अनुसार अगस्ट २४ देखि लागू हुने यो परिवर्तनको घोषणा यूट्युबले क्रिएटर केन्द्रित अर्को परिवर्तन गरेको एक सातापछि गरेको हो। कम्पनीले अर्को वर्षदेखि नयाँ क्रिएटरले विज्ञापन र सब्स्क्रिप्सनबाट आम्दानी सुरु गर्न उच्च मापदण्ड पूरा गर्नुपर्ने घोषणा गरेको थियो।

प्लेटफर्मबाट आम्दानी सुरु गर्न चाहने क्रिएटरले पछिल्लो एक वर्षमा कम्तीमा ८ हजार घण्टाको योग्य वाच टाइम वा पछिल्लो ९० दिनमा २ करोड योग्य सर्ट्स भ्यू हासिल गर्नुपर्नेछ।

हाल क्रिएटरलाई पछिल्लो एक वर्षमा १ हजार सब्स्क्राइबर र ४ हजार घण्टाको वाच टाइम वा पछिल्लो ९० दिनमा १ हजार सब्स्क्राइबर र १ करोड सर्ट्स भ्यू आवश्यक हुन्छ। साथै, आम्दानी गर्न क्रिएटरले ९० दिनको अवधिमा १ करोड सर्ट्स भ्यू कायम राख्नुपर्ने हुन्छ।

यो निर्णयपछि प्रयोगकर्ताबाट नकारात्मक प्रतिक्रिया आएको छ। यसले क्रिएटरलाई यूट्युबको मोनेटाइजेसन कार्यक्रममा प्रवेश गर्न र त्यसमा कायम रहन थप कठिन बनाउने प्रतिक्रिया आएको छ।

प्रकाशित: ३ भाद्र २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार