एनसेलले गोरखासहित पाँच जिल्लामा थ्रीजी सेवा बन्द गर्दै, भोल्टेमा अपग्रेड गर्न आग्रह

  • Technology Khabar | ३१ श्रावण २०८३, आईतवार
एनसेलले गोरखासहित पाँच जिल्लामा थ्रीजी सेवा बन्द गर्दै, भोल्टेमा अपग्रेड गर्न आग्रह

काठमाडौं ।

एनसेलले फोरजी नेटवर्क विस्तारलाई प्राथमिकता दिँदै देशका विभिन्न स्थानमा थ्रीजी सेवा बन्द गर्ने प्रक्रियालाई निरन्तरता दिएको छ। कम्पनीले भाद्र १ गतेदेखि गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पाँच जिल्लाका २०० भन्दा बढी मोबाइल टावरबाट प्रदान हुँदै आएको थ्रीजी सेवा बन्द गर्ने भएको हो।

थ्रीजी सेवा बन्द हुने जिल्लामा गोरखा, लमजुङ, बर्दिया, पाल्पा र कैलाली रहेका छन्। एनसेलका अनुसार फोरजी भोल्टेको पहुँच बढ्दै गएको र नयाँ प्रविधिमा स्तरोन्नति गर्ने योजनाअनुसार थ्रीजी नेटवर्क क्रमशः बन्द गर्दै लगिएको हो।

गण्डकी प्रदेशअन्तर्गत गोरखाका गोरखा, आरुघाट, शहीद लखन, भीमसेन थापा र धार्चेलगायतका स्थानमा थ्रीजी बन्द हुनेछ। लमजुङका मर्स्याङ्दी, दूधपोखरी, दोर्दी, राइनास र बेँसीशहरलगायतका स्थान पनि प्रभावित हुनेछन्।

त्यसैगरी, लुम्बिनी प्रदेशको बर्दियाका राजापुर, ठाकुरबाबा, मधुवन, गुलरिया र गेरुवा तथा पाल्पाका तानसेन, रामपुर, तिनाउ, रम्भा र पूर्वखोलालगायतका स्थानमा थ्रीजी सेवा बन्द हुनेछ। सुदूरपश्चिम प्रदेशको कैलालीमा टीकापुर, लम्कीचुहा, भजनी, जानकी र जोशीपुरलगायतका स्थानीय तहमा पनि थ्रीजी सेवा बन्द गरिने कम्पनीले भनेको छ।

थ्रीजीको फ्रिक्वेन्सी फोरजीमा प्रयोग

एनसेलकाअनुसार थ्रीजी सेवा बन्द भएपछि त्यसका लागि प्रयोग हुँदै आएको फ्रिक्वेन्सी फोरजी सेवाका लागि उपयोग गरिनेछ। यसबाट उच्च गतिको मोबाइल डाटा तथा ‘भ्वाइस ओभर लङ्ग टर्म एभोल्युसन’ (भोल्टे) मार्फत गुणस्तरीय भ्वाइस सेवा उपलब्ध गराउन सहयोग पुग्नेछ।

एनसेलले आफ्नो फोरजी सेवा देशको करिब ९५ प्रतिशत जनसंख्यासम्म विस्तार गरिसकेको जनाएको छ। कम्पनीले नेटवर्कलाई थप बलियो बनाउँदै डाटा तथा भ्वाइस सेवाको गुणस्तर सुधार गर्ने उद्देश्यले थ्रीजी नेटवर्क चरणबद्ध रूपमा बन्द गरिरहेको हो।

एनसेलकी नेटवर्क हेड लेना केशरी कंसाकारकाअनुसार कम्पनीको योजना अनुरूप काम अघि बढेमा सन् २०२७ को पहिलो त्रैमासिक भित्र नेपालमा एनसेलको थ्रीजी सेवा पूर्ण रूपमा बन्द गर्न सकिनेछ।

थ्रीजी प्रयोगकर्तालाई फोरजीमा अपग्रेड हुन आग्रह

कम्पनीले थ्रीजी बन्द हुने क्षेत्रका ग्राहकलाई फोरजीमा अपग्रेड हुन आग्रह गरेको छ। फोरजी सेवा प्रयोग गर्न फोरजी सपोर्ट गर्ने मोबाइल फोन, फोरजी सिमकार्ड वा ई–सिम तथा फोरजी नेटवर्क उपलब्ध भएको स्थान आवश्यक पर्नेछ।

फोरजी मोबाइल र सिम प्रयोग गरिरहेका कतिपय ग्राहकको फोनमा अझै थ्रीजी नेटवर्क प्रयोग भइरहेको हुन सक्ने भन्दै एनसेलले ग्राहकलाई फोरजी र भोल्टे सेटिङ सक्रिय गर्न आग्रह गरेको छ।

भोल्टे सेवा सक्रिय गर्न ग्राहकले *१२३*११# डायल गर्न सक्नेछन्। सेवा सक्रिय भएपछि मोबाइल फोनको सेटिङमा गएर भोल्टे ‍(भीओएलटीई) विकल्प अन गर्नुपर्ने हुन्छ।

भोल्टे प्रविधिबाट उच्च गुणस्तरको भ्वाइस कल तथा तुलनात्मक रूपमा छिटो कल कनेक्ट हुने सुविधा प्राप्त हुने कम्पनीको दावी छ। फोरजी डाटा र भ्वाइस सेवा प्रयोग गर्दा ग्राहकले हालकै शुल्कमा सेवा लिन सक्ने एनसेलले जनाएको छ।

कुन मोबाइल ब्रान्ड तथा मोडलमा भोल्टे सुविधा उपलब्ध छ र यसलाई कसरी सक्रिय गर्ने भन्ने जानकारी एनसेलको वेबसाइट तथा एनसेल एपबाट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।

एनसेलले यसअघि पनि विभिन्न जिल्लाका स्थानीय तहमा चरणबद्ध रूपमा थ्रीजी सेवा बन्द गरिसकेको छ। कम्पनीका अनुसार गत असार र माघमा पनि विभिन्न स्थानमा थ्रीजी नेटवर्क बन्द गरिएको थियो।

स्मार्टफोन तथा फोरजी प्रयोगकर्ता बढ्दै गए पनि अझै ठूलो संख्यामा ग्राहक फोरजीमा अपग्रेड हुन बाँकी रहेकाले कम्पनीले उनीहरूलाई नयाँ नेटवर्कमा स्थानान्तरण हुन आग्रह गर्दै आएको छ।

प्रकाशित: ३१ श्रावण २०८३, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार