काठमाडौं ।
मोबाइल रोमिङका लागि ई–सिम प्रविधिको प्रयोग बढ्दै गएको छ। तर प्रयोगकर्ताले पाउने अनुभव भने फरक–फरक हुने गरेको छ। यसको मुख्य कारण प्रयोगकर्तालाई प्रत्यक्ष देखिँदैन।
टेस्टिङ तथा एनालिटिक्स कम्पनी ओक्लाले ट्राभल ई–सिमको कार्यसम्पादनसम्बन्धी नयाँ अध्ययन सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो। कम्पनीका अनुसार यस वर्षको दोस्रो त्रैमासिकको तथ्यांकमा विश्वव्यापी अन्तर्राष्ट्रिय रोमिङमा ट्राभल ई–सिमको हिस्सा ३.४ प्रतिशत पुगेको छ। एक वर्षअघि यो २.७ प्रतिशत थियो।
ई–सिम रोमिङ ट्राफिक कति तीव्र गतिमा बढिरहेको छ भन्नेबारे कम्पनीले ठ्याक्कै तथ्यांक सार्वजनिक गरेको छैन। तर जुनसम्मको १२ महिनामा ब्रान्डेड ट्राभल ई–सिमको प्रयोग ‘दोहोरो अंकको बलियो दर’मा बढेको जनाएको छ।
यस अवधिमा समग्र रोमिङ गतिविधि १२ प्रतिशतले मात्र बढेकाले ट्राभल ई–सिमको वृद्धि त्यसको तुलनामा उल्लेख्य रूपमा बढी रहेको ऊक्लाले जनाएको छ। बजार बढ्दै गएसँगै यस क्षेत्रमा प्रतिस्पर्धा पनि बढिरहेको छ।
ओक्लाका अनुसार विश्वभरका केही नेटवर्कमा सञ्चालन हुने ५० भन्दा बढी खुद्रा ई–सिम ब्रान्ड बजारमा छन्। तीमध्ये होलाफ्लाइ, सीएमलिंक, एयरालो र साइली प्रमुख हुन्।
टेलिकम्स डटकमका अनुसार एयरालोले गत वर्ष जुलाईमा २२ करोड डलरको लगानी प्राप्त गरेपछि आफ्नो मूल्यांकन १ अर्ब डलर पुगेको भन्दै आफूलाई बजारको पहिलो युनिकर्न घोषणा गरेको थियो। ओक्लाले आफ्नो निकटतम प्रतिस्पर्धी भनेको होलाफ्लाइले गत सेप्टेम्बरमा आफ्नो कुल आम्दानी ५० करोड डलर नाघेको जनाएको थियो।
ई–सिम प्रयोग गर्ने स्मार्टफोनको संख्या बढेसँगै यो बजार विस्तार भइरहेको छ। यसमा एप्पलको भूमिका महत्वपूर्ण छ। त्यस्तै, ट्राभल प्लेटफर्म र फिनटेक कम्पनीहरू पनि कनेक्टिभिटी तथा डाटा प्याकेजको क्षेत्रमा प्रवेश गरिरहेका छन्।
तर ई–सिम प्रदायकबीच छनोट गर्न प्रयोगकर्ताका लागि कठिन हुन सक्छ। यसको एउटा कारण अन्तर्निहित रोमिङ नेटवर्क प्रदायकले ट्राफिकलाई विभिन्न तरिकाले रुट गर्नु हो।
ओक्लाका अनुसार एउटै सडकमा उभिएर एउटै स्थानीय नेटवर्कमा जोडिएका दुई पर्यटकले पनि होलसेल सम्झौतासम्बन्धी आफूलाई थाहा नभएका निर्णयका कारण प्रतिक्रियाको समयमा १० गुणासम्म फरक अनुभव गर्न सक्छन्।
विश्वव्यापी रूपमा रोमिङ सम्झौता व्यवस्थापन गर्ने प्रमुख होलसेल प्रदायकमा अस्ट्रिया र हङकङमा हचिसनका नेटवर्क, चाइना मोबाइल हङकङ, केपीएन, ओरेन्ज, सिङ्टेल, टेल्ना, वेबिङ, ट्रान्साटेल, प्रोक्सिमस, बीआईसीएस, पोल्यान्डको प्लस र बेलायतको स्काई रहेका छन्।
ई–सिम प्रदायकहरूले आफ्ना होलसेल साझेदारसमेत परिवर्तन गरिरहने ओक्लाले जनाएको छ। दोस्रो त्रैमासिकमा धेरै कम्पनीले आफ्ना होलसेल प्रदायक परिवर्तन गरेका थिए। उदाहरणका लागि एयरालोले केपीएनको प्रयोग बढाउँदै टेल्नालाई पनि साझेदार बनाएको थियो। होलाफ्लाइले भने हचिसन अस्ट्रियामा आफ्नो सेवा केन्द्रित गरेको थियो। दुवै कम्पनीले ओरेन्ज फ्रान्सको प्रयोग घटाएका थिए।
स्थानीय कार्यसम्पादनका लागि ई–सिमको ट्राफिक इन्टरनेटमा कहाँबाट बाहिरिन्छ भन्ने विषय महत्वपूर्ण हुन्छ। केही प्रदायकले एउटै हब प्रयोग गर्छन् भने केहीले विभिन्न स्थानमा रहेको वितरित कोर प्रयोग गर्छन्।
प्रयोगकर्ता रहेको देशमै ट्राफिक इन्टरनेटमा बाहिरिने ‘ट्रु लोकल ब्रेकआउट’ सेवा दुर्लभ रहेको ऊक्लाले जनाएको छ। तर यस्तो व्यवस्थाले सबैभन्दा कम लेटेन्सी दिन्छ।
ओक्लाले जापानको केडीडीआईको अउ नेटवर्कको उदाहरण दिएको छ। उक्त नेटवर्कमा ई–सिमको मध्यक लेटेन्सी स्थानीय रुटिङ प्रयोग गर्दा ५४ मिलिसेकेन्ड थियो भने ट्राफिक म्याड्रिड हुँदै पठाउँदा ५४३ मिलिसेकेन्ड पुगेको थियो।
दुवै अवस्थामा रेडियो नेटवर्कको अवस्था भने समान थियो।
ई–सिम बजारबाट लाभ लिन चाहने कम्पनीले ट्राफिक इन्टरनेटमा कहाँबाट बाहिरिन्छ भन्ने विषयमा ध्यान दिनुपर्ने ऊक्लाले जनाएको छ।
भ्रमण गरिएको देशमा लोकल ब्रेकआउट उपलब्ध गराउने वा स्थानीय रूपमा इन्टरनेटमा ट्राफिक निकाल्ने आफ्नै भिजिटर ई–सिम बिक्री गर्ने नेटवर्क अपरेटरले प्रतिक्रियाको गतिमा बजारका धेरै अन्य सेवाभन्दा उल्लेख्य रूपमा राम्रो प्रदर्शन गर्न सक्ने कम्पनीको भनाइ छ।
ट्राभल ई–सिम ब्रान्ड तथा तिनलाई सेवा दिने होलसेल प्रदायकले पनि वितरित कोर र क्षेत्रीय एक्जिटले एउटै हबको तुलनामा प्रतिक्रियासम्बन्धी सबै मापनमा राम्रो प्रदर्शन गर्ने ऊक्लाको निष्कर्षलाई ध्यान दिनुपर्नेछ।
यात्रुका लागि ओक्लाले आफू जाने गन्तव्यको सबैभन्दा नजिकबाट ट्राफिक इन्टरनेटमा बाहिरिने ई–सिम नै त्यस यात्राका लागि सबैभन्दा राम्रो ट्राभल ई–सिम हुने सरल सुझाव दिएको छ।
प्रकाशित: २९ श्रावण २०८३, शुक्रबार