काठमाडौं ।
लकहिड मार्टिन, भेराइजन, एनभिडिया, कीसाइट टेक्नोलोजिज, ओडीसी र एस्ट्रिस एआईले फाइभजी नेटवर्क प्रयोग गरेर ड्रोन पहिचान तथा निगरानी गर्न सकिने प्रविधिको प्रदर्शन गरेका छन्।
उनीहरूले संयुक्त रूपमा प्रदर्शन गरेको ‘नेटसेन्स एयरस्पेस अवेयरनेस–एज–अ–सर्भिस’ प्रणालीले विद्यमान फाइभजी नेटवर्क प्रयोग गरी मानवरहित हवाई प्रणाली (यूएएस) पहिचान, ट्र्याक र निगरानी गर्न एआई प्रयोग गर्छ।
टेलिकम्स डटकमका अनुसार मायामी आसपासको उच्च ट्राफिक भएको महत्वपूर्ण सहरी क्षेत्रमा भेराइजनको फाइभजी नेटवर्क स्पेक्ट्रम, ओडीसीको एआई–नेटिभ रेडियो एक्सेस नेटवर्क (आरएएन) सफ्टवेयर, एनभिडियाको एआई एरियल प्लेटफर्म र कीसाइटको उन्नत रेडियो फ्रिक्वेन्सी (आरएफ) सिमुलेसन प्लेटफर्म प्रयोग गरेर यसको प्रदर्शन गरिएको थियो।
यस क्रममा नेटसेन्सले ड्रोनको उपस्थिति पहिचान गर्नुका साथै उडान अवधिभर त्यसको ‘ट्र्याक कस्टडी’ कायम राखेको कम्पनीहरूले बताएका छन्।
प्रणालीमा लकहिड मार्टिनका चेतावनी तथा ट्र्याकिङ प्रणाली प्रयोग गरिएको छ। यी प्रणालीले एआईमार्फत आरएफमा हुने परिवर्तन विश्लेषण गरी यूएएसको उडान मार्ग अनुमान र ट्र्याक गर्न तथा वास्तविक समयमा स्वचालित चेतावनी जारी गर्न सक्छन्।
यसमा एनभिडियाको एआई एरियलमार्फत एआई–नेटिभ सेन्सिङ सुविधा पनि समावेश छ। यसले आरएफ सिग्नलमा हुने परिवर्तन विश्लेषण गरी प्रणालीमा जानकारी पठाउँछ। खुला संरचनाको व्यावसायिक प्रणाली भएकाले नयाँ इन्टरसेप्टर तथा प्रविधि थप्न पनि सकिने कम्पनीहरूले बताएका छन्। यसका लागि पूर्ण रूपमा नयाँ हार्डवेयर स्थापना गर्नुपर्ने आवश्यकता हुँदैन।
कम्पनीहरूका अनुसार यो प्रविधि महत्वपूर्ण पूर्वाधार, ठूला रंगशाला तथा कार्यक्रम, विद्युत् प्लान्टजस्ता युटिलिटी, विद्यालय, अस्पताल र विमानस्थलमा प्रयोग गर्न सकिन्छ। सहर, राज्य तथा अमेरिकी संघीय सरकारका ग्राहकले पनि नेटसेन्समार्फत सक्रिय निगरानी र चेतावनी प्राप्त गर्न सक्नेछन्।
कम्पनीहरूले विद्यमान सेलुलर रेडियो संरचनामा परिवर्तन नगरी यूएएस पहिचान गर्न सकिने दावी गरेका छन्। उनीहरूका अनुसार सेलुलर पूर्वाधारमा ठूलो पुनःलगानी नगरी ठूलो स्तरमा लागत प्रभावकारी सेन्सिङ गर्न सकिन्छ। यो प्रविधि ६जी इन्टिग्रेटेड सेन्सिङ एन्ड कम्युनिकेसन (आईएसएसी) आउनुअघि नै प्रयोग गर्न सकिने उनीहरूको भनाइ छ।
नेटसेन्स सिक्सजी आईएसएसीको विकल्प नभई त्यससँग पूरक हुने र भविष्यमा आईएसएसी प्रणालीलाई थप सक्षम बनाउन सक्ने कम्पनीहरूले बताएका छन्।
लकहिड मार्टिनकी टेक्नोलोजी एन्ड स्ट्राटेजिक इनोभेसनकी वरिष्ठ उपाध्यक्ष सारा हिजाले ड्रोन सस्तो र सहज रूपमा उपलब्ध हुँदै गएकाले सम्भावित खतराभन्दा अगाडि रहन एयरस्पेस अवेयरनेस प्रविधि तीव्र रूपमा विकास गर्नुपर्ने बताइन्। विद्यमान फाइभजी नेटवर्क स्पेक्ट्रममै काम गरेर आवश्यक परेको समयमा प्रयोग गर्न सकिने प्रणाली विकास गरिएको उनको भनाइ छ।
भेराइजनका टेक्नोलोजी एन्ड प्रोडक्ट डेभलपमेन्टका वरिष्ठ उपाध्यक्ष अनिल गुन्टुपालीले फाइभजी पूर्वाधारबाट प्रवाहित हुने आरएफ सिग्नल मापनसम्बन्धी तथ्यांकमा एआई प्रयोग गरेर नेटवर्कलाई बुद्धिमान सेन्सिङ प्लेटफर्ममा बदल्न सकिने बताए।
नेटसेन्सलाई विद्यमान सुरक्षा सञ्चालन प्रणालीसँग जोडिने सब्सक्रिप्सन सेवाका रूपमा उपलब्ध गराउने तयारी गरिएको छ। सन् २०२६ को दोस्रो भाग र सन् २०२७ को सुरुवातमा पाइलट परीक्षण गर्ने योजना छ भने व्यावसायिक रूपमा सबैका लागि उपलब्ध गराउने योजना सन् २०२७ का लागि राखिएको छ।
यसअघि एटीएन्डटी र एरिक्सनले पनि फाइभजी नेटवर्कमार्फत ड्रोन पहिचान गर्ने यस्तै प्रविधिको प्रदर्शन गरेका थिए। उनीहरूले विद्यमान सेलुलर टावर तथा विभिन्न स्थानमा राखिएका म्यासिभ मिमो रेडियो प्रयोग गरी धेरै ड्रोन पहिचान र तिनको गतिविधि ट्र्याक गरेका थिए।
त्यस क्रममा ३०० देखि ४०० फिट उचाइमा उडिरहेका ड्रोनलाई सेन्सिङ सुविधा भएका रेडियो ट्रान्समिसन, उन्नत सिग्नल प्रोसेसिङ र एआईमा आधारित सेन्सिङ एल्गोरिदममार्फत पहिचान गरिएको थियो। यसमा सञ्चारका लागि प्रयोग हुने रेडियो सिग्नललाई वातावरणीय सेन्सिङका लागि समेत प्रयोग गरिएको थियो।
सैन्य कारबाहीमा ड्रोनको प्रयोग बढ्दै गएको र यससँगै अन्य सुरक्षा चुनौतीसमेत बढिरहेका कारण यस्ता चुनौती न्यूनीकरण गर्ने उद्देश्यले फाइभजी नेटवर्कमा आधारित ड्रोन पहिचानसम्बन्धी थप परियोजना अघि बढ्ने अपेक्षा गरिएको छ।
प्रकाशित: २९ श्रावण २०८३, शुक्रबार