काठमाडौं ।
डिभिजन वन कार्यालयले मानव बस्ती र आसपासका क्षेत्रमा रहेका दुई चितुवा अनुगमन र नियन्त्रणका लागि ‘थर्मल ड्रोन’को सहायता लिएको छ । कार्यालय र राष्ट्रिय प्रकृति संरक्षण कोषको संयुक्त टोलीलले विगत दुई दिनदेखि कृषि तथा वन विज्ञान विश्वविद्यालयको क्षेत्रमा रहेको झाडीमा चितुवा हुनसक्ने आकलन गर्दै ड्रोनको सहायता लिएको हो।
विगत दुई महिनादेखि भरतपुर महानगरपालिका–१५ र कृषि तथा वन विज्ञान विश्वविद्यालयको परिसरमा रहेको झाडीमा चितुवा देखिएपछि नियन्त्रणको काम सुरु गरिएको हो। दिनको समयमा नदेखिने रातको समयमा देखिने गर्दा नियन्त्रणमा लिन कठिन भएको कार्यालयका सूचना अधिकारी देवीप्रसाद पौडेलले जानकारी दिए। अहिले चितुवा नियन्त्रणका लागि दिउँसोमा थर्मल ड्रोन (वन्यजन्तुको तापक्रम पहिचान गर्न सक्ने), पाँच स्थानमा सिसी क्यामरा जडान, तीन स्थानमा खोर ट्यापिङ, तीन स्थानमा खुट्टा ट्यापिङ (खुट्टा अल्झाउन) का लागि काम गरिएको उनले जानकारी दिए।
चितुवा नियन्त्रणका लागि डिभिजन वन कार्यालय चितवन र राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक टोली खटिएको उनले बताए। ती खोर ट्यापिङको काम चितुवालाई सहज हुनेगरी राखिएको छ । अहिले सो क्षेत्रमा एउटा माउ र एउटा बच्चा चितुवा रहेको उनले जानकारी दिए। उनका अनुसार एउटा बच्चा चितुवा भरतपुर–१५ बाट नियन्त्रणमा लिइसकिएको छ। सो बच्चालाई राष्ट्रिय प्रकृति संरक्षण कोषमा लगेर राखिएको छ। चितुवाको पाइलाका आधारमा खोरहरू स्थानान्तरण गरेर राख्ने गरिएको छ।
सो कार्यमा लागेका डिभिजन वन कार्यालयका वन अधिकृत सुदीप हमालका अनुसार कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर परिसरको गाई अनुसन्धान कार्यक्रमको आवास क्षेत्रमा दुईपटक चितुवा देखिएको छ । सिसी क्यामरामा एक साताअघि एउटा र आइतबार राति दुईवटा चितुवा देखापरेको उनले जानकारी दिए। सोपश्चात सो क्षेत्रमा थर्मल ड्रोनको प्रयोग गरिएको भए पनि चितुवा भेट्न सकिएको छैन । उनका अनुसार सो ठाउँमा खोर र खुट्टा ट्यापिङ पनि राखिएको छ । यस्तै वन क्याम्पस नजिक एउटा र भरतपुर महानगरपालिका–१५ को अविनास पोल्ट्री परिसरमा एउटा खोर राखिएको छ । विभिन्न ठाउँमा क्यामेरासमेत राखिएको उनले बताए। चितुवाको आवतजावत भएको क्षेत्रमा क्यामेरा राखिएको छ।
यस्तै भरतपुर–११ स्थित आँपटारीमा रहेको विद्युत् स्टेसन क्षेत्रमा बाघ देखिएको जनाउँदै कर्मचारीले गुनासो गरेपछि दुईवटा क्यामेरा जडान गरिएको छ । बाघले स्थानीयको बाख्रा खाएको जनाइएको छ । सो क्यामेरामार्फत अनुगमन भइरहेको अधिकृत हमालले जानकारी दिए। रासस
प्रकाशित: २७ श्रावण २०८३, बुधबार