टूजी र थ्रीजी नेटवर्क बन्द गर्ने अभियानमा यूरोपेली टेलिकम कम्पनीहरु अगाडि

  • Technology Khabar | २९ श्रावण २०८३, शुक्रबार
टूजी र थ्रीजी नेटवर्क बन्द गर्ने अभियानमा यूरोपेली टेलिकम कम्पनीहरु अगाडि

काठमाडौं ।

ग्लोबल मोबाइल सप्लायर्स एसोसिएसन (जीएसए) को रिपोर्टअनुसार टूजी र थ्रीजी नेटवर्क बन्द गर्ने प्रक्रिया तीव्र हुँदै गएको छ। टेलिकम कम्पनीहरूले ४जी र ५जीका लागि स्पेक्ट्रम पुनः प्रयोगमा ल्याउन यस्तो कदम चालिरहेका छन्।

रिपोर्टमा ८९ देश तथा क्षेत्रमा टूजी र थ्रीजी नेटवर्क बन्द गरिसकेका, बन्द गर्ने योजना बनाएका वा प्रक्रिया अघि बढाइरहेका ३१३ वटा अपरेटर पहिचान गरिएको छ। यसले एलटीई र ५जीका लागि क्षमता बढाउन स्पेक्ट्रम पुनः प्रयोग गर्न सकिने भएको छ। साथै, कम ट्राफिक हुने पुराना नेटवर्क सञ्चालनमा लाग्ने ऊर्जा पनि घट्नेछ।

केही टूजी र थ्रीजी नेटवर्क अपरेटर समूहले तय गरेका लक्ष्यअनुसार बन्द भइरहेका छन् भने केही सरकार र नियामक निकायको निर्देशनअनुसार बन्द गरिएका छन्। विश्वभर टूजी र थ्रीजी बन्द गर्ने गतिविधिमा युरोप अगाडि रहेको छ। कुल घटनामध्ये युरोपको हिस्सा ४३ प्रतिशत छ।

त्यसपछि एसिया २६ प्रतिशत तथा ल्याटिन अमेरिका र क्यारेबियन क्षेत्र ९ प्रतिशत छन्।

केही अपरेटरले सुरुमा तय गरेका लक्ष्य पूरा गर्न नसकेको पनि रिपोर्टमा उल्लेख छ। विशेषगरी मेसिन–टु–मेसिन र इन्टरनेट अफ थिङ्स (आईओटी) जडानमा यो प्रक्रिया चुनौतीपूर्ण रहेको छ। केही उद्योगमा उपकरण परिवर्तन गर्ने चक्र निकै लामो हुने भएकाले पुरानो नेटवर्क बन्द गर्न कठिनाइ हुने गरेको रिपोर्टमा उल्लेख छ।

रिपोर्टअनुसार ७० बजारका १३९ अपरेटरले टूजी नेटवर्क बन्द गरिसकेका वा बन्द गर्ने योजना बनाएका छन्। तीमध्ये ५६ अपरेटरले टूजी बन्द गर्ने प्रक्रिया पूरा गरिसकेका छन्। त्यस्तै, ६७ बजारका १७४ अपरेटरले थ्रीजी नेटवर्क बन्द गर्ने प्रक्रिया सुरु गरेका छन्, जसमध्ये १०२ ले प्रक्रिया पूरा गरिसकेका छन्।

पुराना नेटवर्क बन्द गरिरहेका अपरेटरमध्ये ५८ प्रतिशतले ४जी र ५जी दुवै नेटवर्कमा स्तरोन्नति गरिरहेका छन्। त्यस्तै, २७ अपरेटरले टूजी र थ्रीजी दुवै नेटवर्क बन्द गरिसकेका छन्।

“बजारमा पहिलोपटक ल्याउँदा टूजी र थ्रीजी निकै महत्वपूर्ण प्रविधि थिए। तर नयाँ र उन्नत प्रविधि आएपछि तिनको महत्व घट्दै गएको छ र विश्वभर दुवै प्रविधिको प्रयोग कम भइरहेको छ,” ग्लोबल मोबाइल सप्लायर्स एसोसिएसनका अध्यक्ष जो ब्यारेटले भने।

उनका अनुसार धेरै अपरेटर, नियामक निकाय र सरकारले छिटो, प्रभावकारी र सुरक्षित एलटीई तथा ५जी नेटवर्कका लागि पुराना टूजी र थ्रीजी प्रविधि बन्द गर्ने निर्णय गरिरहेका छन्।

जीएसएको तथ्यांकले अधिकांश क्षेत्रमा टूजी र थ्रीजी नेटवर्क बन्द भइरहेको देखाएको छ। सरकार, नियामक निकाय र अपरेटर समूहले निश्चित बन्द मिति तय गर्न थालेकाले सन् २०२६ र त्यसपछिका वर्षमा टूजी र थ्रीजी बन्द गर्ने प्रक्रिया अझ तीव्र हुने उनले बताए।

बेलायतमा भीएमओ२ ले गत वर्ष जुलाईदेखि थ्रीजी नेटवर्क बन्द गर्ने प्रक्रिया तीव्र रूपमा अघि बढाएको थियो। ईई र भोडाफोनले सन् २०२४ मै थ्रीजी नेटवर्क बन्द गरिसकेका थिए। थ्रीले पनि गत वर्ष नोभेम्बरमा आफ्नो थ्रीजी नेटवर्क बन्द गरेको घोषणा गरेको थियो।

यसैबीच, भीएमओ२ ले आफ्नो निरन्तर रूपान्तरण योजनाअन्तर्गत सन् २०२९ को गर्मीयामदेखि टूजी सेवा बन्द गर्न सुरु गर्ने जनाएको छ। कम्पनीको टूजी नेटवर्कबाट अहिले कुल नेटवर्क डाटामध्ये ०.५ प्रतिशतभन्दा कम डाटा प्रवाह हुन्छ। अन्तर्राष्ट्रिय रोमिङका लागि पनि यसको टूजी नेटवर्क यसअघि नै बन्द भइसकेको छ।

प्रकाशित: २९ श्रावण २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार