नेपालमा नेक्स्ट जेनेरेसन इलेक्ट्रिक थ्री-ह्विलर ‘सुपर अटो’ सार्वजनिक

  • Technology Khabar | २८ श्रावण २०८३, बिहीबार
नेपालमा नेक्स्ट जेनेरेसन इलेक्ट्रिक थ्री-ह्विलर ‘सुपर अटो’ सार्वजनिक

काठमाडौं ।

पूर्णतया इलेक्ट्रिक कमर्सियल भेहिकलमा केन्द्रित भारतीय ब्रान्ड मोन्ट्रा इलेक्ट्रिकले आफ्नो पहिलो अन्तर्राष्ट्रिय बजारका रूपमा नेपालमा प्रवेश गरेको गरेको छ।कम्पनीले बुधबार सुपर अटो इलेक्ट्रिक थ्री(ह्विलरको पहिलो ब्याच सार्वजनिक गरेको हो।

मोन्ट्रा इलेक्ट्रिक नेपालका लागि आफ्नो आधिकारिक राष्ट्रिय वितरक हिप्को ट्रेडिंगमार्फत नेपाल प्रवेश गरेको हो।

काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिष गजुरेलले मोन्ट्रा इलेक्ट्रिकको फ्ल्यागसिप यात्रुवाहक थ्री–ह्विलर सुपर अटो सार्वजनिक गरे। यससँगै नेपालमा मोन्ट्रा इलेक्ट्रिक सुपर अटोको औपचारिक सुरुवात भएको छ।

मोन्ट्रा इलेक्ट्रिक सुपर अटोको इन्जिनियरिङ विकास नेपालका सडक तथा भू–भागमा गरिएको परीक्षण, स्थानीय वितरकबाट प्राप्त सुझाव तथा नेपालको सडक र भूगोलका मौलिक आवश्यकतालाई ध्यानमा राखेर गरिएको कम्पनीले जनाएको छ।

इन्टरनल कम्बसन इन्जिन (आइसीई) भएका सवारीसाधनको तुलनामा इलेक्ट्रिक सवारीसाधनलाई सरकारले दिँदै आएको कर तथा भन्सारसम्बन्धी सहुलियतले पेट्रोलबाट चल्ने थ्री–ह्विलरबाट इलेक्ट्रिक गाडीमा रूपान्तरण हुने चालक तथा यात्रुका लागि यसको आर्थिक लाभ अझ बढाएको कम्पनीले दाबी गरेको छ।

९ किलोवाट आवोर ब्याट्री प्याक र पीएमएसएम मोटरबाट सञ्चालित सुपर अटोले आफ्नो सेगमेन्टमै उत्कृष्ट ६० एनएम टर्क प्रदान गर्छ। यसले एकपटकको पूर्ण चार्जमा १५० किलोमिटरसम्मको ड्राइभिङ रेन्ज र ५५ किलोमिटर प्रतिघण्टाको अधिकतम गति प्रदान गर्छ। ४.५ घण्टामा चार्ज गर्न सकिने क्षमताले दैनिक रूपमा सवारीको ज्यादा उपयोग गर्न सहयोग पुर्याउने कम्पनिले जनाएको छ।

नेपालमा सुपर अटोको मूल्य ८ लाख ६४ हजार ९०० तोकिएको छ।

हिप्को ट्रेडिंग प्राइभेट लिमिटेडका निर्देशक हिमांशु गोल्छाले भने, ‘नेपालका सडकहरू देशको आर्थिक विकासका मेरुदण्ड हुन्। लामो समयदेखि हामीले हाम्रो आर्थिक विकासको मूल्य ठूलो इन्धन आयात खर्चका रूपमा चुकाउँदै आएका छौं। सुपर अटोको आगमन आयातित इन्धनमा निर्भरता र प्रदूषण घटाउने यात्रातर्फको पहिलो कदम हो।’

टीआई क्लिन मोबिलिटीका अध्यक्ष अरुण मुरुगप्पनले भने, ‘मोन्ट्रा इलेक्ट्रिकको सुपर अटो नेपाल प्रवेशले इन्जिनियरिङ उत्कृष्टताको प्रयोग वास्तविक र स्थानीय आवश्यकतामा आधारित हुनुपर्छ भन्ने हाम्रो लामो समयदेखिको विश्वासलाई प्रतिबिम्बित गर्छ। चाहे त्यो किसान होस्, फ्लीट सञ्चालक होस् वा राष्ट्रको आफ्नै ऊर्जा महत्वाकांक्षा नै किन नहोस्। नेपालको नवीकरणीय ऊर्जाको क्षमता र मोन्ट्रा इलेक्ट्रिकको मोबिलिटीसम्बन्धी इनोभेसनले यो साझेदारीलाई स्वाभाविक र आपसी हित अनुकुल बनाएको छ।’

कम्पनीका प्रबन्ध निर्देशक जलज गुप्ताले भने, ‘भारतको तीव्र रूपमा बढिरहेको इलेक्ट्रिक कमर्सियल भेहिकल क्षेत्रमा मोन्ट्रा इलेक्ट्रिक अग्रणी कम्पनीका रूपमा स्थापित छ। हाम्रो यात्राको महत्वपूर्ण अध्यायको रूपमा रहेको नेपाल प्रवेशले कम्पनीलाई दिगो मोबिलिटीको विश्वव्यापी क्षेत्रमा अघि बढ्न थप बल प्रदान गर्नेछ। मुरुगप्पा ग्रुपले सधैं वास्तविक चुनौती समाधान गर्ने इन्जिनियरिङलाई प्राथमिकता दिँदै आएको छ।’

प्रकाशित: २८ श्रावण २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...