काठमाडौं ।
राकुटेन मोबाइलले सेवा आम्दानी बढेसँगै घाटा अन्तर छोट्याएको छ। कम्पनीका लागि यो अर्को उत्साहजनक त्रैमासिक रह्यो जसमा आम्दानी, नाफा र ग्राहक संख्या सबै सकारात्मक दिशामा अघि बढेका छन्।
जापानी ई–कमर्स कम्पनीको दूरसञ्चार व्यवसाय राकुटेन मोबाइलले जुन ३० मा समाप्त भएको तीन महिनामा १०१.३ अर्ब जापानी येन (६३७.८ मिलियन अमेरिकी डलर) आम्दानी गरेको छ।
यो गत वर्षको सोही अवधिको तुलनामा ११.९ प्रतिशत बढी हो। यस अवधिमा कम्पनीको ग्राहक संख्या १७.८ लाखले बढेर १ करोड ७ लाख ५० हजार पुगेको टेलिकम्स डटकमले उल्लेख गरेको छ।
राकुटेनले भनेको छ, “कम्पनीले छोटो अवधिका सदस्यता घटाउँदै स्थायी ग्राहकमा केन्द्रित भएर दिगो वृद्धि संरचना बनाएको छ। मुख्य बिक्री सिजन सकिएपछि पनि नयाँ ग्राहक थपिने क्रम निरन्तर बढिरहेको छ।” यसको सकारात्मक प्रभाव औसत प्रतिग्राहक आम्दानी (एआरपीयू) मा पनि परेको छ। एआरपीयू बढेर २,५१६ जापानी येन पुगेको छ, जुन गत वर्षको तुलनामा ४२ येन बढी हो।
राकुटेनले नेटवर्क विस्तारलाई निरन्तरता दिइरहेकाले लागत भने अझै उच्च छ। नेटवर्कमा पुँजीगत खर्च ३९.३ अर्ब जापानी येन पुगेको छ। यो गत वर्षको तुलनामा स्थिर हो र पूरै आर्थिक वर्षका लागि करिब २०० अर्ब जापानी येन खर्च गर्ने कम्पनीको अनुमानअनुसार नै छ।
राकुटेनले भनेको छ, “नेटवर्कको गुणस्तर सुधार गर्न कम्पनीले आन्तरिक जनशक्ति केन्द्रित गर्दै र निर्माण प्रक्रियामा सुधार गर्दै बेस स्टेसन निर्माणलाई तीव्र बनाइरहेको छ। यसमा केही काम कम्पनी आफैंले गर्ने व्यवस्था पनि समावेश छ।”
ग्राहक आकर्षित गर्न गरिएको प्रयासका कारण मार्केटिङ खर्च ३६.७ प्रतिशतले बढेर २१.१ अर्ब जापानी येन पुगेको छ।
ब्याज, कर, मूल्यह्रास र अमोर्टाइजेसनअघिको आम्दानी-एबिट्डा का आधारमा भने राकुटेन मोबाइलले अर्को नाफामूलक त्रैमासिक हासिल गरेको छ। एबिट्डा ६.४ प्रतिशतले बढेर ५.९ अर्ब जापानी येन पुगेको छ। सञ्चालन घाटा ३८.९६ अर्ब जापानी येनबाट घटेर ३२.२७ अर्ब जापानी येनमा झरेको छ।
समग्र राकुटेन समूहमा मोबाइल व्यवसायलाई राकुटेनको इन्टरनेट सर्भिसेज र फिनटेक व्यवसायले पछि पारेका छन्। यी दुई व्यवसायको सञ्चालन आम्दानी क्रमशः ६८.६ प्रतिशत र ६०.१ प्रतिशतले बढेको छ। ग्राहक संख्या तथा कारोबारको संख्या र मूल्यमा भएको निरन्तर वृद्धिले यसमा सहयोग गरेको छ।
राकुटेन मोबाइलले निश्चित रूपमा निरन्तर प्रगति गरिरहेको छ। तर यसले आफ्ना प्रतिस्पर्धीलाई नजिकबाट चुनौती दिइरहेको भन्न भने अझै गाह्रो छ।
यसको सबैभन्दा नजिकको प्रतिस्पर्धी सफ्टब्याङ्क हो। सफ्टब्याङ्कसँग जुन महिनाको अन्त्यसम्म ३ करोड १८ लाख स्मार्टफोन ग्राहक थिए। यो अघिल्लो वर्षको सोही अवधिको ३ करोड १९ लाख ५० हजारको तुलनामा केही कम हो। केडीडीआईसँग भने ३ करोड ३३ लाख ग्राहक छन्, जुन अघिल्लो वर्षको ३ करोड २९ लाखभन्दा बढी हो।
अर्को प्रमुख मोबाइल कम्पनी एनटीटी डोकोमोको तथ्यांक केही कम उपलब्ध छ। तर आर्थिक वर्ष २०२५ को अन्त्यसम्म कम्पनीसँग करिब ५ करोड ३० लाख मोबाइल ह्यान्डसेट ग्राहक रहेको देखिन्छ। तीमध्ये ४ करोड २० लाखभन्दा बढी ५जी प्रयोगकर्ता थिए। यो संख्यामा फिक्स्ड वायरलेस एक्सेस (एफडब्ल्यूए) ग्राहक समावेश छैनन् र अधिकांश ग्राहकले स्मार्टफोन प्रयोग गर्ने अनुमान गर्न सकिन्छ।
राकुटेनजस्तै डोकोमो पनि आफ्ना सेवाप्रति ग्राहकलाई लामो समय जोडेर राख्न सफल भइरहेको छ।
डोकोमोको पछिल्लो वित्तीय विवरणअनुसार, विभिन्न स्ट्रिमिङ सेवा समेटिएको उच्चस्तरीय ट्यारिफ ‘डोकोमो म्याक्स’ का ग्राहक जुन ३० सम्मको तीन महिनामा ४० लाखभन्दा बढी पुगेका छन्। यसले मासिक औसत प्रतिग्राहक आम्दानी ७० जापानी येन बढाउन सहयोग गरेको छ।
प्रकाशित: २८ श्रावण २०८३, बिहीबार