काठमाडौं ।
अमेरिकी दूतावास नेपालको सहयोगमा सञ्चालित उद्यमशीलता सीप विकास कार्यक्रम अन्तर्गतको क्यापस्टोन एक्सेलेरेटर सफलतापूर्वक सम्पन्न भएको छ।
देशभरबाट प्रतिस्पर्धात्मक छनोटमार्फत उत्कृष्ट २० उद्यमीले काठमाडौंमा आयोजित तीनदिने आवासीय कार्यक्रममा सहभागिता जनाउँदै व्यवसाय विस्तार, लगानी तयारी तथा अन्तर्राष्ट्रिय बजारमा पहुँच अभिवृद्धिसम्बन्धी प्रशिक्षण प्राप्त गरेका छन्।
कार्यक्रमको समापनसँगै सहभागी उद्यमीहरूले आफ्ना व्यवसाय प्रमुख लगानीकर्ता, उद्योगी, उद्यमशीलता क्षेत्रका साझेदार तथा विज्ञहरूको प्यानलसमक्ष प्रस्तुत गरेका थिए। पिचिङ सत्रमा उनीहरूले आफ्नो व्यवसायको सम्भावना, नवप्रवर्तन, विस्तार क्षमता, निर्यात अवसर तथा लगानी आकर्षित गर्ने रणनीतिबारे प्रस्तुति दिएका थिए भने विज्ञहरूबाट व्यावहारिक सुझाव पनि प्राप्त गरेका थिए।
नेपालगञ्ज, धनगढी, विराटनगर, जनकपुर, हेटौंडा, भैरहवा र पोखरामा सञ्चालन गरिएका क्षेत्रीय कार्यशालामा सहभागी २०० भन्दा बढी उद्यमीमध्ये प्रतिस्पर्धात्मक छनोट प्रक्रियाबाट उत्कृष्ट २० जना राष्ट्रिय क्यापस्टोन एक्सेलेरेटरका लागि छनोट भएका थिए।
कार्यक्रममा व्यवसाय विस्तार, लगानी तयारी, निर्यात सम्भावना, कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग, बजार व्यवस्थापन तथा रणनीतिक सञ्चारजस्ता विषयमा केन्द्रित प्रशिक्षण प्रदान गरिएको थियो।
कार्यक्रमको अन्तिम दिन आयोजना गरिएको ‘लगानी तथा विश्व बजार केन्द्रित पिचिङ सत्र’ मा सहभागीहरूले आफ्ना व्यवसाय विशेषज्ञहरूको प्यानलसमक्ष प्रस्तुत गर्दै बजार अवसर, नवप्रवर्तन, विस्तार क्षमता, निर्यात सम्भावना तथा लगानी आकर्षित गर्ने रणनीतिबारे व्यावहारिक सुझाव प्राप्त गरेका थिए।
सहभागीहरूले ‘क्यापस्टोन मेन स्ट्रीट शोकेसमार्फत आफ्ना उत्पादन तथा सेवाहरू पनि प्रदर्शनीमा राखेका थिए। अमेरिकी ‘मेन स्ट्रीट’ अवधारणाबाट प्रेरित उक्त प्रदर्शनीले उद्यमीहरूलाई लगानीकर्ता, उद्योगी, एमच्याम नेपाल तथा अन्य अमेरिकी व्यवसायिक नेतृत्वसँग प्रत्यक्ष संवाद गर्ने अवसर प्रदान गरेको थियो।
प्रत्यक्ष प्रदर्शन र अन्तरक्रियामार्फत उनीहरूले बजार प्रतिक्रिया प्राप्त गर्नुका साथै नयाँ व्यावसायिक सम्बन्ध र सहकार्यका सम्भावना विस्तार गरेका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै अमेरिकी दूतावास नेपालका पब्लिक अफेयर्स चीफ माइक हार्करले भने, ‘आजको क्यापस्टोन शोकेस एउटा कार्यक्रमको समापन मात्र होइन, अमेरिका र नेपालबीचको बलियो आर्थिक साझेदारीको महत्वपूर्ण उदाहरण पनि हो। नवीन सोच भएका नेपाली उद्यमीहरूमा लगानी गर्दै, नवप्रवर्तनलाई प्रोत्साहन गर्दै तथा उद्यमी, उद्योग र लगानीकर्ताबीच सम्बन्ध विस्तार गरेर हामी आर्थिक कूटनीति र निजी क्षेत्रीय सहकार्यलाई थप सुदृढ बनाइरहेका छौं। नेपालको आर्थिक विकास र द्विपक्षीय सम्बन्धलाई अझ मजबुत बनाउने नयाँ पुस्ताका उद्यमीहरूलाई सहयोग गर्न पाउँदा हामी गर्व गर्छौं।”
क्यापस्टोन एक्सेलेरेटर अमेरिकी दूतावास नेपालको सहयोगमा सञ्चालित उद्यमशीलता सीप विकास कार्यक्रमको अन्तिम चरण हो। कार्यक्रम इन्टरनेशनल डेभलपमेन्ट इन्स्टिच्युट (आईडीआई) ले आद्यान्त एडभाइजरीसँगको साझेदारीमा कार्यान्वयन गरेको हो।
यस कार्यक्रमअन्तर्गत क्षेत्रीय कार्यशालापछि कानुनी अनुपालन, निर्यात तयारी, एआईमा आधारित व्यवसाय विस्तार तथा डिजिटल मार्केटिङसम्बन्धी भर्चुअल मास्टरक्लास सञ्चालन गरिएको थियो। त्यसपछि उत्कृष्ट २० जना उद्यमी राष्ट्रिय क्यापस्टोन एक्सेलेरेटरका लागि छनोट भएका थिए।
काठमाडौंमा सम्पन्न तीनदिने कार्यक्रममा सहभागीहरूले अन्तरक्रियात्मक मास्टरक्लास, मेन्टरिङ, सहकर्मीबीच सिकाइ तथा पिच कोचिङमार्फत आफ्नो व्यवसायिक रणनीति थप परिष्कृत गरेका थिए। कार्यक्रमको अन्तिम दिन उनीहरूले आफ्ना व्यवसाय नेपालका प्रमुख लगानीकर्ता तथा उद्यमशीलता क्षेत्रका सरोकारवालासमक्ष प्रस्तुत गरेका थिए।
छनोट भएका २० जना उद्यमी कृषि तथा कृषि प्रशोधन, खाद्य तथा पेय पदार्थ, सूचना प्रविधि, उत्पादन, सिर्जनात्मक उद्योग, परामर्श सेवा, डिजिटल सेवा, प्राकृतिक उत्पादन, हस्तकला, सहकारी तथा सामाजिक उद्यमलगायत विविध क्षेत्रमा सक्रिय छन्। उनीहरू नवप्रवर्तन, बजार विस्तार, रोजगारी सिर्जना तथा नेपालको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने सम्भावना भएका उद्यमहरूको प्रतिनिधित्व गर्छन्।
अमेरिकी दूतावासको उद्यमशीलता सीप विकास कार्यक्रमले नेपाली उद्यमीहरूलाई व्यावहारिक व्यवसायिक तालिम, मेन्टरिङ तथा बजारमुखी सिकाइमार्फत सक्षम बनाउने उद्देश्य राखेको छ।
क्षेत्रीय कार्यशाला, भर्चुअल मास्टरक्लास तथा क्यापिस्टोन एक्सिलेरेटरमार्फत कार्यक्रमले उद्यमीहरूलाई आवश्यक सीप, व्यावसायिक सञ्जाल, अमेरिकी व्यवसायिक अभ्यासबारे ज्ञान तथा प्रतिस्पर्धी व्यवसाय निर्माण गर्ने आत्मविश्वास प्रदान गर्छ।
प्रकाशित: २६ श्रावण २०८३, मंगलवार