काठमाडौं ।
अप्टस र नोकियाले भविष्यको सिक्सजी मोबाइल सेवाका लागि अपर ६ गिगाहर्ज ब्यान्डको सम्भावना देखाउँदै परीक्षणका क्रममा स्मार्टफोनमा ३.५ गिगाबिट प्रति सेकेन्ड (जीबीपीएस) डाउनलोड गति हासिल गरेको बताएका छन्।
कम्पनीहरूका अनुसार परीक्षण अप्टसको विद्यमान साइटमा सञ्चालनमा रहेको फाइभजी नेटवर्कसँगै गरिएको थियो। २०० मेगाहर्जको अपर ६ गिगाहर्ज स्पेक्ट्रम, मिडियाटेक प्रोसेसरयुक्त परीक्षण स्मार्टफोन र नोकियाको ६ गिगाहर्ज म्यासिभ मिमो एन्टेना प्रयोग गरेर उक्त गति हासिल गरिएको हो।
कम्पनीका अनुसार उक्त गतिमा प्रयोगकर्ताले दुई घण्टाको एचडी चलचित्र केही सेकेन्डमै डाउनलोड गर्न सक्छन्। साथै यो प्रविधिले एकै समयमा १४० भन्दा बढी फोरके भिडियो स्ट्रिमलाई समर्थन गर्न सक्छ।
दुवै कम्पनीले यो परीक्षणले भविष्यका मोबाइल नेटवर्कले बढ्दो डिजिटल अर्थतन्त्र र एआईमा आधारित सेवाका लागि आवश्यक क्षमता, कार्यसम्पादन र बुद्धिमत्ता उपलब्ध गराउन सक्ने देखाएको बताएका छन्।
कम्पनीहरूले म्यासिभ मिमोसहितको अपर ६ गिगाहर्ज ब्यान्डले अप्टसको हालको ३.५ गिगाहर्ज फाइभजी ब्यान्डसरह बाहिरी क्षेत्रमा कभरेज दिएको दाबी गरेका छन्। यद्यपि उनीहरूले कभरेजसम्बन्धी विस्तृत तथ्यांक सार्वजनिक गरेका छैनन्।
कम्पनीका अनुसार भविष्यका सिक्सजी सेवा हालको नेटवर्क पूर्वाधारकै ठूलो हिस्सा प्रयोग गरेर सञ्चालन गर्न सकिनेछ, जसले कार्यसम्पादन सुधार गर्दै व्यापक कभरेज कायम राख्न मद्दत गर्ने टेलिकम्स डटकमले उल्लेख गरेको छ।
भित्री भवनभित्रको कभरेजका विषयमा भने कम्पनीहरूले धेरै विवरण दिएका छैनन्। परीक्षणले सिक्सजी युगमा भवनभित्रको मोबाइल पूर्वाधार कसरी डिजाइन गर्न सकिन्छ भन्ने देखाएको मात्र जनाएको छ।
यस परीक्षणमा अप्टस र नोकियाले एआईमा आधारित रोबोट कुकुर पनि प्रयोग गरेका छन्। कम्पनीहरूका अनुसार यो विश्वकै पहिलो प्रदर्शन हो, जसमा रोबोट कुकुर प्रयोग गरेर भवनभित्रको मोबाइल कभरेज मापन गरिएको र भविष्यका सिक्सजी नेटवर्कको डिजाइनमा सहयोग गरिएको हो। यसले नेटवर्क योजना बनाउने प्रक्रिया अझ छिटो र सटीक बनाउन सक्ने कम्पनीको दाबी छ।
अप्टसका प्रमुख प्रविधि अधिकृत अमिर्थालिङ्गमले यो परीक्षण कम्पनीको दीर्घकालीन सिक्सजी अनुसन्धान कार्यक्रमको महत्वपूर्ण उपलब्धि भएको बताए।
उनका अनुसार यसले भविष्यका मोबाइल नेटवर्क अस्ट्रेलियाको विशेष कनेक्टिभिटी आवश्यकताअनुसार कसरी डिजाइन गर्न सकिन्छ भन्ने बुझ्न सहयोग पुर्याएको छ।
अस्ट्रेलियाजस्ता विशाल भूभाग र कम जनसंख्या भएका देशमा मोबाइल नेटवर्क विस्तार गर्दा विशेष योजना आवश्यक हुने कम्पनीले जनाएको छ। त्यसैले अस्ट्रेलियाले बेलायतलगायत केही देशले अपनाएको जस्तै अपर ६ गिगाहर्ज ब्यान्ड मोबाइल र वाइफाइ दुवैले साझा रूपमा प्रयोग गर्न सक्ने मोडल रोजेको छ।
अमिर्थालिङ्गमका अनुसार अपर ६ गिगाहर्ज स्पेक्ट्रममा ३.५ जीबीपीएस गति हासिल हुनु भविष्यका नेटवर्कका लागि यो ब्यान्डको ठूलो सम्भावना भएको प्रमाण हो। एआई सेवा, उच्चस्तरीय भिडियो, क्लाउड एप्लिकेसन र जडित उपकरणहरूको प्रयोग बढ्दै जाँदा यसको महत्व अझ बढ्ने उनले बताए।
विश्वभरका दूरसञ्चार सेवा प्रदायकहरूले भविष्यको सिक्सजी नेटवर्कका लागि अपर ६ गिगाहर्ज ब्यान्डको प्रयोगबारे अध्ययन गरिरहेका छन्। यस परीक्षणको विशेषता भने एआईमा आधारित रोबोट कुकुरको प्रयोग रहेको छ।
प्रकाशित: २२ श्रावण २०८३, शुक्रबार