काठमाडौं ।
मेक्सिकोको सिनालोआ राज्यको राजधानी कुलियाकानमा सोशल मिडिया इन्फ्लुएन्सर सेजार गास्तेलुमलाई टिकटकमा लाइभ गरिरहेको समयमा गोली हानी हत्या गरिएको छ।
शर्ट भिडियो शेयरिङ प्लेटफर्म टिकटकमा करिब ६ लाख ५० हजार फलोअर रहेका गास्तेलुम मंगलबार दुई जनासँगै पार्किङ क्षेत्रमा बसिरहेका बेला मोटरसाइकलमा आएका दुई व्यक्तिले गोली प्रहार गरेका थिए।
घटनाको भिडियोमा उनीहरू नजिक आएर गास्तेलुमलाई गोली हानेपछि फरार भएको देखिन्छ।
इन्फ्लुएन्सर गास्तेलुमले सामाजिक सञ्जालमा आफूलाई ‘बेलिको’ भनेर चिनाउने गरेका थिए। मेक्सिकोको केही आपराधिक उपसंस्कृतिमा यो शब्द कार्टेल संस्कृतिसँग सम्बन्ध जनाउन प्रयोग हुने गर्छ।
सुरक्षा अधिकारी र स्थानीय अभियोजकहरूले गास्तेलुमले आपराधिक समूहको एक गुटतर्फ संकेत गर्ने केही भिडियो सार्वजनिक गरेको देखिएको बताएका छन्।
मेक्सिकोका राष्ट्रपति क्लाउडिया शाइनबाउमले घटनालाई ‘निन्दनीय हत्या’ भन्दै यसको कारण पत्ता लगाउन र दोषीलाई पक्राउ गर्न निर्देशन दिएकी छन्।
प्रकाशित: २१ श्रावण २०८३, बिहीबार