काठमाडौं ।
वैज्ञानिकहरूले कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग गरेर विभिन्न प्रकारका भाइरसविरुद्ध सुरक्षा दिन सक्ने नयाँ खोप विकास गरेका छन्, जसले भविष्यमा आउन सक्ने महामारी रोक्न मद्दत गर्न सक्ने विश्वास गरिएको छ।
क्याम्ब्रिज विश्वविद्यालयका वैज्ञानिकहरूको टोलीले खोपको एउटा प्रमुख भाग पहिलो पटक पूर्ण रूपमा एआईको सहयोगमा डिजाइन गरिएको र त्यसलाई मानवमा सफलतापूर्वक परीक्षण गरिएको पुष्टि गरेको छ।
टेलिग्राफका अनुसार यो नयाँ खोप सबै प्रकारका कोरोनाभाइरसलाई लक्षित गरी विकास गरिएको हो। यसले हालका कोभिड–१९ का भेरियन्ट मात्र होइन, जनावरमा रहेका र भविष्यमा मानिसमा सर्न सक्ने कोरोनाभाइरसविरुद्ध पनि सुरक्षा दिन सक्ने लक्ष्य राखेको छ।
टेलिग्राफका अनुसार सामान्यतया खोपहरू हाल सक्रिय रहेको भाइरसको स्वरूपका आधारमा विकास गरिन्छ। तर भाइरस निरन्तर परिवर्तन भइरहने भएकाले खोपको प्रभावकारिता समयसँगै घट्न सक्छ र त्यसलाई नियमित रूपमा अद्यावधिक गर्नुपर्छ।
यसपटक भने क्याम्ब्रिजका वैज्ञानिकहरूले फरक विधि अपनाएका छन्। उनीहरूले विश्वभर भाइरसको निगरानीका लागि प्रयोग हुने डाटाबेसबाट धेरै कोरोनाभाइरसका आनुवंशिक कोड सङ्कलन गरेका थिए।
त्यसपछि एआईले ती डाटाको विश्लेषण गरेर सबै कोरोनाभाइरसमा समान रूपमा रहने र परिवर्तन नहुने भाग पहिचान गरेको हो।
एआईले त्यसपछि कृत्रिम “सुपर–एन्टिजेन” डिजाइन गर्यो, जुन खोपको मुख्य भाग हो र यसले प्रतिरक्षा प्रणालीलाई कुन भाग चिन्नु र आक्रमण गर्नु भन्ने सिकाउँछ।
यो सुपर–एन्टिजेनले शरीरलाई उक्त भाइरस परिवारका कुनै पनि भाइरस चिन्न र त्यससँग लड्न तयार बनाउने लक्ष्य राख्छ। भाइरसमा परिवर्तन आए पनि वा जनावरबाट मानिसमा नयाँ संक्रमण फैलिए पनि यसले प्रतिरक्षा प्रतिक्रिया दिन सक्ने अपेक्षा गरिएको छ।
“हामी सधैं भाइरसभन्दा एक कदम पछाडि हुन्छौं। हाम्रो प्रयास भाइरसभन्दा धेरै अगाडि रहने हो, ताकि नयाँ महामारी आउनुअघि नै त्यसबाट आफूलाई जोगाउन सकियोस्। यसले स्वास्थ्य संकटको तयारी गर्ने तरिकामा आधारभूत परिवर्तन ल्याउँछ,” क्याम्ब्रिज विश्वविद्यालयका प्राध्यापक जोनाथन हिनीले बताएका छन्।
खोपको पहिलो चरणको क्लिनिकल परीक्षण ३९ जनामा गरिएको थियो। यसको मुख्य उद्देश्य यो प्रविधिको सुरक्षा परीक्षण गर्नु थियो। जर्नल अफ इन्फेक्शनमा प्रकाशित नतिजाअनुसार खोप सुरक्षित देखिएको छ भने प्रतिरक्षा प्रणालीमा यसको प्रारम्भिक प्रभाव मध्यम स्तरको रहेको छ। यद्यपि वैज्ञानिकहरू आगामी अध्ययनप्रति आशावादी छन्।
हाल करिब २०० सहभागीमा दोस्रो चरणको अध्ययन भइरहेको छ। यसबाट प्रतिरक्षा प्रतिक्रियाको क्षमता र गुणस्तरबारे थप स्पष्ट जानकारी प्राप्त हुने अपेक्षा गरिएको छ।
अक्सफोर्डका प्राध्यापक एन्डी पोलार्डलगायत केही स्वतन्त्र विज्ञले ठूलो संख्यामा मानवमा अध्ययन पूरा नभएसम्म सावधानी अपनाउनुपर्ने बताएका छन्। उनीहरूका अनुसार मानिसको प्रतिरक्षा प्रणाली प्रयोगशालाका मोडेलभन्दा धेरै जटिल हुन्छ।
तर एआईले औषधि तथा खोप विकासको प्रक्रिया उल्लेखनीय रूपमा तीव्र बनाउन र भविष्यमा लाखौं मानिसको जीवन बचाउन महत्त्वपूर्ण भूमिका खेल्न सक्नेमा वैज्ञानिक समुदायको व्यापक सहमति रहेको छ।
प्रकाशित: २१ श्रावण २०८३, बिहीबार