काठमाडौं ।
चीनको रोबोट निर्माता युनिट्री टेक्नोलोजीको सांघाई स्टक एक्सचेन्जमा हुने प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) पछि कम्पनीको मूल्य ५० अर्ब युआन (करिब ७.४ अर्ब अमेरिकी डलर) भन्दा बढी पुग्ने अनुमान गरिएको छ।
कम्पनीको आईपीओ व्यवस्थापन गरिरहेको सिटिक सेक्युरिटिजले तयार पारेको प्रतिवेदनअनुसार हाङ्झाउस्थित युनिट्रीको मूल्य सूचीकृत भएको ६ देखि १२ महिनाभित्र ५०.६ अर्बदेखि ५५.९ अर्ब युआनसम्म पुग्न सक्ने अनुमान गरिएको छ। यो प्रतिवेदन बुधबार हुने आईपीओ मूल्य निर्धारण प्रक्रियाअघि लगानीकर्तालाई वितरण गरिएको हो।
टेस्ला र बोस्टन डाइनामिक्ससँग मानव आकारका (ह्युमनोइड) रोबोट निर्माणमा प्रतिस्पर्धा गरिरहेको युनिट्रीले नवप्रवर्तन र उत्पादन क्षमता विस्तारका लागि ४.२ अर्ब युआन जुटाउने लक्ष्य राखेको छ।
रोबोटिक्सलाई चीनले आफ्नो रणनीतिक उद्योगका रूपमा लिएको छ। यो क्षेत्र बेइजिङ र वासिङ्टनबीचको प्रविधि प्रतिस्पर्धाको महत्वपूर्ण हिस्सा मानिन्छ।
रोयटर्सका अनुसार सिटिक सेक्युरिटिजले कम्पनीको मूल्यांकन यस वर्षको अनुमानित बिक्रीको करिब २० गुणा र अनुमानित नाफाको करिब ८० गुणाका आधारमा गरेको छ।
चार खुट्टे रोबोट पनि उत्पादन गर्ने युनिट्रीलाई प्रतिवेदनमा उच्च कार्यसम्पादन भएका बहुउद्देश्यीय रोबोट निर्माण गर्ने विश्वकै अग्रणी कम्पनीमध्ये एक भनिएको छ। साथै, कम्पनीले अनुसन्धान तथा विकासमा सन्तुलित लगानी गर्दै ‘एम्बोडिड इन्टेलिजेन्स’ इकोसिस्टममा अग्रणी स्थान बनाएको उल्लेख गरिएको छ।
चीन र अमेरिकाबीच प्रविधि क्षेत्रमा बढ्दो प्रतिस्पर्धाका बीच युनिट्रीको आईपीओ आउन लागेको हो। हालै अमेरिकाले विदेशी उन्नत रोबोटलाई आफ्नो ‘कभर्ड लिस्ट’ मा समावेश गर्दै अमेरिकी बजारमा बिक्रीका लागि आवश्यक उपकरण स्वीकृति प्राप्त गर्न थप प्रतिबन्ध लगाएको थियो।
जुन महिनामा अमेरिकाले युनिट्रीसहित अन्य प्रमुख चिनियाँ प्रविधि कम्पनीलाई पनि बेइजिङको सैन्य गतिविधिलाई सहयोग गरेको आरोप लगाउँदै प्रतिबन्ध सूचीमा समावेश गरेको थियो।
युनिट्रीले बिहीबार आफ्नो आईपीओ मूल्य निर्धारण गर्नेछ भने शुक्रबारदेखि लगानीकर्ताबाट आवेदन संकलन गर्नेछ।
प्रकाशित: २१ श्रावण २०८३, बिहीबार