काठमाडौं ।
विश्वव्यापी मेमोरी चिप अभावका कारण एप्पलको सबैभन्दा लोकप्रिय ल्यापटप म्याकबुक एयरको उपलब्धतामा असर परेको छ। ब्लुमबर्गका पत्रकार मार्क गुरम्यानका अनुसार कृत्रिम बुद्धिमत्ता (एआई) कम्पनीहरूको उच्च मागका कारण उत्पन्न भएको मेमोरी चिप अभावले अहिले म्याकबुक एयरको आपूर्ति पनि प्रभावित हुन थालेको हो।
यसअघि यो अभावले एप्पलका तुलनात्मक रूपमा कम बिक्री हुने म्याक मिनी र म्याक स्टुडियोलाई असर गरेको थियो। तर अहिले म्याकबुक एयरको स्टक कायम राख्न पनि कम्पनीलाई कठिनाइ भइरहेको छ। खुद्रा विक्रेताहरूका अनुसार यसको आपूर्ति पहिलेभन्दा धेरै सीमित बनेको छ।
हाल एप्पलको वेबसाइटबाट म्याकबुक एयर अर्डर गर्ने ग्राहकले अगस्टको दोस्रो आधासम्म कुर्नुपर्ने अवस्था छ भने केही विशेष कन्फिगरेसनका मोडेलका लागि सेप्टेम्बरसम्म प्रतीक्षा गर्नुपर्ने देखिएको छ।
गुरम्यानका अनुसार एप्पलले समस्या समाधान गर्न केही मोडेलको मूल्य बढाउने र चीनका आपूर्तिकर्ताबाट मेमोरी चिप खरिद गर्ने प्रयास गरिरहेको छ। साथै कम्पनीले यस वर्षको ‘ब्याक-टु-स्कुल’ प्रवर्द्धन कार्यक्रम जुनबाट पछि सारेको छ।
हाल पहिलो पटक एप्पलले आफ्नो प्रचार सामग्रीमा आधारभूत मोडेलको म्याकबुक प्रोलाई बढी प्राथमिकता दिएको छ। साथै प्रचार सामग्रीमा म्याकबुक एयर उपलब्धतामा निर्भर रहनेछ भन्ने चेतावनी पनि समावेश गरिएको छ।
प्रकाशित: २० श्रावण २०८३, बुधबार