काठमाडौं ।
कर्णाली प्रदेश कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायब महानिरीक्षक जयराज सापकोटाले भ्रामक सूचना र उत्तेजक सामग्री पोष्ट नगर्न सर्वसाधारणलाई आग्रह गरेका छन्।
उनले फेसबुक, टिकटक, इन्स्टाग्रामलगायत सामाजिक सञ्जालमार्फत धार्मिक वा सामाजिक द्वेष फैलाउने, उत्तेजना बढाउने वा शान्तिसुरक्षामा आँच पुर्याउने भ्रामक समाचार, अफवाह, फोटो वा भिडियो पोस्ट, लाइक, कमेन्ट वा सेयर नगर्न आग्रह गरे।
सापकोटाले एक सन्देश जारी गर्दै सुनसरी जिल्लाको देवानगञ्जबाट सुरु भएको विवाद अन्त्यका लागि सामाजिक सद्भाव, धार्मिक सहिष्णुता तथा राष्ट्रिय एकता कायम राख्नुपर्ने बताए।
उनले कर्णाली शान्ति, सहिष्णुता र भाइचारा सम्बन्धको पवित्र भूमि भएकाले व्यक्तिगत वा सामूहिक रुपमा उत्तेजित पार्ने, धार्मिक र साम्प्रदायिक द्वन्द्व फैलाउने, कानुन हातमा लिन, उक्साउन वा अशान्ति मच्चाउने कार्य नगर्न आग्रह गरे। रासस
प्रकाशित: १५ श्रावण २०८३, शुक्रबार