काठमाडौं ।
सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले शिक्षा, स्वास्थ्य सञ्चारलगायत विपद् व्यवस्थापनका विषयमा आज नुवाकोटको तादी गाउँपालिकाका अध्यक्ष सन्तमान तामाङसँग मन्त्रालयमा छलफल गरेका छन्।
सञ्चारमन्त्री डा तिमिल्सिनाले सो गाउँपालिकाको समग्र विकास निर्माणको अवस्था, स्थानीय तहले भोगिरहेका समस्या, नागरिकका गुनासा र अपेक्षाबारे जानकारी लिएका थिए।
उनले स्थानीय तहबाट समस्या र मागलाई प्राथमिकताका आधारमा सम्बोधन गर्दै सङ्घीय सरकारको क्षेत्राधिकारभित्र पर्ने योजनालाई अघि बढाइने प्रतिबद्धता व्यक्त गरे।
सञ्चारमन्त्री डा तिमिल्सिनाले तादी गाउँपालिका–२ मुडुलेडाँडामा नेपाल टेलिकमको टावर तथा नेटवर्क विस्तारलाई जतिसक्दो चाँडो अघि बढाउन निर्देशन दिइसकेको बताउँदै पालिकास्तरीय खानेपानी, सिँचाइ, सडक, स्वास्थ्य, सञ्चार तथा अन्य पूर्वाधार क्षेत्रमा के कस्ता आवश्यकता छन् भन्नेबारे जानकारी प्राप्त हुनासाथ आवश्यक सहजीकरण गर्ने बताए।
उनले वर्षायाममा बाढी र पहिरो नियन्त्रण तथा विपद् व्यवस्थापनका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारले आ–आफ्नो क्षेत्राधिकारभित्र रहेको आवश्यक समन्वय र सहकार्य हुन आवश्यक रहेको बताए।
तत्काल राहत वितरण, जोखिमयुक्त बस्तीको पहिचान तथा स्थानान्तरणका लागि स्थानीय तहले यथार्थ मूल्याङ्कन गरी सहजीकरण गर्नुपर्नेमा जोड दिँदै सञ्चारमन्त्री डा तिमिल्सिनाले भने, “नागरिकले सुविधा पाउनुपर्छ, कुनै पनि नागरिकले असुविधा भोग्नु हुँदैन, त्यसमा स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने भएकाले सोहीअनुसार सहयोगका अपेक्षा गरेको छु।”
उनले तादी गाउँपालिकामा पूर्वाधार निर्माणका लागि आवश्यक योजना पहिचान गरी सङ्घीय सरकारको क्षेत्राधिकारभित्र पर्ने योजना कार्यान्वयनका लागि पहल गरिने बताए।
प्रतिनिधिसभा सदस्य डा तिमिल्सिनाले यसअघि पनि नुवाकोटका विभिन्न स्थानीय तह र सेवा प्रदायक निकायसँग जिल्लाको विकास तथा सेवा प्रवाहका विषयमा छलफल गर्दै आएका छन्। मन्त्री तिमिल्सिना नुवाकोट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका रुपमा रहेका छन्।
उनले गत हप्ता ककनी गाउँपालिकाका समस्या तथा आवश्यकता बारे स्थानीय जनप्रतिनिधिसँग छलफल गर्नुका साथै जिल्लामा विद्युत् आपूर्तिसम्बन्धी समस्या समाधानका लागि नेपाल विद्युत् प्राधिकरण नुवाकोट वितरण सेवा केन्द्रका प्रमुखलगायतसँग पनि छलफल गराएका थिए।
सो अवसरमा अध्यक्ष तामाङले तादी गाउँपालिका–५ स्थित दोर्खुखोला मुहानबाट सठिया, बोरे र बञ्चरे क्षेत्रमा सिँचाइ सुविधा विस्तार गर्न बजेट आवश्यक रहेको भनी सञ्चारमन्त्री डा तिमिल्सिनाको ध्यानाकषर्ण गराएका थिए।-रासस
प्रकाशित: ११ श्रावण २०८३, सोमबार