चीनद्वारा ट्रिप डटकम ग्रुपमाथि ५.२ अर्ब जरिवाना र अवैध आम्दानी जफत

  • Technology Khabar | ११ श्रावण २०८३, सोमबार
चीनद्वारा ट्रिप डटकम ग्रुपमाथि ५.२ अर्ब जरिवाना र अवैध आम्दानी जफत

काठमाडौं ।

चीनले अनलाइन होटल बुकिङ बजारमा एकाधिकार दुरुपयोग गरेको आरोपमा ट्रिप डटकम ग्रुपमाथि ५.२ अर्ब युआन (७७ करोड अमेरिकी डलर) जरिवाना र अवैध आम्दानी जफत गरेको छ।

चीनको बजार नियामकले शनिबार जारी गरेको विज्ञप्तिअनुसार, देशको सबैभन्दा ठूलो अनलाइन यात्रा प्लेटफर्म ट्रिप डटकमले घरेलु अनलाइन होटल बुकिङ बजारमा आफ्नो प्रभुत्वको दुरुपयोग गरेको पाइएको हो।

नियामकका अनुसार ट्रिप डटकमले सबैभन्दा सस्तो मूल्य उपलब्ध गराउने प्रयासमा केही होटलसँग विशेष सम्झौता गर्न ट्राफिक वितरण प्रणाली, प्लेटफर्मका नियम र प्राविधिक उपायहरू प्रयोग गरेको थियो।

स्टेट एडमिनिस्ट्रेसन फर मार्केट रेगुलेसन (एसएएमआर) ले कम्पनीबाट १.६६ अर्ब युआन अवैध आम्दानी जफत गरेको छ भने ३.५२ अर्ब युआन जरिवाना पनि लगाएको रोयटर्सले उल्लेख गरेको छ।

सिट्रिप, स्काइस्क्यानर र क्वनार ब्रान्डको स्वामित्व रहेको ट्रिप डटकमले नियामकको निर्णय स्वीकार गर्दै त्यसको पूर्ण पालना गर्ने जनाएको छ। कम्पनीले नियामकले तोकेका सबै सुधारात्मक उपाय प्रभावकारी रूपमा लागू गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ।

एसएएमआरले ट्रिप डटकमलाई होटल सञ्चालकबाट रोकिएको १२ करोड २० लाख युआन बराबरको बुकिङ धरौटी रकम पनि फिर्ता गर्न आदेश दिएको छ।

नियामकका अनुसार कम्पनीको अभ्यासले होटलहरूको विभिन्न प्लेटफर्ममा सञ्चालन गर्ने र आफ्नै मूल्य निर्धारण गर्ने क्षमता सीमित पारेर प्रतिस्पर्धा र उपभोक्ताको हितमा असर पुर्‍याएको थियो।

रोयटर्सका अनुसार होटलहरूबाट अनुचित सर्त थोपरेको र मूल्यमा हेरफेर गरेको गुनासो आएपछि चीनले जनवरीमा ट्रिप डटकमविरुद्ध प्रतिस्पर्धा विरोधी अनुसन्धान सुरु गरेको थियो।

बेइजिङले इन्टरनेट प्लेटफर्महरूबीचको अनुचित प्रतिस्पर्धा र अत्यधिक मूल्य प्रतिस्पर्धा नियन्त्रण गर्ने प्रयास गरिरहेका बेला यो कारबाही गरिएको हो। अधिकारीहरूका अनुसार यस्ता गतिविधिले व्यवसायलाई असर गर्नुका साथै मूल्य घट्ने दबाब बढाएको छ।

प्रकाशित: ११ श्रावण २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार