एआई र डाटा सेन्टर बिक्रीका कारण नोकियाले दोस्रो त्रैमासमा कमायो उल्लेख्य नाफा

  • Technology Khabar | १० श्रावण २०८३, आईतवार
एआई र डाटा सेन्टर बिक्रीका कारण नोकियाले दोस्रो त्रैमासमा कमायो उल्लेख्य नाफा
फाइल तस्बिर

काठमाडौं ।

नोकियाले दोस्रो त्रैमासिकमा एआई र क्लाउड ग्राहकहरूलाई गरेको बिक्री दोब्बरभन्दा बढी भएको जनाएको छ। कम्पनीका अध्यक्ष तथा सीईओ जस्टिन होटार्डले नोकियाले “एआई सुपरसाइकलबाट अधिकतम लाभ उठाउने” रणनीतिमा ध्यान केन्द्रित गरेको बताएका छन्।

दोस्रो त्रैमासिकमा कम्पनीको बिक्री वार्षिक आधारमा ९ प्रतिशत बढेर ४.८ अर्ब यूरो पुगेको छ भने कुल नाफा १८ प्रतिशतले बढेको छ। नेटवर्क इन्फ्रास्ट्रक्चरको खुद बिक्री १२ प्रतिशतले बढेको छ।

यसमा अप्टिकल नेटवर्क्सको बिक्री २० प्रतिशत र आईपी नेटवर्क्सको बिक्री १६ प्रतिशतले बढेको छ। एआई र क्लाउड ग्राहकहरूबाट आएको खुद बिक्री समग्रमा १०५ प्रतिशतले वृद्धि भएको नोकियाले जनाएको छ।

फिक्स्ड नेटवर्क्सको बिक्री भने २ प्रतिशतले घटेको छ। नोकियाका अनुसार उच्च नाफा हुने उत्पादनमा ध्यान केन्द्रित गर्ने रणनीतिअनुसार उपभोक्ताका लागि प्रयोग हुने फाइबर सम्बन्धी उपकरणको बिक्री घटेकाले यस्तो भएको हो।

टेलिकम्स डटकमका अनुसार मोबाइल इन्फ्रास्ट्रक्चरतर्फ कोर सफ्टवेयर बिक्री १ प्रतिशत र रेडियो नेटवर्क्स बिक्री ७ प्रतिशतले बढेको छ। कम्पनीका अनुसार उत्पादन मिश्रणका कारण वार्षिक आधारमा नाफा स्थिर रह्यो। रेडियो नेटवर्क्सको बिक्री सबै क्षेत्रमा बढेको छ, जसमा एशिया–प्रशान्त क्षेत्र विशेषगरी जापान तथा यूरोप, मध्यपूर्व र अफ्रिका क्षेत्रमा सबैभन्दा धेरै वृद्धि भएको छ।

मोबाइल व्यवसायको सञ्चालन नाफा स्थिर रहे पनि सञ्चालन मार्जिन घटेको छ। कम्पनीले यसको कारण अन्य सञ्चालन आम्दानी तथा खर्चको नकारात्मक प्रभाव र अनुसन्धान तथा विकास (आरएन्डडी) खर्च बढ्नु रहेको जनाएको छ।

ग्राहक आधारतर्फ एआई र क्लाउड कम्पनीहरूबाट सबैभन्दा ठूलो वृद्धि भएको छ। दूरसञ्चार कम्पनीहरूलाई भएको बिक्री सामान्य रूपमा बढ्दा महत्वपूर्ण पूर्वाधार र रक्षा क्षेत्रमा काम गर्ने कम्पनीहरूलाई भएको बिक्री भने केही घटेको छ।

होटार्डले कम्पनीको रणनीतिले परिणाम दिन थालेको बताए। उनका अनुसार दोस्रो त्रैमासिकमा एआई तथा क्लाउडसँग सम्बन्धित अर्डर २.८ अर्ब युरो पुगेको छ भने यस क्षेत्रको बिक्री वार्षिक आधारमा दोब्बरभन्दा बढी भएको छ।

अप्टिकल नेटवर्क्स र आईपी नेटवर्क्स दुवैमा दीर्घकालीन अर्डर प्राप्त भएको उनले बताए। आगामी १२ महिनाभित्र यी अर्डरमध्ये करिब आधा आम्दानीमा परिणत हुने अपेक्षा गरिएको छ। उनका अनुसार माग बलियो रहे पनि आपूर्ति अझै उद्योगको मुख्य चुनौती बनेको छ, जसका कारण ग्राहकहरूले दीर्घकालीन अर्डर गर्न थालेका छन्।

उनले एआईको विकाससँगै भरपर्दो कनेक्टिभिटीको महत्व बढ्दै गएको बताए। नोकियाले हालै उद्योगकै पहिलो व्यावसायिक एआई–आरएएन प्लेटफर्म सार्वजनिक गरेको उल्लेख गर्दै यसले ग्राहकलाई आफ्ना नेटवर्कबाट थप क्षमता प्राप्त गर्न मद्दत गर्ने र सन् २०२८ सम्म स्पेक्ट्रल दक्षतामा १०० प्रतिशतभन्दा बढी सुधार सम्भव हुने दावी गरे।

उनका अनुसार यसको लाभ फाइभजी नेटवर्कमा देखिनेछ र यसले ६जीतर्फ सफ्टवेयरमार्फत स्तरोन्नति गर्ने बाटो पनि उपलब्ध गराउनेछ।

नोकियाको परम्परागत व्यवसायतर्फ रेडियो एक्सेस नेटवर्क (आरएएन) को अवस्था पहिलो त्रैमासिकको तुलनामा सुधारिएको छ। पहिलो त्रैमासिकमा स्थिर रहेको आरएएन बिक्री दोस्रो त्रैमासिकमा बढेको छ। फिक्स्ड नेटवर्क्सको बिक्री अझै घटिरहेको भए पनि पहिलो त्रैमासिकको तुलनामा गिरावट कम भएको कम्पनीले जनाएको छ।

कम्पनीको सबैभन्दा तीव्र वृद्धि एआई र ठूला प्रविधि कम्पनीहरूलाई हुने बिक्रीमा देखिएको छ। एआई तथा क्लाउड ग्राहकहरूबाट बिक्री १०५ प्रतिशतले बढ्नु र यस क्षेत्रका ग्राहकहरूको हिस्सा बढ्दै जानु नोकियाले पछिल्लो समय अपनाउँदै आएको रणनीतिसँग मेल खाने संकेतका रूपमा हेरिएको टेलिकम्स डटकमले उल्लेख गरेकोछ।

यस वर्षको सुरुआतमा नोकियाले एआई सुपरसाइकलका कारण बढ्दो मागलाई लक्षित गर्दै नयाँ अप्टिकल नेटवर्किङ उत्पादनहरूको श्रृंखला सार्वजनिक गरेको थियो। कम्पनीले हालै एआई नेटवर्किङ इनोभेसन ल्याब पनि सुरु गरेको छ, जसले एआई पूर्वाधारका लागि नयाँ पुस्ताका नेटवर्किङ प्रविधिको विकासलाई गति दिने जनाएको छ।

एआई क्षेत्रमा राम्रो आम्दानीको सम्भावनाका कारण नोकियाले यस क्षेत्रमा लगानी बढाइरहेको छ। साथै, रेडियो एक्सेस नेटवर्क बिक्रीमा देखिएको सुधारलाई पनि सकारात्मक संकेतका रूपमा हेरिएको छ।

प्रकाशित: १० श्रावण २०८३, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार