अनलाइन सट्टेबाजी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको आरोपमा चितवनमा एकजना पक्राउ

  • Technology Khabar | ३ श्रावण २०८३, आईतवार
अनलाइन सट्टेबाजी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको आरोपमा चितवनमा एकजना पक्राउ

काठमाडौं ।

अनलाइन सट्टेबाजी र अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) कारोबारमा संलग्न रहेको आरोपमा चितवनमा एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनले कालिका नगरपालिका-६, खोले सिमल बस्ने ४४ वर्षीय नारायण श्रेष्ठलाई प्रहरीले पक्राउ उल्लेख गरेको छ।

प्रहरीका अनुसार श्रेष्ठले अनलाइन सट्टेबाजी तथा क्रिप्टो कारोबार गरिरहेको सूचनाका आधारमा खटिएको टोलीले उनलाई नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा उनीसँग रहेको रेडमी कम्पनीको मोबाइल फोन जाँच गर्दा बेटिङका लागि पैसा लोड/अनलोड गर्न प्रयोग हुने मोबक्यास (Mobcash) नामक मोबाइल एप्लिकेसन भेटिएको प्रहरीले जनाएको छ।

उक्त खातामा ईपिओएस लिमिट रु. २ लाख ७१ हजार ६२९ रुपैयाँ ६९ पैसा, ब्यालेन्स रु. १३ लाख ६२ हजार २० रुपैयाँ ४० पैसा रहेको र पछिल्लो तीन महिनामा रु. ३८ लाख १५ हजार ८५० बराबर कारोबार भएको देखिएको प्रहरीको दाबी छ।

त्यस्तै, श्रेष्ठसँगै फेला परेको एप्पल कम्पनीको अर्को मोबाइल जाँच गर्दा त्यसमा रहेको बाइनान्स एप्लिकेसनमार्फत ३३,१५०.३३ अमेरिकी डलर बराबरको कारोबार देखिएको प्रहरीले जनाएको छ। यसको हालको नेपाली रुपैयाँमा मूल्य करिब रु. ५० लाख १८ हजार ९६९ रुपैयाँ ७४ पैसा बराबर रहेको उल्लेख गरिएको छ।

पक्राउ परेका श्रेष्ठमाथि अभौतिक मुद्रा सञ्चय तथा कारोबार र अनलाइन सट्टेबाजी सम्बन्धी कसुरमा म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्र भुसन यादवले बताएका छन्।

प्रकाशित: ३ श्रावण २०८३, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार