काठमाडौं ।
नेपालमा हाइड्रोजनमा आधारित सवारीसाधनको सुरक्षित, दिगो तथा प्रभावकारी विकास, सञ्चालन र नियमनका लागि आवश्यक नीतिगत, कानुनी तथा प्राविधिक आधार तयार गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सरोकारवालासँग सुझाव मागेको छ।
मन्त्रालयले आज एक सार्वजनिक सूचना जारी गर्दै हाइड्रोजनमा आधारित सवारी प्रविधिलाई नेपालमा व्यवस्थित रूपमा विकास गर्न अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यास, नियामक व्यवस्था, सुरक्षा मापदण्ड, दिशानिर्देश, प्रविधि रूपान्तरणको सम्भावना तथा आवश्यक जनशक्ति विकाससम्बन्धी सुझाव संकलन गर्न लागिएको हो।
यसका लागि विश्वविद्यालय, अनुसन्धान संस्था, व्यावसायिक निकाय, उद्योग, विकास साझेदार, अन्तर्राष्ट्रिय संस्था तथा सम्बन्धित सरोकारवालालाई आफ्नो अध्ययन, अनुसन्धान र व्यावहारिक अनुभवका आधारमा लिखित सुझाव पठाउन मन्त्रालयले आग्रह गरेको छ। सुझाव २०८३ साउन २० गतेसम्म [email protected] वा [email protected] मा पठाउन सकिने मन्त्रालयले जनाएको छ।
मन्त्रालयले विशेषगरी हाइड्रोजनमा आधारित सवारीसम्बन्धी अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यास, नीतिगत तथा कानुनी व्यवस्था, उत्पादन, भण्डारण, ढुवानी, वितरण तथा इन्धन भर्ने पूर्वाधार, सुरक्षा मापदण्ड र सञ्चालनसम्बन्धी दिशानिर्देशमा सुझाव मागेको छ।
त्यस्तै, पेट्रोल तथा डिजेलबाट चल्ने आन्तरिक दहन इन्जिनसहित अन्य सवारीलाई हाइड्रोजन प्रविधिमा रूपान्तरण गर्ने सम्भावना, त्यसका लागि आवश्यक प्रविधि, लागत, सुरक्षा तथा नियामक पक्षबारे पनि सुझाव मागिएको छ।
प्राविधिक जनशक्ति विकास, नियामक निकाय तथा उद्धार एवं आपत्कालीन सेवाको क्षमता अभिवृद्धिसम्बन्धी सुझावसमेत समेट्न मन्त्रालयले अनुरोध गरेको छ।
मन्त्रालयका अनुसार प्राप्त सुझावहरूको अध्ययन तथा विश्लेषणपछि आवश्यकता अनुसार हाइड्रोजनमा आधारित सवारीसाधनसम्बन्धी नीति, कानुनी व्यवस्था, मापदण्ड र कार्यविधि तर्जुमा प्रक्रियामा उपयोग गरिनेछ।
प्रकाशित: १ श्रावण २०८३, शुक्रबार