काठमाडौं ।
चिनियाँ राष्ट्रपति सी चिनफिङले शुक्रबार चीनलाई नयाँ विश्वव्यापी एआई व्यवस्थाको नेतृत्वकर्ता रूपमा प्रस्तुत गर्दै अमेरिकाको प्रभावलाई चुनौती दिएका छन्।
उनले चीनको प्रमुख प्रविधि सम्मेलनमार्फत ओपन–सोर्स प्रविधिको प्रवर्द्धन गर्दै तीव्र रूपमा विकसित भइरहेको एआई क्षेत्रका नियम निर्माणमा चीनको भूमिका बढाउन आह्वान गरे।
सांघाईमा आयोजित विश्व कृत्रिम बुद्धिमत्ता सम्मेलन (डब्लूएआईसी) को उद्घाटन समारोहलाई सम्बोधन गर्दै सीले देशहरूलाई ओपन–सोर्स एआईको “दुर्लभ र ऐतिहासिक अवसर” उपयोग गर्न आग्रह गरे।
उनले विकासशील देशहरूलाई एआई क्षमता विकासमा सहयोग गर्ने प्रतिबद्धता जनाउँदै प्रविधिमा असमान पहुँचका कारण “नयाँ ऐतिहासिक अन्याय” सिर्जना हुन नदिन चेतावनी दिए।
सीको भनाइलाई विश्वव्यापी एआई शासनमा चीनको महत्वाकांक्षाको सबैभन्दा स्पष्ट अभिव्यक्तिका रूपमा हेरिएको छ। उनले चीनका ओपन–सोर्स एआई मोडेललाई विश्वका लागि सार्वजनिक सम्पत्तिका रूपमा प्रस्तुत गर्दै प्रविधि नेतृत्वको प्रतिस्पर्धामा बेइजिङलाई वासिङ्टनको विकल्पका रूपमा उभ्याउने प्रयास गरेका छन्।
एआईको महत्वलाई स्टीम इन्जिन र विद्युत्को आविष्कारसँग तुलना गर्दै सीले चीनले ग्लोबल साउथका देशहरूसँग एआई प्रविधि र विशेषज्ञता साझा गर्ने तथा एआईसम्बन्धी विश्वव्यापी मापदण्ड निर्माणको नेतृत्व गर्ने दृष्टिकोण प्रस्तुत गरे।
उनको सम्बोधनले चीनको एआई गठबन्धनलाई अमेरिकाको नेतृत्वमा रहेको “प्याक्स सिलिका” पहलको प्रतिस्पर्धीका रूपमा प्रस्तुत गर्यो, यद्यपि उनले अमेरिकाको नाम भने लिएनन्।
रोयटर्सका अनुसार यो टिप्पणी चीनका ओपन–वेट एआई मोडेलहरूले ओपनएआई र एन्थ्रोपिकजस्ता अमेरिकी कम्पनीका स्वामित्वयुक्त मोडेलसँग तीव्र प्रतिस्पर्धा गरिरहेका समयमा आएको हो।
बेइजिङस्थित स्टार्टअप मुनशट एआईले शुक्रबार किमि के३ सार्वजनिक गर्दै यसलाई प्यारामिटर संख्याका आधारमा विश्वकै सबैभन्दा ठूलो ओपन एआई मोडेल भएको दावी गरेको छ। यो अमेरिकी सरकारले सुरक्षा चिन्ताका कारण एन्थ्रोपिकका अत्याधुनिक एआई मोडेल फिर्ता लिएपछि करिब एक महिनापछि आएको हो।
सीले एआई प्रणाली मानव नियन्त्रणमै रहनुपर्नेमा जोड दिँदै एआई जोखिम व्यवस्थापनका लागि प्रारम्भिक चेतावनी र आपत्कालीन प्रतिक्रिया संयन्त्र विकास गर्न देशहरूलाई आग्रह गरे। उनले मानव निगरानी र नियन्त्रणबाट बाहिर जान सक्ने स्वायत्त एआई प्रणालीबाट उत्पन्न हुने जोखिमबारे पनि चेतावनी दिए।
सीले चीनले स्थापना गरेको वर्ल्ड एआई कोअपरेसन अर्गनाइजेसन (डब्लूएआईसीओ) मा बिहीबार २९ सदस्य राष्ट्र सहभागी भएको उल्लेख गर्दै यसलाई विश्व एआई विकासको इतिहासमा महत्वपूर्ण उपलब्धि भएको बताए।
उनका अनुसार यसले ग्लोबल साउथका देशहरूको एआई शासनमा बढी सहभागिताको मागलाई सम्बोधन गरेको छ। उनले चीनले ब्रिक्स, आसियान, ल्याटिन अमेरिकी र अफ्रिकी संघका देशहरूसँग एआई तालिम र सहकार्य केन्द्र स्थापना गर्ने पनि बताए।
परामर्श कम्पनी द एसिया ग्रुपका डिजिटल अभ्यास विभागका अध्यक्ष जर्ज चेनले भने, “सीको सन्देश स्पष्ट छ। चीन एआई प्रविधि र मापदण्ड दुवैमा कसैको पछि लाग्ने छैन। बरु चीनले दुवै क्षेत्रमा विश्वको नेतृत्व गर्नेछ।”
उनले थपे, “सीको सन्देश एउटा घोषणा मात्र होइन, चेतावनीका रूपमा पनि लिन सकिन्छ। एआईका विषयमा चीनले के गर्ने भन्ने कुरा कसैले पनि चीनलाई निर्देशन दिन सक्दैन।”
जुलाई १७ देखि २० सम्म चल्ने यो सम्मेलन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनअन्तर्गत अमेरिका र चीनबीच हुने पहिलो सरकारीस्तरको एआई वार्ताको तयारी भइरहेका बेला आयोजना भएको हो। यसले डWAIC लाई उद्योग केन्द्रित सम्मेलनबाट विश्वव्यापी एआई नियम निर्माणमा प्रभावका लागि चीनले कसरी प्रतिस्पर्धा गर्छ भन्ने प्रारम्भिक परीक्षणका रूपमा उभ्याएको छ।
गत साता संयुक्त राष्ट्रसंघमा भएको एआई संवादमा दुवै देशले फरक दृष्टिकोण प्रस्तुत गरेका थिए। अमेरिकी अधिकारीहरूले अत्यधिक नियमनले नवप्रवर्तनमा बाधा पुर्याउन सक्ने बताएका थिए भने चीनले कम लागतका ओपन–सोर्स एआई मोडेललाई एआई पहुँचमा रहेको विश्वव्यापी असमानता घटाउने माध्यमका रूपमा प्रस्तुत गरेको थियो।
डब्लूएआईसीमा चीनका प्रमुख प्रविधि कम्पनीहरूसँगै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस, काजाखस्तानका राष्ट्रपति कासिम–जोमार्ट तोकायेभ र थाइल्यान्डका प्रधानमन्त्री अनुतिन चार्नभिराकुल पनि सहभागी छन्।
प्रकाशित: १ श्रावण २०८३, शुक्रबार