काठमाडौं ।
आन्तरिक राजस्व विभागले राइड सेयरिङ प्लेटफर्ममा आवद्ध भई यातायात तथा ढुवानी सेवा प्रदान गर्ने व्यक्तिले स्थायी लेखा नम्बर (पान) अनिवार्य लिनुपर्ने जनाएको छ।
विभागले राइड सेयरिङ सेवामा आबद्ध भई सेवा प्रदान गर्ने चालक अर्थात राइडरहरूका लागि स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गरेको छ।
सरकारले आर्थिक ऐन, २०८३ ले मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा ७ मा नयाँ व्यवस्था गर्दै राइड शेयरिङमा आबद्ध भएका सबैलाईनिवार्य रूपमा स्थायी लेखा नम्बरको व्यवस्था गरेको छ।
सोहीअनुसार विभागले सूचना जारी गर्दै राइड सेयरिङ अपरेटरको प्लेटफर्ममा आबद्ध हुने सम्पूर्ण व्यक्तिहरूले अनिवार्य रूपमा स्थायी लेखा नम्बर लिएर मात्र कारोबार गर्न गराउन भनेको हो।
यस्तै राइड शेयरिङ प्लेटफर्म अपरेटर भ्याटमा दर्ता भएको हुनुपर्नेछ भने त्यस्तो अपरेटरले राईडरको तर्फबाट ५ प्रतिशत भ्याट सेवाग्राहीसँग संकलन गर्नुपर्नेछ।
यसरी संकलन गरिएको रकम अपरेटरले सरकारलाई अर्को महिनाको २५ गतेभित्र बुझाउनुपर्ने सूचनामा भनिएको छ।
यस बाहेक अपरेटरले आफूले तिर्नु बुझाउनुपर्ने भ्याट अलग्गै तिर्नुपर्नेछ।
आयकर ऐन, २०५८ को दफा ७८ तथा आयकर नियमावली, २०५९ को नियम २३ अनुसार निर्धारणयोग्य आय आर्जन गर्न चाहने व्यक्ति, विभागले स्थायी लेखा नम्बर लिनु पर्ने भनी तोकिएको वा भुक्तानीमा कर कट्टी गर्नुपर्ने जुनसुकै व्यक्तिले त्यस्तो आय आर्जन गर्नु वा कर कट्टी अगावै स्थायी लेखा नम्बर लिनुपर्ने कानुनी व्यवस्था रहेको छ।
यसका साथै राइडरको तर्फबाट संकलन भएको भ्याट प्लेटफर्मले कर कट्टी लिन नपाउने उल्लेख छ।
प्लेटफर्मले यस्तो कर बाहेक राइडरसँगबाट लिन कमिशनमा समेत १३ प्रतिशत भ्याट छुट्टै लिएर सरकारलाई दाखिला गर्नुपर्नेछ।
प्रकाशित: १ श्रावण २०८३, शुक्रबार