पेपल होल्डिङ्स इन्कलाई प्रति शेयर ६०.५० अमेरिकी डलरमा खरिद गर्ने संयुक्त प्रस्ताव
Technology Khabar | १ श्रावण २०८३, शुक्रबार
Loading...
Shares
काठमाडौं ।
भुक्तानी सेवा कम्पनी स्ट्राइप र निजी इक्विटी कम्पनी एडभेन्ट इन्टरनेसनलले पेपल होल्डिङ्स इन्कलाई प्रति शेयर ६०.५० अमेरिकी डलरमा खरिद गर्ने संयुक्त प्रस्ताव पेश गरेका छन्। यस सम्झौताअनुसार पेपालको मूल्य ५३ अर्ब अमेरिकी डलरभन्दा बढी हुने दुई स्रोतले बताएका छन्।
यस महिनाको सुरुआतमा पेश गरिएको प्रस्तावका लागि बैंकहरूबाट करिब ५० अर्ब अमेरिकी डलरको वित्तीय प्रतिबद्धता जुटाइएको तीमध्ये एक स्रोतले जनाएको छ।
यो प्रस्ताव मंगलबार पेपलको बन्द शेयर मूल्यभन्दा करिब २८ प्रतिशत बढी हो। गोप्य छलफल भइरहेकाले स्रोतहरूले आफ्नो नाम सार्वजनिक गर्न अस्वीकार गरेका छन्। पेपाल, स्ट्राइप र एडभेन्टले यस विषयमा टिप्पणी गर्न अस्वीकार गरेका छन्।
स्रोतहरूका अनुसार यो प्रस्ताव अप्रिलको सुरुआतमा गरिएको प्रारम्भिक सम्पर्कपछि आएको हो। स्ट्राइप र एडभेन्टले अहिलेसम्म पेपालबाट कुनै प्रतिक्रिया नपाएको र आगामी केही साताभित्र छलफल अगाडि बढाउने प्रयास गरिरहेको स्रोतहरूले बताएका छन्।
प्रस्तावअनुसार स्ट्राइप र एडभेन्टले पेपललाई विभाजन नगरी संयुक्त रूपमा स्वामित्व लिनेछन् र दुवैले बराबर हिस्सा राख्नेछन्। तर यो प्रस्ताव अन्ततः सम्झौतामा परिणत हुने निश्चित भने छैन। यस समाचारपछि प्रि–मार्केट कारोबारमा पेपालको शेयर मूल्य १६.२ प्रतिशतले बढेको थियो।
सन् १९९० को दशकको अन्त्यतिर स्थापना भएको पेपल डिजिटल भुक्तानी क्षेत्रको प्रारम्भिक कम्पनीमध्ये एक हो। तर उपभोक्ताले वैकल्पिक भुक्तानी माध्यम अपनाउन थालेपछि र एप्पल पे तथा गुगल पे जस्ता प्रतिस्पर्धीले बजार हिस्सा बढाएपछि कम्पनीमाथि प्रतिस्पर्धाको दबाब बढेको रोयटर्सले उल्लेख गरेको छ।
कोभिड–१९ महामारीका क्रममा प्राप्त गरेको धेरैजसो मूल्य कम्पनीले पछिल्ला केही वर्षमा सुस्त वृद्धि र बढ्दो प्रतिस्पर्धाका कारण गुमाएको छ।
कम्पनीको बजार मूल्य सन् २०२१ मा करिब ३६० अर्ब अमेरिकी डलरसम्म पुगेको थियो भने यस वर्ष करिब ३६ अर्ब अमेरिकी डलरसम्म झरेको छ। पछिल्लो १२ महिनामा कम्पनीको बजार मूल्य ४० प्रतिशतभन्दा बढी घटेको छ।
मार्चमा प्रमुख कार्यकारी अधिकृत बनेपछि एनरिके लोरेसले कम्पनीलाई सरल बनाउने र वृद्धिमा केन्द्रित गर्ने व्यापक सुधार योजना सुरु गरेका छन्। अप्रिलमा कम्पनीले आफ्नो कारोबारलाई चेकआउट, उपभोक्ता वित्तीय सेवा भेन्मो, तथा भुक्तानी र क्रिप्टो गरी तीन इकाइमा विभाजन गरेको थियो। साथै व्यवस्थापन तहमा पनि विभिन्न परिवर्तन गरिएको थियो।