नेपाल टेलिकमका पूर्व एमडी सुनिल पौडेलले बाह्र करोड पचहत्तर लाख रुपैयाँ गैर कानूनीरुपमा आर्जन गरेको ठहर

  • Technology Khabar | ३० असार २०८३, मंगलवार
नेपाल टेलिकमका पूर्व एमडी सुनिल पौडेलले बाह्र करोड पचहत्तर लाख रुपैयाँ गैर कानूनीरुपमा आर्जन गरेको ठहर
फाइल तस्विर। नेपाल टेलिकमका तत्कालिन प्रबन्ध निर्देशक सुनिल पौडेल।

काठमाडौं ।

नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक (एमडी) तथा राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालिन कार्यकारी निर्देशक सुनिल पौडेलले अकुत सम्पत्ति कमाएको विशेष अदालतले ठहर गरेको छ।

आज विशेष अदालतका न्यायाधिशहरु सुदर्शनदेव भट्ट हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले पौडेलले बाह्र करोड पचहत्तर लाख सत्तरी हजार दुई सय सैतीस रुपैयाँ त्रिचालिस पैसा गैर कानूनी रुपमा आर्जन गरेको ठहर गरेको हो।

अदालतले पौडेलको आर्जन भन्दा बढि सम्पत्ति देखिएको भन्दै उनले अवैध सम्पत्ति आर्जन गरेकोमा सोही बिगो बमोजिमको जरिवाना तथा २ वर्ष कैद हुने फैसला सुनाएको छ।

“…निजको पदिय हैसियत समेतलाई विचार गरी ठहर भएको कसूरमा उक्त ऐनको दफा १६ ( २ ) र २०(२) बमोजिम निजले गैर कानूनी रुपमा आर्जन गरेको तपसिल खण्डमा उल्लिखित सम्पत्ति र सोबाट बढे बढाएको सम्पत्ति जफत भई निजलाई सोही बिगो बमोजिम रु. १२,७५,७०,२३७ । ४३ (बाह्र करोड पचहत्तर लाख सत्तरी हजार दुई सय सैतीस रुपैयाँ त्रिचालिस पैसा ) जरिवाना र २ (दुई) वर्ष कैद सजाय हुने ठहर्छ । निज कार्यकारीणी पदमा तत्काल कार्यरत रहेको हुँदा सोही ऐनको दफा २४ बमोजिम निजलाई थप ६ (छ) महिना कैद हुने समेत ठहर्छ,” अदालतले संक्षिप्त फैसलामा भनेको छ।

अदालतले पौडेलबाट क्षतिपुर्ति शुल्क एकाउन्न लाख दुई हजार आठ सय नौ रुपैयाँ उन्नपचास पैसा समेत असुल गरी पीडित राहत कोषमा जम्मा गर्नुपर्ने आदेश दिएको छ।

अकुत सम्पत्ति आर्जनको मुद्दामा उनका दाई अनिल पौडेलको हकमा आरोपदाबी नपुग्ने भन्दै अदालतले सफाई दिएको छ।

“२०७५/९/२ मा अंश छोडपत्रको लिखतबाट अंश वण्डा भईसकेको देखिन्छ। त्यसैगरी यी प्रतिवादी अनिल पौडेलले नेपाल इन्भेष्टमेन्ट बैंकबाट मिति २०७८/३/३० मा पारित र.नं. २४३ख च कर्जा को लिखतबाट घरजग्गा खरिद प्रयोजनका लागि रु.३,८०,००,०००।- आवास खर्च लिएको साथै निजको नाममा रहेको का.म.न.पा. वडा नं. ४ को कि.नं. ३१४ र ७९४ को जग्गा तथा घर र. नं. १४४ख मिति २०७८/१/१२ को लिखतबाट रु. ३,८५,००,०००।- मा इसा के.सी.लाई राजिनामा गरिदिएको देखिन्छ,” विशेषको फैसलामा भनिएको छ, “यसरी प्रतिवादी अनिल पौडेलको नाममा खरिद भएको उल्लिखित सम्पत्तिको स्रोत नखुलेको भन्न मिल्ने देखिएन। अतः निज प्रतिवादी अनिल पौडेलको नाममा आरोप दाबीको सम्पत्ति जफत गरी पाउँ भन्ने आरोपदाबी पुग्न सक्दैन ।”

प्रकाशित: ३० असार २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार