एआई स्टार्टअप रिफ्लेक्सनद्वारा कम्प्युटिङ क्षमता सुनिश्चित गर्न नेबियससँग सम्झौता

  • Technology Khabar | ३१ असार २०८३, बुधबार
एआई स्टार्टअप रिफ्लेक्सनद्वारा कम्प्युटिङ क्षमता सुनिश्चित गर्न नेबियससँग सम्झौता

काठमाडौं ।

एआई स्टार्टअप रिफ्लेक्सनले एक अर्ब अमेरिकी डलरभन्दा बढी मूल्यको कम्प्युटिङ क्षमता सुनिश्चित गर्न नेबियससँग सम्झौता गरेको जनाएको छ। सम्झौताअन्तर्गत रिफ्लेक्सनले एनभिडियाका नवीनतम एआई चिपमा पनि पहुँच पाउनेछ।

यो सम्झौता रिफ्लेक्सनले जुन महिनामा स्पेसएक्ससँग गरेको कम्प्युटिङ क्षमता सम्बन्धी सम्झौतापछि आएको हो। सञ्चारमाध्यमका अनुसार उक्त सम्झौताअनुसार कम्पनीले सन् २०२९ सम्म मासिक करिब १५ करोड अमेरिकी डलर तिर्नेछ।

रोयटर्सका अनुसार एआई स्टार्टअपहरू आफ्ना मोडललाई प्रशिक्षण दिन र सञ्चालन गर्न आवश्यक कम्प्युटिङ क्षमता सुनिश्चित गर्न प्रतिस्पर्धामा छन्। व्यवसायहरूले एआईको प्रयोग तीव्र रूपमा बढाइरहेका बेला नयाँ डेटा सेन्टरको आपूर्ति त्यसअनुसार विस्तार हुन सकेको छैन।

गुगल डीपमाइन्डका दुई पूर्व अनुसन्धानकर्ताले स्थापना गरेको रिफ्लेक्सनले ओपन-सोर्स एआई मोडल विकास गर्छ, जसलाई ओपनएआई र एन्थ्रोपिकका मोडलको विकल्पका रूपमा प्रस्तुत गरिएको छ।

ओपन-सोर्स मोडलहरूलाई बन्द संरचनाका मोडलको तुलनामा सजिलै अनुकूल बनाउन सकिने र सञ्चालन लागत पनि कम हुने भएकाले तिनप्रति व्यवसायहरूको रुचि बढ्दै गएको छ। एआई प्रयोगको लागत बढ्दै जाँदा धेरै कम्पनीहरूले खर्च घटाउने उपाय खोजिरहेका छन्। गत महिना अमेरिकाले एन्थ्रोपिकका उन्नत एआई मोडलमा लगाएको प्रतिबन्धले पनि कुनै एक प्रदायकमा निर्भर रहँदा आउने जोखिम उजागर गरेको थियो।

रिफ्लेक्सनका सह-संस्थापक तथा प्रमुख प्रविधि अधिकृत इओआनिस एन्टोनोग्लुले खुला एआई मोडलको आवश्यकता स्पष्ट भइसकेको भन्दै थप कम्प्युटिङ क्षमताले कम्पनीलाई ठूलो स्तरमा अत्याधुनिक एआई मोडल विकास र प्रशिक्षण गर्न सहयोग पुग्ने बताए।

प्रकाशित: ३१ असार २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार