काठमाडौं ।
न्युयोर्क एआई डाटा सेन्टरमा अस्थायी रोक लगाउने पहिलो अमेरिकी राज्य बनेको छ। कृत्रिम बुद्धिमत्ता (एआई) को विस्तारसँगै निर्माण भइरहेका ठूला डेटा सेन्टरले विद्युत् लागत बढाउने, पानीका स्रोतमा दबाब सिर्जना गर्ने र स्थानीय समुदायमा असर पार्ने चिन्ता बढेपछि राज्यले एक वर्षका लागि नयाँ ठूला डेटा सेन्टर निर्माणमा रोक लगाएको हो।
यस निर्णयसँगै एआई पूर्वाधार व्यवस्थापनसम्बन्धी राष्ट्रिय बहसमा न्युयोर्क अग्रपंक्तिमा पुगेको छ। प्रविधि कम्पनीहरू नयाँ डाटा सेन्टर निर्माणमा तीव्र गतिमा अघि बढिरहेका बेला विभिन्न राज्यका सांसद र नियामक निकायहरूले विद्युत् ग्रिड, विद्युत् शुल्क र स्थानीय समुदायमा पर्ने प्रभाव कम गर्ने उपायबारे छलफल गरिरहेका छन्।
न्युयोर्ककी गभर्नर क्याथी होचुलले डाटा सेन्टर विस्तारले विद्युत् शुल्क बढाउने, प्राकृतिक स्रोतको दोहन गर्ने र राज्यवासीका लागि अनिश्चितता सिर्जना गर्ने जोखिम बढेकाले कदम चाल्न आवश्यक भएको बताइन्। उनले ठूला डेटा सेन्टरलाई दिइँदै आएको बिक्री कर छुट हटाउने कानुन पनि अघि बढाउने जानकारी दिइन्।
गभर्नरको कार्यालयका अनुसार ५० मेगावाट वा सोभन्दा बढी विद्युत् खपत गर्ने डेटा सेन्टरमा यो निर्माण प्रतिबन्ध लागू हुनेछ।
रोयटर्सका अनुसार प्रतिबन्ध अवधिभर राज्यको वातावरण संरक्षण विभागले यसअघि पूर्ण भएको मानिएका बाहेक अन्य नयाँ विवेकाधीन अनुमति जारी गर्ने छैन।
यस अवधिमा गभर्नर होचुलले राज्यका अधिकारीलाई जेनरिक इन्भाइरन्मेन्टल इम्प्याक्ट स्टेटमेन्ट(जीईआईएस) तयार गर्न निर्देशन दिएकी छन्। यसमार्फत नयाँ डेटा सेन्टरका लागि समान मापदण्ड तय गरिने र तिनको निर्माण तथा सञ्चालनले वातावरणमा पार्ने सम्भावित प्रभावको अध्ययन गरिनेछ।
राज्यले ती मापदण्ड अन्तिम रूप दिएपछि निर्माण प्रतिबन्ध हटाइने गभर्नरको कार्यालयले जनाएको छ।
गत महिना न्युयोर्कको राज्य विधायिकाले डाटा सेन्टरका लागि कडा नियम लागू गर्ने विधेयक पारित गरेको थियो। तर उक्त विधेयक अझै गभर्नरको हस्ताक्षरका लागि पेश गरिएको छैन। गभर्नरको कार्यालयले विधेयक जटिल रहेको र त्यसबारे राज्य विधायिकासँग थप छलफल आवश्यक रहेको जनाएको छ।
अमेरिकामा डाटा सेन्टरको तीव्र विस्तारले धेरै क्षेत्रमा विद्युत् माग र विद्युत् शुल्क बढाएको भन्दै स्थानीय समुदाय र राजनीतिक तहबाट विरोध भइरहेको छ।
हालै सार्वजनिक भएको रोयटर्स/इप्सोस सर्वेक्षणअनुसार प्रत्येक तीनमध्ये एक अमेरिकीले मात्र डेटा सेन्टर निर्माणको तीव्र गतिलाई समर्थन गरेका छन् भने अधिकांशले आफ्नै समुदायमा डाटा सेन्टर निर्माणको विरोध गर्ने बताएका छन्।
अमेरिकाका दर्जनौँ राज्यले डाटा सेन्टरको विद्युत् र वातावरणीय प्रभाव नियन्त्रण गर्न विभिन्न विधेयक अघि बढाएका छन्। तर पूर्ण रूपमा निर्माणमा अस्थायी रोक लगाउने पहिलो राज्य न्यूयोर्क बनेको छ।
यसअघि अप्रिलमा मेन राज्यकी गभर्नर जेनेट मिल्सले यस्तै प्रकारको प्रतिबन्ध लगाउने विधेयकमा हस्ताक्षर गर्न अस्वीकार गरेकी थिइन्।
न्युयोर्क स्वतन्त्र ग्रिड सञ्चालकको हालैको प्रतिवेदनअनुसार मे महिनासम्म राज्यको विद्युत् ग्रिडमा डाटा सेन्टरलगायत उच्च ऊर्जा खपत गर्ने परियोजनाबाट १२ गिगावाटभन्दा बढी विद्युत् जडानका लागि आवेदन परेको थियो। अमेरिकी ऊर्जा विभागका तथ्यांकअनुसार न्युयोर्कमा आवासीय विद्युत्को खुद्रा मूल्य अमेरिकामा आठौँ सबैभन्दा महँगो छ।
प्रकाशित: ३१ असार २०८३, बुधबार