काठमाडौं ।
श्रम लागतमा कुनै परिवर्तन नभएमा विश्वव्यापी रूपमा थप करिब ५० हजार रोजगारी कटौती गर्नुपर्ने सैद्धान्तिक परिदृश्य रहेको फक्सवागनका कार्यकारी प्रमुख ओलिभर ब्लुमले बताएका छन्।
युरोपको सबैभन्दा ठूलो गाडी उत्पादक कम्पनीले प्रतिस्पर्धीहरूको तुलनामा लागत अन्तर घटाउने प्रयास गरिरहेको छ।
ब्लुमको भनाइलाई उद्धृत गर्दै जर्मन समाचारपत्र ह्यान्डल्सब्लाटले सोमबार लेखेको छ, “श्रम लागतमा कुनै परिवर्तन नहुने सैद्धान्तिक गणनाअनुसार विश्वभर करिब ५० हजार जागिर कटौती हुन सक्छ।”
उनले यो सङ्ख्या लागत तुलनामा आधारित भएको तर अन्तिम निर्णय नभएको स्पष्ट गरे। कम्पनीले कस्ता समायोजन आवश्यक र सम्भव छन् भन्ने निर्धारण गर्नका लागि सबै ब्रान्ड, सहायक कम्पनी र क्षेत्रहरूको मूल्याङ्कन गरिरहेको बताए।
फक्सवागन युरोपमा कमजोर माग, बढ्दो करसम्बन्धी लागत र विद्युतीय गाडीमा सङ्क्रमणको महँगो प्रक्रियाका कारण दबाबमा छ। यी सबैले कम्पनीको नाफालाई प्रभावित बनाएका छन्।
ब्लुमले भने, “कम्पनीको प्रशासनिक तथा पूर्वाधार लागत तुलनात्मक प्रतिस्पर्धीहरूको भन्दा करिब २० प्रतिशत बढी छ।”
गत हप्ता ब्लुमले भोल्क्सवागेनको पर्यवेक्षण बोर्डलाई पुनर्संरचना प्रस्ताव पेस गरेपछि यो टिप्पणी आएको हो। समाचार स्रोतहरूका अनुसार श्रम प्रतिनिधिहरूले यी योजनाहरूलाई रोकेका छन्, जसमा थप जागिर कटौती र जर्मनीका चार कारखानाहरू बन्द गर्ने सम्भावना समेत समावेश गरिएको छ। रासस
प्रकाशित: ३० असार २०८३, मंगलवार