सामाजिक सञ्जालमा आएजस्तो जरिवानाबाट ट्राफिक प्रहरीलाई २५ प्रतिशत सुविधा दिएको दावी असत्य: नेपाल प्रहरी

  • Technology Khabar | ३० असार २०८३, मंगलवार
सामाजिक सञ्जालमा आएजस्तो जरिवानाबाट ट्राफिक प्रहरीलाई २५ प्रतिशत सुविधा दिएको दावी असत्य: नेपाल प्रहरी
राडर गनद्वारा सवारी साधनको मापन हेम्जा(कास्की), १८ असारः कास्कीको पोखरा महानगरपालिका वडा नं २५ हेम्जामा पर्ने भूपी शेरचन मार्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले राडर गनद्वारा बिहीबार दिउँसो सवारी साधनको गति मापन गर्दै। तस्बिरः देवेन्द्र गुरुङ/रासस

काठमाडौं ।

ट्राफिक प्रहरीले सवारी नियम उल्लङ्घन गरेबापत उठाइने जरिवानाको २५ प्रतिशत विशेष भत्ता पाउने गरेको भन्ने दावी नेपाल प्रहरीले असत्य रहेको स्पष्ट पारेको छ।

नेपाल प्रहरी प्रधान कार्यालयले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा ‘ट्राफिक प्रहरीले जरिवाना काटे वापत २५ प्रतिशत विशेष भत्ता प्राप्त गर्छन्’ भन्ने आशयका समाचार र टिप्पणीहरू प्रकाशित तथा प्रसारित भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

प्रहरीका अनुसार ट्राफिक नियम उल्लङ्घन गरेबापत उठाइने सम्पूर्ण जरिवाना रकम सिधै नेपाल सरकारको राजस्व खातामा दाखिला हुने व्यवस्था छ। त्यसबापत ट्राफिक प्रहरी कर्मचारीले कुनै पनि अतिरिक्त शुल्क, सुविधा वा प्रतिशत प्राप्त गर्ने कानुनी व्यवस्था नरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

नेपाल प्रहरीले आधिकारिक तथ्य र जानकारीबिना अनुमानका आधारमा समाचार तथा टिप्पणी प्रकाशित वा प्रसारित गर्दा आम नागरिकमा भ्रम सिर्जना हुने, सार्वजनिक संस्थाप्रतिको विश्वासमा नकारात्मक असर पर्ने तथा प्रशासनिक प्रक्रियालाई अनावश्यक रूपमा विवादित बनाउने अवस्था सिर्जना हुन सक्ने जनाएको छ।

यस्ता अपुष्ट, भ्रमपूर्ण र तथ्यहीन सूचनाको पछि नलाग्न नेपाल प्रहरीले सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा सरोकारवालासँग अनुरोध गरेको छ।

साथै समाचार वा सूचना प्रकाशन तथा प्रसारण गर्नुअघि सम्बन्धित निकायबाट तथ्य पुष्टि गरी जिम्मेवारीपूर्वक सूचना सम्प्रेषण गर्न नेपाल प्रहरीले सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेको छ।

 

प्रकाशित: ३० असार २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार