काठमाडौं ।
गुगलले सोमबार केही नयाँ सुविधाहरू घोषणा गरेको छ। साथै तिनीहरु पहिले नै एन्ड्रोइड र आईओएसमा वेजमा रोल आउट भइसकेको बताइएको छ।
जेमिनी पहिले नै वेजमा “कन्भर्सेसनल रिपोर्टिङ“ को लागि प्रयोग गरिएको छ र त्यसले प्रयोगकर्तालाई प्राकृतिक रूपमा कुरा गरेर ट्राफिक घटनाहरू रिपोर्ट गर्ने सुविधा प्रदान गर्दछ।
अब जेमिनीले प्रयोगकर्तालाई प्राकृतिक भाषा प्रयोग गर्दै सडक बन्द वा आउटडेटेड (पुराना भएका) ठेगानाहरु जस्ता म्याप अपडेटहरूको सुझाव दिनेछ। प्रयोगकर्ताले “यहाँ सडक बन्द छ” जस्तो केही भनेको खण्डमा जेमिनीले वेजको स्थानीय नक्सा सम्पादकहरूलाई विवरणहरू पठाउने र त्यसले सुझाव प्रमाणित गर्दै म्याप अपडेट गर्ने एरिनाईभीले रिपोर्ट गरेको छ।
जेमिनीले प्रयोगकर्तालाई गन्तव्य फेला पार्न मद्दत गर्ने बताइएको छ। प्रयोगकर्ताले नजिकैको खुला कफी पसल, मल नजिक पार्किङ, वा सबैभन्दा कम मूल्य भएको ग्यास स्टेशनको लागि सोध्न नेभिगेट गर्नु अघि सर्च भ्वाइस आइकनमा ट्याप गर्न सक्नेछन्। यो अब एन्ड्रोइड र आईओएसमा विश्वव्यापी रूपमा वेज बीटा परीक्षकहरूमा रोल आउट गरिदैँछ।
त्यसैगरी अर्जेन्टिना, ब्राजिल, कोलम्बिया, मलेसिया, मेक्सिको, पेरु र फिलिपिन्समा वेजले एन्ड्रोइड र आईओएसमा मोटरसाइकल मोड प्राप्त गर्ने भएको छ भने चाँडै नै थप देशहरू पनि थप गरिनेछन्।
यो मोडले “दुई पाङ्ग्रे सवारी साधनका सर्टकट र प्रतिबन्धहरू समावेश गर्न” एआई प्रयोग गर्दछ भने “सवारहरूका लागि कठिन” खाल्डाखुल्डी, स्पिड बम्प, उठेका क्रसवाक र साँघुरो पुलहरू जस्ता खतराहरू पनि देखाउने छ।
वेजको नेभिगेसन अझ व्यक्तिगत हुँदै गइरहेको बताइएको छ। यसले प्रयोगकर्ताको विगतका यात्राहरूको आधारमा मार्गहरूको बारेमा सुझाव दिनेछ। यो सुविधा मन नपरेको खण्डमा भने एपको सेटिङहरूमार्फत बन्द गर्न सकिने छ।
एपले नयाँ “कम कुराकानी” मोड पनि थप्ने भएको छ। यो मोडले भ्वाइस प्रम्प्टहरूको संख्यालाई कम गर्ने र तिनीहरूलाई छोटो राख्नेछ। साथै यो मोडले प्रयोगकर्तालाई खतराहरू, मोड/घुम्तिहरू र लेन परिवर्तनहरूको बारेमा महत्वपूर्ण रिमाइन्डरहरू दिनेछ।
प्रकाशित: ३० असार २०८३, मंगलवार