डोकोमोको स्टारलिंक डाइरेक्ट टू डिभाइस सेवाका प्रयोगकर्ता ५० लाख पुगे

  • Technology Khabar | ३० असार २०८३, मंगलवार
डोकोमोको स्टारलिंक डाइरेक्ट टू डिभाइस सेवाका प्रयोगकर्ता ५० लाख पुगे

काठमाडौं ।

जापानको एनटीटी डोकोमोको सिधै मोबाइलमा स्याटेलाइटमार्फत सेवा दिने (डाइरेक्ट टू डिभाइस/डीटूडी) सेवा सुरु भएको दुई महिनाभन्दा केही बढी समयमै ५० लाख प्रयोगकर्तासम्म पुगेको छ।

जापानी दूरसञ्चार कम्पनीले यस उपलब्धिलाई सकारात्मक रूपमा प्रस्तुत गरेको छ। तर डोकोमो स्टारलिंक डाइरेक्ट नामको यो सेवा हाल निःशुल्क उपलब्ध छ। विश्लेषकहरूको प्रारम्भिक तथ्यांकले भने डीटूडी सेवामा शुल्क लाग्न थालेपछि यसको प्रयोग घट्ने देखाएको छ।

एनटीटी डोकोमोले स्टारलिंकसँगको साझेदारीमा अप्रिलको अन्त्यतिर डोकोमो स्टारलिंक डाइरेक्ट सेवा सुरु गरेको थियो। विश्वका अन्य डीटूडी सेवाजस्तै यो सेवा मोबाइल नेटवर्क नपुग्ने क्षेत्रमा लक्षित छ।

विशेषगरी आपतकालीन सेवासँग सम्पर्क गर्न तथा नक्सा, स्थान र मौसमसम्बन्धी एप प्रयोग गर्न सकिने भएकाले दुर्गम क्षेत्रमा जाने प्रयोगकर्तालाई उपयोगी हुने कम्पनीले जनाएको छ। जापानमा यसमा पहाडी क्षेत्र, टाढाका टापु तथा समुद्री क्षेत्र समावेश छन्।

यो सेवा डोकोमोका सबै मोबाइल योजनाका ग्राहकका लागि उपलब्ध छ। विमान यात्राका लागि बनाइएका योजनामा भने यो सुविधा उपलब्ध छैन। हाल यो सेवा निःशुल्क प्रयोग गर्न सकिन्छ।

डोकोमोले डीटूडी सेवाको वास्तविक प्रयोग कति भइरहेको छ भन्नेबारे कुनै विवरण सार्वजनिक गरेको छैन। तर, अन्य बजारमा यसअघि सुरु भएका यस्तै सेवाहरूको प्रयोगबारे केही स्पष्ट प्रवृत्ति देखिएको छ।

टेलिकम्स डटकमका अनुसार जापानमा डोकोमो स्टारलिंक डाइरेक्ट सुरु भएकै समयमा अमेरिकाको टी–मोबाइलले आफ्नो टी-स्याटेलाइट सेवाको प्रयोग अपेक्षाभन्दा कम भएको जनाएको थियो।

डाइरेक्ट–टु–डिभाइस सेल स्याटेलाइट डीटूडी भोडाफोन
च्याटजीपीटीको सहयोगमा बनाइएको सांकेतिक तस्बिर

कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रीनी गोपालनले पहिलो त्रैमासिक आम्दानी सार्वजनिक गर्ने क्रममा सेवा सुरु भएको झन्डै एक वर्षपछि पनि प्रयोग अपेक्षाअनुसार नबढेको बताए।

उनका अनुसार अधिकांश प्रयोग राष्ट्रिय निकुञ्जमा भएको छ, जसले प्रयोगकर्ताले दुर्गम क्षेत्रमा पुगेपछि आवश्यक परेको बेला मात्र डीटूडी सेवा प्रयोग गर्ने संकेत गर्छ।

यसले यो सेवा उपयोगी भएको देखाए पनि धेरै मानिसका लागि ठूलो परिवर्तन ल्याउने वा दूरसञ्चार कम्पनी र स्याटेलाइट साझेदारका लागि ठूलो आम्दानीको स्रोत बन्ने सम्भावना कम देखिएको छ।

टी–मोबाइलको अनुभव अप्रिलमै परीक्षण तथा विश्लेषण कम्पनी ओक्लाले सार्वजनिक गरेको तथ्यांकसँग पनि मेल खान्छ। नयाँ सेवा सुरु भएका बजारमा डीटूडी प्रयोगकर्ता बढिरहेका छन्। तर, लामो समयदेखि सेवा उपलब्ध रहेका बजारमा प्रारम्भिक निःशुल्क अवधि सकिएपछि धेरै ग्राहकले सेवा प्रयोग गर्न छाड्ने गरेको तथ्यांकले देखाएको छ।

निःशुल्क हुँदा नयाँ सेवा प्रयोग गर्न धेरै मानिस इच्छुक हुने भए पनि मासिक करिब १० अमेरिकी डलर शुल्क लागेपछि धेरैले यसको आवश्यकता नरहेको निष्कर्ष निकाल्ने गरेको देखिएको छ। उत्तर अमेरिकाका अधिकांश दूरसञ्चार कम्पनीले यही स्तरको शुल्क निर्धारण गरेका छन्।

डोकोमोले भविष्यमा यो सेवाको शुल्कबारे कुनै जानकारी दिएको छैन। कम्पनीले कुनै समयमा डोकोमो स्टारलिंक डाइरेक्टमा शुल्क लगाउने सम्भावना रहेको मानिन्छ। तर मासिक शुल्क लिने वा आवश्यक परेको बेला मात्रै शुल्क तिर्न सकिने लचिलो योजना ल्याउने भन्नेबारे अझै स्पष्ट छैन।

यो प्रश्न डीटूडी बजारमा रहेका सबै दूरसञ्चार कम्पनीका लागि महत्वपूर्ण बनेको छ। शुल्क योजना सार्वजनिक गरिसकेका कम्पनीहरूले पनि बजार परिपक्व भएपछि आफ्नो मोडेल परिवर्तन गर्न सक्छन्।

जुनिपर रिसर्चले हालै डीटूडी सेवाको प्रयोग मौसमअनुसार धेरै फरक हुने र समग्र प्रयोग अपेक्षाभन्दा कम रहने सम्भावना भएकाले अस्थायी पहुँच दिने मोडेलबारे विचार गर्न दूरसञ्चार कम्पनीलाई सुझाव दिएको छ।

अनुसन्धान संस्थाले डीटूडी सेवाका प्रयोगकर्ता सन् २०३१ सम्म १३ करोड ३० लाख पुग्ने अनुमान गरेको छ। यो वर्ष भने मासिक सक्रिय प्रयोगकर्ता १ करोड ७४ लाख रहने प्रक्षेपण गरिएको छ।

९ करोडभन्दा बढी मोबाइल ग्राहक रहेको डोकोमोजस्तो ठूलो कम्पनीले नयाँ प्रयोगकर्ता थप्न सक्ने भएकाले यस्तो लक्ष्य हासिल गर्न सकिने देखिन्छ। तर डीटूडी सेवाबाट प्रभावकारी रूपमा आम्दानी गर्न सकिन्छ वा सकिँदैन भन्ने नै सबैभन्दा ठूलो प्रश्न रहनेछ।

प्रकाशित: ३० असार २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार