प्रधानमन्त्री बालेनविरुद्ध गालीगलौजपूर्ण कन्टेन्ट बनाउने युट्युबर जेल चलान

  • Technology Khabar | २३ असार २०८३, मंगलवार
प्रधानमन्त्री बालेनविरुद्ध गालीगलौजपूर्ण कन्टेन्ट बनाउने युट्युबर जेल चलान

काठमाडौं ।

प्रधानमन्त्री बालेन्द्र शाहलाई लक्षित गर्दै युट्युब तथा सामाजिक सञ्जालमार्फत अपमानजनक तथा गालीगलौजपूर्ण सामग्री प्रसारण गरेको आरोपमा पक्राउ परेका युट्युबर रोशन पोखरेल पुर्पक्षका लागि कारागार चलान भएका छन्।

पाँचथरको फाल्गुनन्द गाउँपालिका–७, दोबाटेका पोखरेललाई जिल्ला अदालत पाँचथरले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । उनलाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत पक्राउ गरेर मुद्दा दायर  गरिएको थियो।

जिल्ला अदालत पाँचथरका श्रेस्तेदार राजकुमार निरौलाका अनुसार न्यायाधीश कुमार मास्केको इजलासले पोखरेललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।

जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दायर गरेसँगै अदालतले उनलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो।

अभियोगपत्रमा प्रधानमन्त्री शाह तथा उनको परिवारको मान, सम्मान र प्रतिष्ठामा आँच पुग्ने गरी अपमानजनक र अमर्यादित शब्द प्रयोग गरिएका भिडियो, स्टाटस तथा अन्य सामग्री युट्युब, फेसबुक, इन्स्टाग्राम र टिकटकमार्फत प्रसारण गरेको आरोप उल्लेख गरिएको छ।

प्रहरीले पोखरेललाई २०८२ चैत २६ गते पक्राउ गरेको थियो। युट्युबमार्फत गालीगलौजयुक्त सामग्री प्रसारण गरेको आरोपमा उनलाई पक्राउ गरेको थियो।

चर्को आलोचनाका बीच प्रहरीले चैत २९ गते उनलाई परिवारको जिम्मा लगाएर रिहा गरेको थियो।

प्रकाशित: २३ असार २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

सबै सामुदायिक विद्यालयमा स्मार्ट बोर्ड

  • Technology Khabar
  • २३ असार २०८३, मंगलवार