यी हुन् दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदका लागि सङ्क्षिप्त सूचीमा परेका योग्य उम्मेदवारहरु

  • Technology Khabar | १९ असार २०८३, शुक्रबार
यी हुन् दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदका लागि सङ्क्षिप्त सूचीमा परेका योग्य उम्मेदवारहरु

काठमाडौं ।

सरकारले आवेदन दिनेहरुको नाम प्रकाशित गरेको करिब डेढ महिनापछि नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष र सदस्य पदका आवेदकहरुलाई अन्तरवार्तामा बोलाएको छ।

सूचना तथा सञ्चार मन्त्रालयले गत बैशाखमा माग गरेको नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष र सदस्य पदका लागि आवेदनको बल्ल करिब २ महिनापछि व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताको समय तोकेको हो।

मन्त्रालयले सार्वजनिक गरेको सूचनाअनुसार दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदमा मनोनयनका लागि सङ्क्षिप्त सूचीमा परेका उम्मेदवारहरू तथा सदस्य पदको लागि सूचीमा परेकाहरुको छुट्टाछुट्टै व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ता कार्यक्रम तोकेको छ।

मन्त्रालयले आवेदन दिएका ३२ जनामध्ये केबल ९ जनालाई मात्र सङ्क्षिप्त सूचीमा राखेर व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि बोलाएको छ।

यसरी सङ्क्षिप्त सूचीमा परेका उम्मेद्वारहरुमा अर्जुन घिमिरे, अनन्त मान सिंह, अनिल कुमार झा, अमलेन्दु नारायण सिंह, जनार्दन भट्ट, मधु सुदन दाहाल, सनाउल्लाह खान, राजिब सुब्बा र सुशिल प्रसाद साह रहेका छन्।

उनीहरुलाई असार २४ गतेको लागि तोकिएको समय र स्थानमा व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि बोलाईएको हो।

मन्त्रालयकाअनुसार, उम्मेदवारले आफ्नो लागि तोकिएको समयभन्दा ३० मिनेट अगाबै ब्याबसायिक कार्ययोजना प्रस्तुतीकरणको सफ्टकपी र आवेदनसाथ पेश गरिएका सम्पूर्ण कागजातहरुको सक्कल प्रतिसहित उपस्थित हुनुपर्नेछ ।

यस्तै रोजगार सम्बन्धी अनुभव पेश गरेकाहरुको हकमा सम्बन्धित रोजगारदाता निकायले प्रदान गरेको अनुभवको सक्कल प्रमाणपत्र सहित उपस्थित हुनुपर्नेछ भने व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताको दिन सार्वजनिक बिदा पर्न गएमा समेत उक्त कार्यक्रम यथावत् सञ्चालन हुने जनाएको छ।

प्रकाशित: १९ असार २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...