यूसिम वा ई–सिममा अपग्रेड गर्न ग्राहकहरुलाई एनसेलको आग्रह

  • Technology Khabar | १७ असार २०८३, बुधबार
यूसिम वा ई–सिममा अपग्रेड गर्न ग्राहकहरुलाई एनसेलको आग्रह

काठमाडौं ।

चौथो पुस्ताको मोबाइल सेवा अर्थात् फोरजी प्रयोग गर्न मिल्ने मोबाइल फोन भए पनि हालसम्म यूसीम नभएका ग्राहकलाई सिम अपग्रेड गर्न एनसेलले आग्रह गरेको छ।

कम्पनीले आज एक सूचना सार्वजनिक गर्दै फोरजी सेवा प्रयोग गर्न सक्ने मोबाइल फोन प्रयोग गरिरहेका तर यूसीम नभएका ग्राहकलाई सेवा उपयोग गर्न आवश्यक जानकारी गराउँदै साधारण सिमलाई यूसीम वा ई–सिममा अपग्रेड गर्न अनुरोध गरेको हो।

नेपाल दूरसञ्चार प्राधिकरणको अनुरोधअनुसार ग्राहकलाई सेवाको लाभ प्रदान गर्न यस्तो जानकारी जारी गरिएको एनसेलले जनाएको छ।

एनसेलका अनुसार यूसीम वा ई–सिममा अपग्रेड गरेपछि ग्राहकले उच्च गुणस्तरको भ्वाइस सेवा तथा तीव्र गतिको मोबाइल डाटा सेवाको लाभ लिन सक्नेछन्।

एनसेलका अनुसार कम्पनीका हाल १ करोड ४१ लाख सक्रिय ग्राहक छन्, जसमध्ये ०.७ प्रतिशत ग्राहकले अझै थ्रीजी सेवा प्रयोग गरिरहेका छन्।

फोरजी सेवाको पहुँच विस्तार र उच्च गतिको मोबाइल ब्रोडब्यान्ड सेवाको बढ्दो प्रयोगसँगै थ्रीजी सेवाको आवश्यकता निरन्तर घट्दै गएको छ। यही कारणले एनसेल र नेपाल टेलिकम दुवैले थ्रीजी सेवा चरणबद्ध रूपमा बन्द गर्दै गएका छन्।

आँकडा अनुसार ८६ प्रतिशत ग्राहकसँग फोरजी सपोर्ट गर्ने मोबाइल उपकरण उपलब्ध छन्। तर अझै झण्डै ५ लाख ५० हजार फोरजी मोबाइल प्रयोग गर्ने ग्राहकले फोरजी चलाउनका लागि यूसीम वा ई–सीम लिएका छैनन्।

त्यसैगरी करिब ०.६ प्रतिशत ग्राहकले थ्रीजी सपोर्ट गर्ने मोबाइल प्रयोग गर्ने गरेका पाइएको छ।

चौथो पुस्ताको प्रविधि भएकोले फोरजीमा गुणस्तरीय भ्वाइसका साथै डाटा सेवा पाइन्छ । देशको झण्डै ९५ प्रतिशत जनसंख्यामाझमा यो सेवाको विस्तार गरिसकेको कम्पनीको दावी छ।

पछिल्लो समय आम ग्राहकलाई नयाँ प्रविधिको सेवा प्रदान गर्नका लागि एनसेलले थ्रीजी सेवा विस्तारै बन्दै गर्दै लगेको छ। यसै योजना अन्तर्गत एनसेलले यहि असार २२ गतेबाट पाँच प्रदेशका १३ जिल्लाका विभिन्न स्थानीय तहहरुमा थ्रीजी बन्द गर्दै छ।

एनसेलका अनुसार प्रयोगकर्ताले *१२३*११# डायल गरी फोरजी प्रविधिमा आधारित भोल्टे सेवा सक्रिय गर्न सक्छन्। यसका लागि फोरजी चल्ने मोबाइल र यूसीम लिन आवश्यक छ।

भोल्टे सक्रिय भएपछि ग्राहकहरुले आफ्नो मोबाइल फोनको भोल्टे सेटिङ्मा भोल्टे अन गर्नुपर्ने हुन्छ। आफ्नो फोरजी नेटवर्क मार्फत देशैभर भोल्टे सेवा पुर्याइसकेको एनसेलले जनाएको छ।

प्रकाशित: १७ असार २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...