काठमाडौं ।
नासाको पर्सिभरेन्स रोभरले संकलन गरेको नयाँ तथ्याङ्कले मंगल ग्रहमा म्याक्रोमोलिक्युलर कार्बन रहेको पुष्टि गरेको छ। यो जीवनको खोजीमा अर्को महत्त्वपूर्ण संकेत हुन सक्ने वैज्ञानिकहरूको भनाइ छ।
अनुसन्धानकर्ताहरूले मंगल ग्रहको भूगर्भीय इतिहासबारे नयाँ प्रमाण फेला पारेका छन्, जसले कुनै समय त्यहाँ जीवन रहेको हुन सक्ने सम्भावनालाई बल दिएको छ।
पर्सिभरेन्स रोभरले जेजेरो क्रेटरका माटोयुक्त चट्टानहरूमा जटिल प्रकारको कार्बन फेला पारेको छ। कार्बन सबै ज्ञात जीवहरूको आधारभूत रासायनिक तत्व हो। यो मंगल ग्रहमा अहिलेसम्म फेला परेको जैविक अणुको सबैभन्दा उच्च मात्रा भएको बताइएको छ।
कार्बनको उपस्थिति मात्रले मंगल ग्रहमा जीवन थियो भन्ने प्रमाण नदिए पनि यो भेटिएको स्थानले अनुसन्धानलाई थप रोचक बनाएको छ। यो म्याक्रोमोलिक्युलर कार्बन नासाले सन् २०२५ मा सार्वजनिक गरेका सम्भावित जैविक संकेत नजिकै फेला परेको हो।
यसले कुनै समय मंगल ग्रहको सतहमा सूक्ष्मजीवहरू बसोबास गरेको हुन सक्ने सम्भावनालाई थप बल दिएको छ। यो अध्ययन जुन २४ मा साइन्स एडभान्सेस जर्नलमा प्रकाशित भएको हो।
लाइभसाइन्सका अनुसार पर्सिभरेन्स रोभर सन् २०२१ फेब्रुअरी १८ मा जेजेरो क्रेटरमा अवतरण गरेको थियो। त्यसयता यो क्षेत्र मंगल ग्रहको सबैभन्दा महत्त्वपूर्ण भूगर्भीय अध्ययनस्थलमध्ये एक बनेको छ। अनुसन्धानकर्ता एश्ली मर्फीका अनुसार जेजेरो क्रेटरमा कुनै समय नदीहरूले पानी र तलछट ल्याउँथे र अर्बौं वर्षअघि त्यहाँ एउटा ताल थियो।
यसअघि नेचर जर्नलमा प्रकाशित एक अध्ययनले जेजेरोको ब्राइट एन्जेल नामक क्षेत्रमा रहेका केही चट्टानमा माटो र पृथ्वीमा जीवाश्म संरक्षण गर्न सक्ने खनिजहरू रहेको देखाएको थियो।
विशेषगरी ‘चेयाभा फल्स’ नाम दिइएको चट्टानको एउटा नमुनामा पृथ्वीका सूक्ष्मजीवले छोड्ने ढाँचासँग मिल्दोजुल्दो आकृति भेटिएको थियो। यद्यपि ती आकृति जैविक नभई अन्य प्राकृतिक प्रक्रियाबाट पनि बनेका हुन सक्ने वैज्ञानिकहरूले बताएका थिए।
नयाँ अध्ययनले ब्राइट एन्जेल क्षेत्र वरिपरिका चट्टान र तलछटमा जटिल कार्बन अणु व्यापक रूपमा रहेको पुष्टि गरेको छ। अनुसन्धानकर्ताहरूले रोभरमा रहेको एसएचईआरएलओसी उपकरण प्रयोग गरेर कार्बनको वितरण अध्ययन गरेका थिए।
त्यसलाई नासाको क्युरियोसिटी रोभरले करिब ३,७०० किलोमिटर टाढाको गेल क्रेटरबाट संकलन गरेको तथ्यांकसँग तुलना गरिएको थियो। यसले प्राचीन मंगल ग्रहमा पानी व्यापक रूपमा रहेको हुन सक्ने संकेत दिएको छ।
अनुसन्धान टोलीले फेला परेको कार्बन धेरै क्षय नभएको पनि पत्ता लगाएको छ, जसले यो हालै मात्र सतहमा आएको हुन सक्ने देखाउँछ। तर यो कार्बन जीवनसँग सम्बन्धित हो वा होइन भन्ने निष्कर्ष निकाल्न भने अझै सम्भव नभएको वैज्ञानिकहरूले बताएका छन्।
मर्फीका अनुसार मंगल ग्रहमा म्याक्रोमोलिक्युलर कार्बन भेटिनु त्यहाँ जीवन थियो भन्ने प्रमाण होइन। यी अणु जीवाश्म बनेका सूक्ष्मजीवबाट उत्पन्न भएका हुन सक्छन् भने उल्कापिण्डको ठक्कर वा बग्ने पानीजस्ता जैविक नभएका प्रक्रियाबाट पनि बनेका हुन सक्छन्।
यसको वास्तविक उत्पत्ति पत्ता लगाउन मंगल ग्रहबाट चट्टानका नमुना पृथ्वीमा ल्याएर प्रत्यक्ष अध्ययन गर्नुपर्ने हुन्छ। तर त्यो सम्भावना अहिले अनिश्चित बनेको छ।
चेयाभा फल्सको नमुना सन् २०३० को दशकमा नासा र युरोपेली अन्तरिक्ष एजेन्सीको संयुक्त ‘मार्स स्याम्पल रिटर्न’ अभियानमार्फत पृथ्वीमा ल्याउने योजना थियो। तर सन् २०२६ को बजेट प्रस्तावमा ट्रम्प प्रशासनले उक्त परियोजनालाई आर्थिक रूपमा असम्भव भन्दै बजेट कटौतीको प्रस्ताव गरेपछि यो परियोजना अहिले रोकिएको अवस्थामा छ।
अब मंगल ग्रहबाट नमुना पृथ्वीमा ल्याउने पहिलो अवसर चीनले पाउन सक्ने सम्भावना रहेको छ। चीनको तियानवेन–३ अभियानले सन् २०२८ भन्दा अगाडि नहुने गरी प्रक्षेपण गर्ने योजना बनाएको छ। उक्त अभियानले पर्सिभरेन्सले अध्ययन गरेको स्थानभन्दा कम सम्भावनायुक्त तर नमुना सङ्कलन गर्न सजिलो क्षेत्रमा नमुना सङ्कलन गर्ने लक्ष्य राखेको छ।
प्रकाशित: १५ असार २०८३, सोमबार