सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की

  • Technology Khabar | १३ असार २०८३, शनिबार
सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की

काठमाडौं ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रेस तथा सञ्चार क्षेत्रलाई उपेक्षा गरेर नागरिक स्वतन्त्रता स्थापित हुन नसक्ने बताएका छन्।

नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशले शुक्रबार विराटनगरमा आयोजना गरेको ‘कोशी मिडिया सम्मेलन’को उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले लोकतन्त्रको सुदृढीकरण, नागरिक अधिकारको संरक्षण तथा सुशासन प्रवर्द्धनका लागि सञ्चारमाध्यम र सञ्चारकर्मीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे। उनले लोकतन्त्रको मूल मर्म नै फरक विचार, विरोध र आलोचनालाई सम्मान गर्नु रहेको उल्लेख गर्दै विरोध तथा आलोचना लोकतन्त्रको सुन्दर पक्ष भएको बताए।

सत्य र तथ्यमा आधारित, जिम्मेवार तथा मर्यादित पत्रकारिताले लोकतान्त्रिक प्रणालीलाई अझ बलियो बनाउने मुख्यमन्त्री कार्कीले विश्वास व्यक्त गरे। आगामी साउन १ गतेदेखि कोशी प्रदेश सरकारले सबै सञ्चार माध्यमलाई समान रूपमा विज्ञापन प्राप्त गर्ने हक र अवसर सुनिश्चित गर्ने नीति कार्यान्वयनमा ल्याउने उनले जानकारी दिए। प्रेस क्षेत्रलाई बेवास्ता गरेर अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारको पूर्ण प्रत्याभूति सम्भव नहुने उनको भनाइ थियो।

लोकतन्त्र नेपाली समाजको संस्कृतिका रूपमा स्थापित भइसकेकाले यसलाई कसैले पनि समाप्त गर्न नसक्ने मुख्यमन्त्री कार्कीले जिकिर गरे। जनताको सङ्घर्ष, भावनाद्धारा स्थापित लोकतान्त्रिक व्यवस्थालाई थप सुदृढ बनाउन सञ्चार जगतले पनि आफ्नो मर्यादा, निष्पक्षता र व्यावसायिक आचारसंहितालाई आत्मसात् गर्नुपर्नेमा उहाले जोड दिए।

मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले आगामी साउन महिनादेखि आवश्यक बजेट र कार्यविधिसहित सञ्चार प्रतिष्ठान गठन गर्ने तयारी पूरा गरेको जानकारी दिँदै यसबाट पत्रकार तथा सञ्चार क्षेत्रको संस्थागत विकास र क्षमता अभिवृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

सम्मेलनका अवसरमा नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष विष्णु निष्ठुरी, डा महेन्द्र विष्ट र शिव गाउँलेलाई पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानको कदर स्वरूप सम्मान गरिएको थियो।  महासङ्घका महासचिव रामप्रसाद दाहालले ‘पत्रकार आचारसंहिता र मर्यादित पत्रकारिता’ तथा महासङ्घ कोशी प्रदेशका पूर्वअध्यक्ष मोहन काजीले ‘कोशी प्रदेशका पत्रकारको अवस्था’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए।

प्रकाशित: १३ असार २०८३, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...