भारतमा एआई र क्लाउड पूर्वाधार विस्तार गर्न थप १३ अर्ब डलर लगानी गर्दै अमेजन

  • Technology Khabar | १२ असार २०८३, शुक्रबार
भारतमा एआई र क्लाउड पूर्वाधार विस्तार गर्न थप १३ अर्ब डलर लगानी गर्दै अमेजन

काठमाडौं ।

अमेजनले भारतमा आफ्नो एआई र क्लाउड पूर्वाधार विस्तार गर्न सन् २०३० सम्म थप १३ अर्ब डलर लगानी गर्ने बिहीबार घोषणा गरेको छ। यो नयाँ लगानी गत वर्ष घोषणा गरिएको ३५ अर्ब डलरको योजनाबाहेकको हो। यससँगै सन् २०३० सम्म भारतमा अमेजनको कुल लगानी ४८ अर्ब डलर पुग्नेछ।

रोयटर्सका अनुसार यो घोषणा अमेजनका प्रमुख कार्यकारी अधिकृत एन्डी ज्यासी र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच बिहीबार नयाँ दिल्लीमा भएको भेटपछि आएको हो।

ज्यासीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “एआई र क्लाउड पूर्वाधारमा २१ अर्ब डलरभन्दा बढी सहित आगामी पाँच वर्षमा ४८ अर्ब डलर लगानी गर्ने योजना साझा गरियो।” कम्पनीका अनुसार थप १३ अर्ब डलरको लगानीले मुम्बई र हैदराबाद क्षेत्रमा एआई तथा क्लाउड पूर्वाधार विस्तार गर्न सहयोग गर्नेछ।

अमेरिकाका प्रमुख प्रविधि कम्पनीहरूले भारतमा अर्बौं डलर लगानी गरिरहेका छन्, जसले क्लाउड, एआई र गहिरो प्रविधि विकासका लागि भारत एक रणनीतिक केन्द्रका रूपमा उदाइरहेको संकेत गर्छ।

माइक्रोसफ्टले भारतमा एआई र क्लाउड पूर्वाधारका लागि १७.५ अर्ब डलर लगानी गर्ने प्रतिबद्धता जनाएको छ भने गुगलले आगामी पाँच वर्षमा एआई डाटा सेन्टर निर्माणका लागि १५ अर्ब डलर लगानी गर्ने योजना सार्वजनिक गरेको छ।

प्रकाशित: १२ असार २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार