काठमाडौं ।
विश्वका कुल फाइभजी जडान मध्ये ४० प्रतिशत चीनमा रहेका पाइएको छ। चीनमा फाइभजी अपनाउने दर ६५ प्रतिशत पुगेको छ हालै आएको एउटा नयाँ विश्लेषणले देखाएको छ।
जीएसएमएको नयाँ प्रतिवेदन द मोबाइल इकोनोमी इन चाइना २०२६ अनुसार आगामी केही वर्षमा अन्य देशहरूले पनि फाइभजी विस्तारलाई तीव्र बनाउने भएकाले विश्व बजारमा चीनको हिस्सा केही घट्नेछ।
तर पनि सन् २०३० सम्म चीनमा १.८ अर्ब फाइभजी जडान हुने अनुमान गरिएको छ। त्यसबेला पनि यो संख्या विश्वका कुल फाइभजी जडानको ३० प्रतिशतभन्दा बढी हुनेछ।
प्रतिवेदन अनुसार त्यसको एक दशकपछि चीनले विश्वव्यापी सिक्सजी जडानमा पनि यस्तै हिस्सा कायम राख्न सक्छ। चीन सिक्सजी विस्तारको अग्रपंक्तिमा रहने सम्भावना छ। गत महिना सरकारले सिक्स गिगाहर्ज परीक्षण फ्रिक्वेन्सी स्वीकृत गरेको थियो, जसले अनुसन्धान तथा प्राविधिक परीक्षणलाई अघि बढाउन मद्दत गर्नेछ।
जीएसएमएले सन् २०४० सम्म विश्वभर ५ अर्बभन्दा बढी सिक्सजी जडान हुने अनुमान गरेको छ, जुन कुल मोबाइल जडानको करिब आधा हुनेछ। त्यसमध्ये चीनको हिस्सा १.६ अर्ब जडान हुने अपेक्षा गरिएको छ।
यसबीच फाइभजी-एडभान्स्ड प्रविधि पनि विस्तारको चरणमा छ। हालसम्म यसको विस्तार अपेक्षाअनुसार हुन नसकेको मानिन्छ र चीनमा समेत कुल जनसंख्याको तुलनामा प्रयोगकर्ताको संख्या धेरै ठूलो छैन।
हाल चीनको मुख्यभूमिमा पाँच अपरेटरहरूले ३३० शहरमा व्यावसायिक फाइभजी-एडभान्स्ड सेवा सुरु गरिसकेका छन्। गत वर्षको यही अवधिसम्म प्रयोगकर्ताको संख्या १ करोडभन्दा बढी पुगेको थियो। जीएसएमएले यसभन्दा नयाँ तथ्यांक भने सार्वजनिक गरेको छैन।
प्रकाशित: १२ असार २०८३, शुक्रबार