काठमाडौं ।
एरिक्सनले नेटवर्क स्वचालनलाई कोर नेटवर्कसम्म विस्तार गरेको छ। कम्पनीले कोर-विशेष स्वचालन एप्लिकेसन (सीएप्स) सञ्चालन गर्ने पहिलो विक्रेता बनेको दाबी गर्दै नयाँ ओएसएस/बीएसएस बिजनेस भ्यालु पाथवे पनि सार्वजनिक गरेको छ।
कोपनहेगनमा आयोजित डीडब्लूटी इग्नाइट २०२६ कार्यक्रममा एरिक्सनले विभिन्न उत्पादन स्तरोन्नति घोषणा गरेको छ। साथै स्वायत्त नेटवर्क रूपान्तरणलाई अघि बढाउने उद्देश्यले नयाँ व्यवसायिक रणनीति पनि प्रस्तुत गरेको छ।
कम्पनीले आफ्नो एरिक्सन इन्टेलिजेन्ट अटोमेशन प्लेटफर्म (ईआईएपी) विस्तार गर्दै सञ्चार सेवा प्रदायक (सीएसपी) हरूका लागि एकीकृत रेडियो एक्सेस नेटवर्क (आरएएन) र कोर नेटवर्क स्वचालन समाधान उपलब्ध गराएको जनाएको छ। एरिक्सनले नयाँ कोर-विशेष स्वचालन एप्लिकेसन (सीएप्स) सञ्चालन गर्ने अवधारणा र क्षमता पहिलोपटक ल्याएको दाबी गरेको छ।
कम्पनीका अनुसार यसले सीएसपीहरूलाई सञ्चालन प्रक्रिया सरल बनाउन, लागत अनुकूलन गर्न तथा थप स्थिर र उच्च प्रदर्शनयुक्त कोर नेटवर्क उपलब्ध गराउन मद्दत गर्नेछ।
यससँगै एरिक्सनले आफ्नो नेटवर्क म्यानेजर (ईएनएम) उत्पादनमा नयाँ डाटा स्ट्रिमिङ क्षमता पनि थपेको छ। यसले एरिक्सनका आरएएन तथा कोर नोडहरू र ओआरएएन आरएएन नोडहरूबाट वास्तविक समयमा स्ट्रिमिङ डाटा संकलन गर्न सक्नेछ।
एरिक्सनका नेटवर्क अटोमेसन प्रमुख एन्डर्स भेस्टरग्रेनले भने, “ईआईएपीलाई कोर नेटवर्कसम्म विस्तार गरेर हामीले ग्राहकहरूलाई स्वायत्त नेटवर्क यात्राका लागि महत्वपूर्ण केन्द्रीय आधार प्रदान गरेका छौं।”
उनले थपे, “विस्तारित ईआईएपीले आरएएन र कोर नेटवर्कको व्यवस्थापन तथा स्वचालनलाई एकीकृत गर्नेछ, केन्द्रीय स्रोत तहमार्फत नेटवर्क टोपोलोजी र स्रोतसम्बन्धी डाटाको एकल आधार उपलब्ध गराउनेछ, साथै ईएनएमको स्ट्रिमिङ क्षमतामार्फत भरपर्दो र न्यून विलम्बता भएको डाटा प्रदान गर्नेछ। यसले सीएसपीहरूलाई लागत र जटिलतामाथि नियन्त्रण कायम राख्दै जटिल तथा उच्च मूल्यका सेवाहरू कार्यान्वयन गर्न सहज बनाउनेछ।”
एरिक्सनका कोर नेटवर्क प्रमुख मोनिका जेथ्जोनले भनिन्, “ईआईएपीको स्वचालन क्षमतालाई कोर क्षेत्रमा ल्याउनु केवल नयाँ सुविधा वा उपकरण थप्नु मात्र होइन। यो दूरसञ्चारका प्रमुख क्षेत्रहरूमा स्वचालन कसरी सञ्चालन हुन्छ भन्ने विषयलाई पुनः परिभाषित गर्ने प्रयास हो, जसले वास्तविक स्वायत्तता र व्यवसायिक परिणाम प्रदान गर्छ। यो विस्तार हाम्रो एरिक्शन इन्टेलिजेन्ट कोरको आधार हो, जसले सीएसपीहरूलाई सञ्चालन प्रक्रिया उल्लेखनीय रूपमा सरल बनाउन र नेटवर्कलाई नवप्रवर्तनको वास्तविक माध्यममा रूपान्तरण गर्न सक्षम बनाउनेछ।”
घोषणालाई एरिक्सनका विभिन्न ग्राहकहरूले पनि समर्थन गरेका छन्। एटीएण्डटीका आरएएन प्रविधि उपाध्यक्ष रोब सोनीले “ईआईएपी लाई कोर नेटवर्क स्वचालनसम्म विस्तार गर्नु उद्योगका लागि महत्वपूर्ण उपलब्धि” भएको बताए।
त्यस्तै स्विसकमका मोबाइल नेटवर्क तथा सेवा कार्यकारी उपाध्यक्ष फिलिप बिक्सेलले भने, “कोर नेटवर्क व्यवस्थापन र सीएप्सका लागि प्लेटफर्म समावेश गर्दै एरिक्सनले आरएएन स्वचालनबाट प्राप्त प्रारम्भिक सफलतालाई अझ विस्तार गर्न र पूर्ण रूपमा स्वायत्त तथा प्रोग्रामयोग्य नेटवर्क निर्माण गर्न बजारलाई शक्तिशाली उपकरण उपलब्ध गराएको छ।”
ओम्डियाका प्रमुख विश्लेषक रोबर्टो कोम्पानीले पनि प्लेटफर्मको विस्तारले एरिक्सनका ग्राहकहरूलाई विभिन्न क्षेत्रहरूमा स्वायत्तता विस्तार गर्न उपयोगी, लचिलो र केन्द्रीयकृत प्लेटफर्म उपलब्ध गराउने बताएका छन्।
कार्यक्रमको पहिलो दिन एरिक्सनले “ओएसएस/बीएसएस बिजनेस भ्यालु पाथवे” पनि सार्वजनिक गरेको छ। कम्पनीका अनुसार यो यसको विकसित ओएसएस/बीएसएस पोर्टफोलियोमा आधारित रणनीति हो, जसले अपरेटरहरूलाई स्वचालन लक्ष्य हासिल गर्न मार्गदर्शन र सहयोग प्रदान गर्नेछ।
एरिक्सनले यी पाथवेहरू सीएसपीहरूलाई परम्परागत स्वचालनमा एआई थप्ने चरणभन्दा अगाडि बढेर कार्यान्वयनको गति बढाउन मद्दत गर्ने उद्देश्यले तयार गरिएको जनाएको छ। यसले उद्देश्य-आधारित नेटवर्क स्वायत्ततामार्फत लक्षित परिणाम हासिल गर्न समग्र दृष्टिकोण अपनाउने कम्पनीको भनाइ छ। उद्देश्य-आधारित प्रणालीले मानवीय हस्तक्षेपबिना आवश्यक योजना, डिजाइन, प्रमाणीकरण तथा सञ्चालन परिवर्तनहरू कार्यान्वयन गर्न सक्छ।
एरिक्सनका बिजनेस तथा अपरेसन सपोर्ट सिस्टम समाधान क्षेत्र प्रमुख म्याट्स कार्लसनले भने, “स्वायत्त नेटवर्क रूपान्तरण अहिले नै, तीव्र गतिमा र ठूलो स्तरमा हुन आवश्यक छ। तर अवरोध र जटिलताले चुनौती सिर्जना गरिरहेका छन्।”
उनले थपे, “नयाँ दूरसञ्चार-विशेष पाथवेहरूले सीएसपीहरूलाई नेटवर्क र आईटी विकासप्रतिको दृष्टिकोण पुनः परिभाषित गर्न मद्दत गर्नेछन्। यसले नयाँ सेवाको विकास र आम्दानी बढाउने, समग्र दक्षता सुधार गर्ने तथा ग्राहकहरूलाई थप फरक र उन्नत अनुभव प्रदान गर्ने लक्ष्यमा केन्द्रित हुन सहयोग गर्नेछ। हाम्रो ओएसएस/बीएसएस पोर्टफोलियो निरन्तर विकसित भइरहेको छ र यसले सीएसपी हरूलाई स्वायत्त नेटवर्कको लक्ष्य हासिल गर्न तथा सेवा बेच्ने, उपलब्ध गराउने र त्यसबाट आम्दानी प्राप्त गर्ने अन्तिम उद्देश्य पूरा गर्न मद्दत गर्नेछ।”
एपलडोर रिसर्चका साझेदार ग्रान्ट लेहाननले यी पाथवेहरूलाई “प्रविधि-केन्द्रित प्रचारभन्दा व्यवसायिक परिणाममा केन्द्रित हुन चाहने अपरेटरहरूको आवश्यकताप्रतिको व्यावहारिक प्रतिक्रिया” भनेर वर्णन गरेका छन्।
प्रकाशित: ११ असार २०८३, बिहीबार