काठमाडौं ।
विज्ञापन बोर्डले विज्ञापन एजेन्सी तथा सञ्चारमाध्यमलाई अनलाइन प्रणालीमार्फत सूचीकरण तथा नवीकरण गर्न आग्रह गरेको छ।
बोर्डले आज एक विज्ञप्ति जारी गर्दै विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ र विज्ञापन (नियमन गर्ने) नियमावली, २०७७ बमोजिम विज्ञापन कारोबार गर्ने विज्ञापन एजेन्सी, छापा, विद्युतीय तथा अनलाइन सञ्चारमाध्यमलाई अनिवार्य रूपमा सूचीकरण तथा नवीकरण गर्न निर्देशन दिएको हो।
बोर्डका अनुसार सूचीकरण तथा नवीकरण नगरी विज्ञापन कारोबार गरेमा प्रचलित कानुनअनुसार कारबाही हुनेछ। साथै आर्थिक वर्ष २०८३/८४ देखि बोर्डमा सूचीकरण तथा नवीकरण नगरेका पत्रपत्रिकाले प्रकाशन गर्दै आएका लोककल्याणकारी विज्ञापनबापतको रकम पनि भुक्तानी नपाउने जनाइएको छ।
सूचीकरण तथा नवीकरण बोर्डको अनलाइन दर्ता प्रणालीमार्फत गर्न सकिने व्यवस्था गरिएको छ। प्रक्रिया सम्बन्धी समस्या आएमा बोर्डले उपलब्ध गराएको सम्पर्क नम्बर वा फेसबुक पेजमा रहेका ट्युटोरियल तथा भिडियोमार्फत जानकारी लिन सकिने जनाएको छ।
विज्ञापन बोर्डले सम्बन्धित सबै सञ्चारमाध्यम र विज्ञापन एजेन्सीलाई समयमै सूचीकरण तथा नवीकरण प्रक्रिया पूरा गर्न अनुरोध गरेको छ।
प्रकाशित: ९ असार २०८३, मंगलवार