काठमाडौं ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार वैज्ञानिक अनुसन्धानका लागि शक्तिशाली क्वान्टम कम्प्युटर निर्माणलाई अघि बढाउने तथा त्यससँग सम्बन्धित साइबर खतराबाट सरकारी प्रणालीलाई सुरक्षित बनाउने उद्देश्यका दुई कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्।
यो कदम क्वान्टम प्रविधिको क्षेत्रमा चीनसँगको प्रतिस्पर्धामा अमेरिकाको प्रयासलाई थप बलियो बनाउने उद्देश्यले चालिएको हो।
रोयटर्सका अनुसार ह्वाइट हाउसको विज्ञान तथा प्रविधि नीति कार्यालयका निर्देशक माइकल क्राट्सियोसले पत्रकारहरूसँगको छलफलमा शक्तिशाली क्वान्टम कम्प्युटर सन् २०२८ सम्म निर्माण गर्न सकिने विश्वास रहेको बताए।
ट्रम्पले हस्ताक्षर गरेका आदेशमध्ये एउटाले क्वान्टम कम्प्युटरबाट सम्भावित साइबर आक्रमणविरुद्ध सरकारी कम्प्युटर प्रणालीको सुरक्षा सुदृढ पार्ने लक्ष्य राखेको छ। यसअन्तर्गत सन् २०३० वा २०३१ सम्ममा महत्वपूर्ण सरकारी कम्प्युटिङ प्रणालीलाई पोस्ट–क्वान्टम क्रिप्टोग्राफीमा रूपान्तरण गर्ने लक्ष्य तय गरिएको छ।
क्वान्टम कम्प्युटरले क्वान्टम भौतिकशास्त्रका सिद्धान्त प्रयोग गरेर सूचना प्रशोधन गर्छ। यसले केही जटिल समस्या आजका सुपरकम्प्युटरभन्दा धेरै छिटो समाधान गर्न सक्छ। यस्ता कम्प्युटरले हाल कम्प्युटर सुरक्षा प्रणालीमा प्रयोग हुने इन्क्रिप्सन तोड्न सक्ने भएकाले साइबर सुरक्षासम्बन्धी चिन्ता बढेको छ।
यी आदेशहरूले क्वान्टम प्रविधिमा चीनविरुद्ध अमेरिकी नेतृत्व कायम राख्न ट्रम्प प्रशासनले दिएको महत्वलाई देखाउँछन्। यो प्रविधिले कृत्रिम बुद्धिमत्ता, सामग्री विज्ञान र रसायनशास्त्रमा महत्वपूर्ण प्रगति गराउन सक्ने अपेक्षा गरिएको छ।
आदेशमा अमेरिकी रक्षा मन्त्रालयलाई सन् २०२८ सम्म क्वान्टम सेन्सर प्रयोगमा ल्याउन पनि भनिएको छ। यस्ता सेन्सरले जीपीएस अवरुद्ध भएका युद्धक्षेत्रमा विमानलाई मार्गनिर्देशन गर्न सहयोग गर्न सक्छन्। स्याटेलाइटमा जडान गरिएमा यिनले सुरुङ वा मिसाइल भण्डारण संरचना निर्माणजस्ता भूमिगत गतिविधि अन्तरिक्षबाट पत्ता लगाउन पनि मद्दत गर्न सक्छन्।
कार्यकारी आदेश हस्ताक्षर कार्यक्रममा सहभागी क्वान्टम कम्पनी इन्फ्लेक्सनका प्रमुख कार्यकारी अधिकृत म्याथ्यु किन्सेलाले क्वान्टम कम्प्युटिङभन्दा अघि क्वान्टम सेन्सिङबाट धेरै उपयोगी उपलब्धि हासिल गर्न सकिने बताए। उनका अनुसार तोकिएको समयसीमा पूरा गर्न सम्भव छ।
गत महिना अमेरिकी वाणिज्य विभागले नयाँ IBM उद्यमसहित नौवटा क्वान्टम कम्प्युटिङ कम्पनीमा २ अर्ब डलरसम्मको इक्विटी लगानी गर्ने घोषणा गरेको थियो।
आदेशमध्ये एउटाले बौद्धिक सम्पत्ति संरक्षण र आपूर्ति शृंखला सुरक्षामा अन्तर्राष्ट्रिय सहकार्य सुदृढ पार्न पनि जोड दिएको छ। क्राट्सियोसका अनुसार अमेरिकी आर्थिक तथा राष्ट्रिय सुरक्षालाई कमजोर पार्न खोज्ने प्रतिस्पर्धी र विरोधी मुलुकहरूको गतिविधिलाई ध्यानमा राख्दै यो व्यवस्था गरिएको हो।
यस प्याकेजअन्तर्गत अर्को व्यवस्थाले संघीय निकायहरूलाई आगामी पाँच वर्षभित्र क्वान्टम–सक्षम सेन्सर र नेटवर्क प्रयोगमा ल्याउने योजना तयार गर्न निर्देशन दिएको छ।
प्रकाशित: १० असार २०८३, बुधबार