काठमाडौं ।
भर्जिन मिडिया ओटू (भीएमओटू) ले आफ्नो रूपान्तरण योजनाअन्तर्गत सन् २०२९ को गर्मीयामदेखि टूजी सेवा क्रमिक रूपमा बन्द गर्न सुरु गर्ने जनाएको छ।
कम्पनीका अनुसार टूजी सेवा बन्द गरेपछि उपलब्ध स्पेक्ट्रम पुनः प्रयोग गरी फोरजी र फाइभजी सेवाको स्तरोन्नति गर्न सकिनेछ। यसबाट उच्च गति, बढी विश्वसनीयता र कम ऊर्जा खपतजस्ता लाभ प्राप्त हुने बताइएको छ।
हाल भीएमओटू को टूजी नेटवर्कमार्फत कम्पनीको कुल डाटा ट्राफिकको ०.५ प्रतिशतभन्दा कम हिस्सा मात्र सञ्चालित हुन्छ। यो नेटवर्क अन्तर्राष्ट्रिय रोमिङका लागि भने पहिले नै बन्द गरिएको छ।
गत मार्चमा बेलायतका सबै दूरसञ्चार सेवा प्रदायकहरूले सरकारको नेतृत्वमा तयार गरिएको स्वेच्छिक टूजी स्विच-अफ चार्टरमा हस्ताक्षर गरेका थिए। पुराना नेटवर्कबाट नयाँ प्रविधितर्फको संक्रमणलाई सहज बनाउन तयार गरिएको उक्त चार्टरले ग्राहक संरक्षण, सेवा कभरेज कायम राख्ने तथा प्रभावित उपभोक्ता र व्यवसायलाई सहयोग गर्ने व्यवस्था समेटेको छ।
यो निर्णय भीएमओटू ले सन् २०२५ को अन्त्यतिर सम्पन्न गरेको थ्रीजी सेवा बन्द प्रक्रियापछि आएको हो। कम्पनीले थ्रीजी बन्द गर्नुअघि विभिन्न परीक्षण सञ्चालन गरेको थियो र टूजी बन्द गर्ने क्रममा पनि यस्तै प्रक्रिया अपनाइने जनाएको छ।
कम्पनीले यस वर्ष सुरु गरेको प्रत्यक्ष उपकरणमा आधारित स्याटेलाइट सेवा ओटू स्याटेलाइट अहिले उपलब्ध रहेको र यसले बेलायतको भूभागीय कभरेज ९५ प्रतिशतसम्म पुर्याएको दावी गरेको छ। कम्पनीका अनुसार यसले बेलायतकै सबैभन्दा ठूलो नेटवर्क निर्माण गरेको छ।
भीएमओटू की प्रमुख प्रविधि अधिकृत जीनी योर्कले बढ्दो ग्राहक मागलाई पूरा गर्न कम्पनीले यस वर्ष मोबाइल नेटवर्क रूपान्तरणका लागि ७० करोड पाउन्ड लगानी गरिरहेको बताइन्। उनका अनुसार भविष्यलाई ध्यानमा राख्दै कम्पनीले पुरानो टूजी नेटवर्क बन्द गरी फोरजी र फाइभजी सेवामा थप ध्यान केन्द्रित गर्नेछ।
उनले थ्रीजी सेवा सफलतापूर्वक बन्द गरिसकेको र सरकारको टूजी स्विच-अफ चार्टरमा पनि सहभागी भइसकेकाले ग्राहकलाई असर नपर्ने गरी यो प्रक्रिया सञ्चालन गर्न कम्पनी सक्षम रहेको बताइन्। अधिकांश ग्राहकले कुनै अतिरिक्त कदम चाल्न नपर्ने भए पनि केही व्यवसायले भने अहिलेबाटै तयारी सुरु गर्नुपर्ने उनको भनाइ छ।
टेलिकम्स डटकमका अनुसार टूजी सेवा बन्द हुँदा गिफगाफ, टेस्को मोबाइल र स्काइ मोबाइलजस्ता एमभीएनओ तथा कम लागतका ब्रान्डका ग्राहकहरू प्रभावित हुनेछन्।
ओटू बिजनेसका ग्राहकहरू पनि यसबाट प्रभावित हुनेछन्। विशेषगरी आईओटी उपकरण जडानका लागि टूजी प्रयोग गर्ने संस्थाहरूले सन् २०२९ को गर्मीयामअघि आवश्यक परिवर्तन गर्नुपर्ने कम्पनीले जनाएको छ।
कम लागत, कम ऊर्जा खपत र विश्वव्यापी कभरेजका कारण टूजी लामो समयसम्म आईओटी उपकरणका लागि उपयुक्त प्रविधि मानिन्थ्यो। साथै आवाज सेवाका लागि ब्याकअप नेटवर्कको रूपमा पनि यसको प्रयोग हुने भएकाले यसको बन्द प्रक्रिया लामो समयसम्म स्थगित गरिएको थियो।
तर पुराना उपकरणका कारण भीएमओटूका सेल साइटहरूमा टूजी नेटवर्कको ऊर्जा दक्षता फोरजी वा फाइभजीको तुलनामा करिब १० गुणा कम रहेको कम्पनीले जनाएको छ।
एलटीई-एम, एनबी-आईओटी तथा पछिल्लो समय फाइभजी रेडक्यापजस्ता विकल्पहरूको प्रयोग बढ्दै जाँदा टूजी अब दीर्घकालीन रूपमा उपयुक्त समाधान नरहेको कम्पनीको भनाइ छ। यसले दूरसञ्चार कम्पनीहरूलाई अन्ततः टूजी प्रविधि बन्द गर्ने अवसर दिएको छ।
प्रकाशित: १० असार २०८३, बुधबार