
काठमाडौं ।
नेपालमा आर्थिक वर्ष २०८२/८३ को दशौं महिना वैशाख मसान्तसम्म मोबाइल ब्रोडब्याण्ड इन्टरनेट सेवा चलाउनेको संख्या २ करोड ७४ लाख ९८ हजार ५५२ पुगेको छ।
यो सङ्ख्या चालु आर्थिक वर्षको सो अवधिसम्म थ्रीजी र फोरजी सेवा लिनेहरु मोबाइल ब्रोडब्याण्ड प्रयोगकर्ताको समग्र आँकडा हो।
हालै नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको २०८३ वैशाख मसान्तसम्मको तथ्याङ्क अनुसार मोबाइल ब्रोडब्याण्ड इन्टरनेट सेवा प्रयोगकर्ताहरुको सङ्ख्या अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा १२ लाख ४६ हजार ३७६ ले बढेको हो। यो सङ्ख्या गत आर्थिक वर्षको वैशाख मसान्तसम्म २ करोड ६२ लाख ५२ हजार १७६ रहेको थियो।
२०८३ वैशाख महिनासम्मको समग्र २ करोड ७४ लाख ९८ हजार ५५२ ग्राहकमध्ये नेपाल टेलिकमका समग्र मोबाइल ब्रोडब्यान्ड प्रयोगकर्ताको सङ्ख्या १ करोड ५२ लाख ८२ हजार ३२७ रहेको छ।
यो सङ्ख्यामा टुजीका प्रयोगकर्ता शून्य छ भने थ्रीजीका ६ लाख ७४ हजार ६७३ तथा फोरजीका १ करोड ४६ लाख ७ हजार ६५४ समावेश छन्।
तथ्यांकअनुसार एनसेलका समग्र मोबाइल ब्रोडब्यान्ड प्रयोगकर्ता १ करोड, २२ लाख, १६ हजार २२५ रहेका छन्। यीमध्ये थ्रीजीका प्रयोगकर्ता ९० हजार ६७१ र फोरजी १ करोड २१ लाख २५ हजार ५५४ रहेका छन्।
फोरजी
टेलिकम र एनसेल दुवैले थपे
२०८२ वैशाख मसान्तको तुलनामा २०८३ वैशाख मसान्तसम्म नेपाल टेलिकमले फोरजी सेवा लिने ग्राहक उल्लेख्य थपेको छ।
फोरजीका हकमा १ वर्षमा नेपाल टेलिकमले ८ लाख ६६ हजार ६१८ ग्राहक थपेको छ। २०८२ वैशाख मसान्तसम्म नेपाल टेलिकमका फोरजी ग्राहक १ करोड ३७ लाख ४१ हजार ३६ थिए भने २०८२ चैत्रमा आइपुग्दा यो सङ्ख्या १ करोड ४६ लाख ७ हजार ६५४ पुगेको छ।
एनसेलले पनि एक वर्षमा ४ लाख ९१ हजार १६७ ग्राहक थपेको प्रतिवेदनले देखाएको छ। २०८२ वैशाख मसान्तसम्म एनसेलका फोरजी ग्राहक १ करोड १६ लाख ३४ हजार ३८७ थिए भने २०८३ वैशाखमा आइपुग्दा बढेर यो सङ्ख्या १ करोड २१ लाख २५ हजार ५५४ पुगेको छ।
थ्रीजी
टेलिकम र एनसेल दुवैले गुमाए
२०८३ वैशाख महिनासम्ममा नेपाल टेलिकमले आफ्ना थ्रीजी प्रयोगकर्ताको सङ्ख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा ८१ हजार ६८३ ले थपेको छ। हाल नेपाल टेलिकमका थ्रीजी प्रयोगकर्ता ६ लाख ७४ हजार ६७३ रहेका छन्। यो आँकडा २०८२ वैशाख मसान्तसम्म ७ लाख ५६ हजार ३५६ रहेको थियो।
एनसेलले पनि २९ हजार ७२६ ग्राहक गुमाउँदै समग्रमा आफ्ना थ्रीजी प्रयोगकर्ताको सङ्ख्या ९० हजार ७१ मा झारेको छ। यो आँकडा २०८२ वैशाख मसान्तसम्म १ लाख २० हजार ३९७ रहेको थियो।
समग्रमा हेर्दा एक वर्षमा मोबाइल ब्रोडब्याण्ड प्रयोगकर्ता केही बढेका छन्। तीमध्ये नेपाल टेलिकम र एनसेल दुवैले थ्रीजीमा ग्राहक घटाएका र फोरजीमा ग्राहक थपेका छन्।
नेपालका दूरसञ्चार सेवा प्रदायकहरुले थ्रीजीलाई बिस्तारै बन्द गर्दै ती प्रयोगकर्तालाई फोरजीतर्फ आकर्षित गर्दै गरेको अवस्थामा थ्रीजीको सङ्ख्या घट्नु नकारात्मक र फोरजीका बढ्नु सकारात्मक नभई समग्रमा सकारात्मक वृद्धि नै भएको बुझ्नुपर्छ।
प्रकाशित: ६ असार २०८३, शनिबार