
काठमाडौं ।
प्रधानमन्त्री कार्यालयसहित अधिकांश सरकारी निकायका वेबसाइटहरु डाउन भएका छन्। आज अपरान्हदेखि केहि साइटमा समस्या देखिएकोमा हाल अधिकांश सरकारी वेबसाइटहरु ठप्प भएका हुन्।
यसरी वेबसाइटहरु डाउन हुनेमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सूचना तथा सञ्चार मन्त्रालय, अर्थ मन्त्रालय, सूचना तथा प्रशारण विभाग, राजपत्र प्रकाशन गर्ने वेबसाइट, यातायात व्यवस्थापन विभाग, सूचना प्रविधि विभागलगायत रहेका छन्।
अझ रोचक पक्ष भनेको सरकारी साइटहरुको व्यवस्थापन र होस्टिङ्ग गर्ने निकाय एकीकृत डाटा व्यवस्थापन केन्द्रकै वेबसाइटसमेत डाउन रहेको छ।
यस बारेमा बुझ्न सम्बन्धित निकायहरुमा सम्पर्क गर्न खोज्दा उक्त कार्यालयहरुका आधिकारिक प्रतिनिधिहरुलाई सम्पर्क हुन सकेन्।
अधिकांश सरकारी वेबसाइटहरु डाउन भएपनि भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा गृह मन्त्रालयको वेबसाइट भने चलिरहेको देखिन्छ।
यसअघि २०८२ चैत्रमा पनि यस्तै समस्या आएको थियो। त्यसबेला एकीकृत डाटा व्यवस्थापन केन्द्र र सूचना प्रविधि विभागले एक आपसमा दोषारोपण गरेका थिए।
प्रकाशित: ४ असार २०८३, बिहीबार