
काठमाडौं ।
आफूलाई ई–सेवाको कर्मचारी भन्दै सर्वसाधारणलाई फोन गरेर ठगी गर्ने एक युवकलाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राऊ गरेको छ।
पक्राऊ पर्नेमा रौतहटको साविक खेसरहिया गाविस–१ जन्मस्थान भई हाल माधव नारायण नगरपालिका–२ बस्ने २२ वर्षीय शुभम साह रहेको ब्यूरोले जनाएको छ। उनलाई प्रहरीले हिजो असार २ गते पक्राउ गरेको हो।
प्रहरीका अनुसार साहले ई–सेवाबाट बोलेको भन्दै “तपाईंको ई–सेवामा धेरै रिवार्ड प्वाइन्ट रहेको छ, त्यसको प्रयोग किन गर्नुभएको छैन?” भन्दै विभिन्न व्यक्तिलाई फोन गर्ने गरेका थिए। त्यसक्रममा उनले ९७७–९७६७५६७८१२ नम्बरबाट पटक–पटक सम्पर्क गरी ई–सेवा चेक गर्ने बहानामा ओटीपीसमेत प्राप्त गरेर प्रयोग गरेको अनुसन्धानबाट खुलेको छ।
ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारी दिलिपकुमार गिरीका अनुसार उनले पीडितको खाताबाट १ लाख ९८ हजार ४९९ रुपैयाँ रकम इभोलुन ट्रेडिङ प्रालिको ई–सेवा आईडीमा स्थानान्तरण गरेका थिए। उक्त रकम प्रयोग गरी इभोलुन ट्रेडिङबाट आईफोन १७ मोबाइलसमेत खरिद गरिएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न साहलाई पक्राऊ परेका व्यक्तिको साथबाट ८ वटा मोबाइल फोन, ४ वटा सिमकार्ड तथा ठगीका लागि प्रयोग गरिएका १५३ जनाको ई–सेवा आईडीसँग सम्बन्धित मोबाइल नम्बर बरामद गरिएको साइबर ब्युरोले जनाएको छ।
साइबर ब्यूरोका अनुसार पक्राऊ परेका साह यसअघि पनि यस्तै प्रकृतिका दुई वटा ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा बसेको पाइएको छ भने उनीमाथि विद्युतीय माध्यमसम्बन्धी ठगी अपराध मुद्दामा अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।
प्रहरीले ई–सेवा, बैंक वा अन्य वित्तीय संस्थाका कर्मचारी भन्दै फोन गरेर ओटीपी, पासवर्ड वा अन्य गोप्य विवरण मागेमा नदिन तथा यस्ता घटनाबारे नजिकको प्रहरी कार्यालय वा साइबर ब्यूरोमा उजुरी गर्न सर्वसाधारणलाई आग्रह गर्दै आए पनि यस्ता घटनाहरु बेलाबेला सतहमा आउने गरेका छन्।
प्रकाशित: ३ असार २०८३, बुधबार