विश्वकप २०२६ को नाममा एपीके फाइलमार्फत ठगी बढ्दो, सचेत रहन साइबर ब्यूरोको आग्रह
Technology Khabar | १ असार २०८३, सोमबार
Loading...
Shares
काठमाडौं ।
नेपाल प्रहरीको साइबर ब्यूरोले फिफा विश्वकप २०२६ हेर्न सकिने भन्दै सामाजिक सञ्जाल तथा विभिन्न अनलाइन माध्यममार्फत फैलाइएका भ्रामक विज्ञापन र एपीके फाइलहरूबारे सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ।
ब्यूरोले सोमबार एक सूचना जारी गर्दै विश्वकप हेर्न सकिने प्रलोभन देखाई एन्ड्रोइड इन्स्टलर (.apk) फाइल डाउनलोड तथा इन्स्टल गर्न लगाउने, विभिन्न पर्मिशन माग्ने र त्यसपछि मोबाइल बैंकिङ तथा वित्तीय खातामा अनधिकृत पहुँच गरी आर्थिक ठगी गर्ने प्रवृत्ति बढ्दै गएको जनाएको हो।
सूचनाअनुसार यस्ता फाइलहरू इन्स्टल गर्दा प्रयोगकर्ताले अनावश्यक रूपमा विभिन्न पहुँच अनुमति दिनुपर्ने अवस्था सिर्जना हुन्छ, जसले मोबाइल उपकरण तथा बैंकिङ सेवाको सुरक्षा जोखिममा पार्न सक्छ।
साइबर ब्यूरोले सर्वसाधारणलाई अनावश्यक एप्स तथा फाइलहरू डाउनलोड वा इन्स्टल नगर्न आग्रह गरेको छ। विशेषगरी .apk, .exe, .bat र .sh जस्ता फाइलहरू अपरिचित स्रोतबाट डाउनलोड नगर्न चेतावनी दिइएको छ।
त्यस्तै, बैंक तथा वित्तीय संस्थासम्बन्धी जानकारीका लागि केवल आधिकारिक माध्यम प्रयोग गर्न र बैंकिङ प्रणाली नियमित रूपमा अद्यावधिक गर्न पनि अनुरोध गरिएको छ।
ब्यूरोले यस विषयमा थप जानकारी तथा सचेतनामूलक सामग्री आफ्नो आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गरिरहेको उल्लेख गर्दै विश्वकप फुटबलको नाममा हुने सम्भावित ठगीबाट जोगिन सबैलाई सजग रहन आग्रह गरेको छ।
यदि कसैले यस्ता ठगी प्रयास गरेको वा आफू ठगीको शिकार भएको शंका लागेमा नजिकको प्रहरी कार्यालयमा जानकारी दिन वा साइबर ब्यूरोको इमेलमार्फत उजुरी गर्न पनि अनुरोध गरिएको छ।