प्रयोगात्मक एक्स–५९ विमानले पहिलो पटक ध्वनिको गति यसरी पार गर्यो

  • Technology Khabar | १ असार २०८३, सोमबार
प्रयोगात्मक एक्स–५९ विमानले पहिलो पटक ध्वनिको गति यसरी पार गर्यो

काठमाडौं ।

नासा र लकहीड मार्टिनद्वारा संयुक्त रूपमा विकसित गरिएको प्रयोगात्मक एक्स–५९ विमानले पहिलो पटक ध्वनिको गति (साउन्ड बेरियर) पार गरेको छ। यो उपलब्धिले भविष्यमा “शान्त” सुपरसोनिक उडानको सम्भावना बढाएको छ।

नासाको एक्स–५९ एक प्रयोगात्मक सुपरसोनिक विमान हो, जसले म्याक १ अर्थात् ध्वनिको गति पार गर्दा सामान्य सुपरसोनिक विमानजस्तो ठूलो विस्फोटजन्य आवाज (सोनिक बुम) नभई सानो धक्का जस्तो आवाज मात्र उत्पन्न गर्ने लक्ष्य राखेको छ।

नासाले जारी गरेको विज्ञप्तिअनुसार जुन ५ मा परीक्षण पाइलट जिम “क्लु” लेसले क्यालिफोर्नियास्थित एडवार्ड्स एयर फोर्स बेसबाट ८१ मिनेटको उडान गरेका थिए। सो क्रममा विमानले ४३ हजार ४०० फिट (१३ हजार २०० मिटर) उचाइमा म्याक १.१ अर्थात् प्रतिघण्टा ७१३ माइल (१ हजार १४७ किलोमिटर) गति हासिल गरेको लाइभसाइन्सले उल्लेख गरेको छ।

यद्यपि विमानको “शान्त” सुपरसोनिक क्षमता अझै स्पष्ट रूपमा परीक्षण हुन बाँकी छ। यस उडानका क्रममा एक्स–५९ लाई एउटा एफ–१५ लडाकु विमानले पछ्याएको थियो, जसको ठूलो सोनिक बुमले एक्स–५९ बाट उत्पन्न आवाजलाई ढाकेको थियो। यस वर्षको अन्त्यतिर हुने थप परीक्षणहरूले आवाज घटाउने प्रविधिको प्रभावकारिता स्पष्ट पार्ने अपेक्षा गरिएको छ।

विश्वको पहिलो सुपरसोनिक उडान सन् १९४७ मा भएको थियो, जब अमेरिकी वायुसेनाका परीक्षण पाइलट चाल्स ‘चक’ यिआगरले बेल एक्स–१ विमानमार्फत क्यालिफोर्नियाको मोजाभे मरुभूमिमाथि म्याक १.०६ गति हासिल गरेका थिए। यसले उड्डयन क्षेत्रमा नयाँ सम्भावनाको ढोका खोले पनि व्यावसायिक हवाई यात्राका लागि तत्काल उपयोगी बन्न सकेको थिएन।

एक विमान अगाडि बढ्दा त्यसले अगाडिको हावालाई धकेल्छ। यसले हावाका अणुहरूमा कम्पन उत्पन्न गरी ध्वनि तरंग सिर्जना गर्छ। जब विमानले ध्वनिको गति पार गर्छ, त्यसका पछाडि बनेका दबाबयुक्त हावा तरंगहरू संकुचित भई शक्तिशाली झट्का तरंगमा परिणत हुन्छन्, जसले ठूलो “सोनिक बुम” उत्पन्न गर्छ।

सोनिक बुमको आवाज ११० डेसिबलभन्दा बढी हुन सक्छ, जुन पूर्ण रूपमा सञ्चालनमा रहेको इस्पात कारखानाको आवाज बराबर मानिन्छ। यसले मानिसको कान दुखाउने मात्र होइन, झ्याल फुटाउनेजस्ता भौतिक क्षति पनि पुर्‍याउन सक्छ। यही कारणले सन् १९७३ मा अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) ले सैन्यबाहेकका विमानलाई अमेरिकी भूमिमाथि ध्वनिको गति पार गर्न प्रतिबन्ध लगाएको थियो।

सन् १९७६ देखि २००३ सम्म लन्डन वा पेरिस र न्युयोर्कबीच उडान भर्ने कङ्कर्ड विश्वको पहिलो व्यावसायिक सुपरसोनिक विमान थियो। तर यसलाई अटलान्टिक महासागरमाथि मात्र ध्वनिको गति पार गर्न अनुमति दिइएको थियो। फ्रान्सको चार्ल्स डी गउल विमानस्थलबाट उड्ने क्रममा भएको दुर्घटनापछि उक्त विमान सेवा अन्त्य गरिएको थियो।

एक्स–५९ को अत्यन्तै लामो र पातलो अगाडिको भाग (नोज) विशेष रूपमा सोनिक बुमबाट उत्पन्न झट्का तरंग कम गर्न डिजाइन गरिएको हो। यदि विमानले ठूलो विस्फोटजन्य आवाजको सट्टा हल्का धक्का जस्तो आवाज मात्र उत्पन्न गर्न सकेमा स्थलमार्गमाथि पनि सुपरसोनिक व्यावसायिक उडान सम्भव हुनेछ।

यसले यात्रुलाई उदाहरणका लागि लस एन्जलसबाट न्युयोर्कसम्म तीन घण्टाभन्दा कम समयमा पुग्न मद्दत गर्न सक्छ, जबकि हाल त्यही यात्रा गर्न पाँचदेखि छ घण्टा लाग्ने गर्छ। यद्यपि नासाले एक्स–५९ को पहिलो सोनिक बुम कति डेसिबलको थियो भन्ने विवरण सार्वजनिक गरेको छैन।

व्यावसायिक प्रयोगबाहेक शान्त सुपरसोनिक उडानको सैन्य महत्व पनि ठूलो छ, किनभने यसले गोप्य अभियानहरूलाई अझ कम पत्ता लाग्ने बनाउन सक्छ। नासाले आगामी केही साताभित्र एक्स–५९ को पहिलो “मिसन कन्डिसन” परीक्षण उडान गर्ने योजना बनाएको छ, जसमा विमानले करिब ५५ हजार फिट (१७ हजार मिटर) उचाइमा म्याक १.४ गति हासिल गर्ने लक्ष्य राखिएको छ।

प्रकाशित: १ असार २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार